logo
२०८१ जेष्ठ ८ मंगलवार



गौहत्या प्रकरणमा सात जनालाई म्याद थपियो, ५० मिनेटमा गाईगोरु फालिए

राष्ट्रिय |


गौहत्या प्रकरणमा सात जनालाई म्याद थपियो, ५० मिनेटमा गाईगोरु फालिए


ललित बसेल-
सुर्खेत, भदौ १६ गते । गत बिहीवार नेपालगन्जको काञ्जिहाउसबाट दैलेखको श्रीस्थान लैजाने भन्दै गाडीमा ल्याइएका गाईहरु सुर्खेतका विभिन्न जंगलहरुमा फालेर मारेको घटनामा संलग्न सात जनालाई सुर्खेत प्रहरीले अनुसन्धानका लागि म्याद थपिएको छ ।

गाई लोड गरेर ल्याउने गाडी चालकहरु रौतहटका दामोदर के, बाँके कोहलपुरका हिमबहादुर जिसी, चितवनका विवेक कुँवर र सहचालक अछामका कृष्ण विसी, चितवनकै सागर विश्वकर्मा, शत्रुघन चौधरी र सहचालक अमृत चौधरीलाई गत शुक्रवार नै प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रवि रावलले पक्राउ परेका सातै जनालाई जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइसकिएको बताउनुभयो ।

सुर्खेत प्रहरीले गाई ल्याउँदा ढुवानीमा चरम लापरबाही भएको पाइएको जनाएको छ । सुर्खेतका कटकुवा, ब्युरेनी र झुप्राखोलाको भित्री मोडमा करिव ५० मिनेटको अवधिमा १५७ वटा गाईहरु ट्रकबाट फालिएको पाइएको छ । जसमध्ये ३५ वटा गाई मृत पाइएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । कटकुवामा १८, ब्युरेनी खोलामा आठ, सोही स्थानभन्दा केही पर ६ र झुप्राखोलाको भित्री मोडमा तीनवटा गरी कुल ३५ वटा मृत गाईगोरु फेला परेको प्रहरीले जनाएको छ । मृत फेला परेका कुल ३५ मा गाई १९, गोरु आठ, बाच्छी पाँच र बाच्छा तीन वटा रहेको डिएसपी रावलले जानकारी दिनुभयो ।

यसैगरी नेपालगन्जबाट ल्याएका मध्ये जीवित १९६ गाईगोरुलाई ११ वटा ट्रकमा राखेर पुनः नेपालगन्ज फिर्ता पठाइएको छ । फिर्ता पठाइएकामा गाई १५१, गोरु १७, बाच्छा २५ र बाच्छी तीन वटा रहेका छन् । मृत गाईलाई नगरपालिका र सम्बन्धित वडाहरुको पहलमा व्यवस्थापन गरिएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा दैलेखको श्रीस्थान लैजाने भनिएपनि गत शुक्रवार विहान १ः३० बजेदेखि २ः२० बजेसम्म अर्थात ५० मिनेटको अवधिमा वीरेन्द्रनगर ११ को ब्युरेनी, वीरेन्द्रनगर १४ को कटकुवामा गाईहरुलाई फालिएको पाइएको जनाएको छ । पोष्टमार्टम गरिएका गाईको अन्तिम रिपोर्ट आउन बाँकी रहेको जनाउँदै प्रहरीले अझै पनि सुर्खेतका जंगलहरुमा गाईहरु छन् कि भनेर खोजतलास जारी राखिएको छ ।

यस्तै दैलेखको श्रीस्थानमा पठाइएको भनिएकोबारे प्रहरीले पनि बुझ्ने काम गरिरहेको डिएसपी रावलले बताउनुभयो । यद्यपि श्रीस्थान मन्दिर व्यवस्थापन समिति, महन्थ, दैलेख प्रशासनले भने गाई ल्याउने विषयमा आधिकारिक जानकारी नै नभएको जनाइसकेका छन् । गाईहरु ल्याउने क्रममा गम्भीर लापरबाही भएको ठहर गर्दै प्रहरीले गाडीमा कोचाकोच गरेर हालिएको हुनसक्ने जनाएको छ । सात जनालाई मुद्दा चलाएर अदालतमा म्याद थप गरेर अनुसन्धान थालिएको भन्दै प्रहरीले यसबारे थप विस्तृत अनुसन्धान जारी रहेको बताएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को पशुपन्छी सम्वन्धी कसुरको दफा २८९ (१) नं. विपरितको कसुरमा सोही ऐन परिच्छेदको दफा २८९ (२) नम्बर बमोजिम तीनवर्षसम्म कैद सजायको प्रावधान रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?