logo
२०८१ मंसिर ९ आईतवार



श्याम परदेशीविरुद्ध पाँच दिन म्याद थप

राष्ट्रिय |


श्याम परदेशीविरुद्ध पाँच दिन म्याद थप


सर्लाही समाचारदाता ।
सर्लाही, भदौ १६ गते । नक्कली तमसुक बनाएर ठगी गरेको आरोपमा पक्राउ परेका श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवारका सम्वन्धमा अनुसन्धान गर्न सर्लाही जिल्ला अदालतले सोमवार प्रहरीलाई पाँच दिनको म्याद प्रदान गरेको छ ।

आइतवार साँझ सदरमुकाम मलङ्गवा नगरपालिका–१०, स्थित घर नजिकैबाट पक्राउ परेका ५६ वर्षीय साहका सम्वन्धमा थप अनुसन्धान गर्न जिल्ला अदालतले सोमवार पाँच दिनको म्याद प्रदान गरेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले जानकारी दिनुभयो । साहविरुद्ध नक्कली तमसुक बनाएर ठगी गरेको, चुक्ता गरेको ऋणको कागजात नच्यातेको, ऋणी महिलामाथि अभद्र व्यवहार गरेको, लेनदेनको मुद्दामा सोझासिधा नागरिकलाई ठगी गरेको आरोप लागेको छ ।

यही आरोप लगाउँदै लालबन्दी नगरपालिकाकी एक पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि साहलाई अनुसन्धानका लागि पक्राउ गरिएको सर्लाही प्रहरीका प्रमुख (एसपी) गोपालचन्द्र भट्टराईले बताउनुभयो । पीडितले सङ्घीय राजधानी काठमाण्डौं पुगेर न्यायको माग राखी माईतीघरमा धर्ना दिँदै गृहमन्त्री र नेपाल कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटेपछि साहको बारेमा चर्चा बढेको थियो ।

सर्वसाधारणलाई पैंसा ब्याजमा लगाएर ठगी गर्ने साहको सम्पत्तिको समेत अनुसन्धान गर्न भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सर्लाही प्रहरीलाई पत्र काटेको स्रोतले जनाएको छ । साह पक्राउ परेपछि पीडितहरुले खुशी व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?