दिलबहादुर सिंह
डोटी, भदौ १९ गते । पहाडी क्षेत्रमा समेत डेंगु रोग देखिन थालेपछि डोटीको दिपायल सिलगढी नगरपालिकाले पहिलो पटक डेंगु रोग विरुद्धको जनचेतनामूलक अभियान सञ्चालन गरेको छ ।
सरोकारवाला निकायसँगको सहकार्यमा नगरपालिकाले डेंगु रोग विरुद्ध जनचेतना अभियान सञ्चालन गरेको हो ।
भदौ ५ गते दिपायल सिलगढी नगरपालिका–६ थापलाकी गाउँकी ४२ वर्षीया छत्रकुमारी मलासीको डेंगु रोगबाट मृत्यु भएको प्रमाणित भएपछि नगरपालिकाले नगर क्षेत्रभित्र सो अभियान शुरु गरेको हो ।
डेंगु रोगका कारण मृत्यु भएकी छत्रकुमारी मलासीको टोलबाट नगरपालिकाले जनचेतनामूलक अभियान थालेको छ । एक समारोहकाबीच नगर प्रमुख मञ्चु मलासीले अभियानको सुरुवात गर्नुभयो ।
डेंगु नियन्त्रण अभियानका क्रममा नगर क्षेत्रमा विभिन्न जनचेतनामूलक क्रियाकलापहरु समेत आयोजना गरिने नगर स्वास्थ्य इकाई प्रमुख राजु खड्काले बताउनुभयो ।
जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डा. भुषण मिश्रका अनुसार डेंगुबाट बच्न डेंगुको संक्रमण विशेष गरी दिउँसो टोक्ने एडिस नामको लामखुट्टेले फुल पार्ने ठाउँहरु भाँडाकुँडामा जम्मा भईराखेको पानी, टायर, बोतल र बिर्काेहरुलगायतको खोजी गरी त्यसका फुलहरु नष्ट गर्नुपर्ने, शरीर ढाक्ने लुगाहरु लगाउने, सुत्दा झुलको प्रयोग गर्नुपर्ने, शरीरको खुल्ला भागहरुमा मलम प्रयोग गर्नुपर्ने हुन्छ ।
जिल्ला अस्पतालले डेंगु परीक्षण को सुरुवात गरिसकेको छ । जिल्ला अस्पताल डोटीका डा.भुषण मिश्रले भन्नुभयो, – “हामीले परीक्षण सुरुवात गरिसकेका छौं तर अहिलेसम्म संक्रमित भने देखिएका छैनन् ।”
चिकित्कसका अनुसार डेंगु एडिज प्रकारको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको रोग हो । डेंगु नियन्त्रणको मुख्य उपाय लामखुट्टेको लार्भा र प्युपालाई मार्ने नै हो ।
पोथी लामखुट्टेले सफा पानीमा फुल पार्छ र त्यो लार्भा, प्युपा हुँदै वयस्क लामखुट्टेमा परिणत हुन्छ । पानी जम्ने सबै ठाउँको सरसफाइबाट यसको अन्त्य गर्न सकिन्छ ।