logo
२०८१ मंसिर ९ आईतवार



भूकम्प गएकाे चार वर्षभयाे पीडित अझै छिमेकीको पिँढीमा शरण लिन वाध्य

राष्ट्रिय |


भूकम्प गएकाे चार वर्षभयाे   पीडित अझै छिमेकीको पिँढीमा शरण लिन वाध्य



राधा चालिसे

पालुङटार (गोरखा), भदौ २० गते । पालुङटार–६ की शोभा गुरुङ हरेक दिन सूर्य नअस्ताउँदै रातको खाना खानुहुन्छ र दुई नातिनी लिएर छिमेकीको पिँढीमा पुग्नुहुन्छ । बिहान भालेको डाँकसँगै आफ्नो घर भएको स्थान फर्कनुहुन्छ । चार वर्षअघि २०७२ सालको भूकम्प गएदेखि नै उहाँको दिनचर्या यस्तै भएको छ ।
पीडामा पनि हाँसो मिसाउँदै उहाँ भन्नुहुन्छ, “के गर्नु बास छैन, त्यसैले साँझ नपर्दै दुई नातिनी च्यापेर रोधीघर हिँडेजस्तो हिँड्नुपर्छ, अर्काको छिडीँ खोज्दै । ” उहाँको घर भन्नु नै चारवटा खाबोमाथि हालेको जस्तापाताको ओत मात्र हो । जहाँ एउटा अगेना र वरपर आधा वट्टा ढिके नुन, केही बेसार र पिठो राख्ने सानो भाडो, केही थाल, कचौरा र एउटा गाग्री देखिन्छ । सँगैको छाप्रामा दुईवटा गाई बाँधिएका छन् । उहाँको एक छोरा अझै त्यही नजिकको पालमुनि नै बस्दै आउनुभएको छ । भूकम्प गएको चार वर्ष बितिसक्दा पनि उहाँँको घर बनिसकेको छैन ।
भर्खरै भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास पुनःनिर्माण परियोजनाले उहाँका लागि ढुङ्गामाटोको दुईकोठे घर बनिरहेकाले उहाँमा थोरै आशा पलाएको छ । परियोजनाले उहाँका लागि ढुङ्गामाटोको गाह्रोलाई तारजालीले बाँधेर भूकम्प प्रतिरोधी घर निर्माण गर्दै छ । परियोजनाअन्तर्गतका सामुदायिक परिचालक दयाराम लामिछाने, आवास निर्माण साथी नरबहादुर अम्गाई दिनरात खटिनुभएको छ ।
शोभामाया गुरुङ भन्नुहुन्छ, “अबको दशैँ चाहीँ आफ्नै पिँढीमा मनाउन पाइएला कि भन्ने आशा छ । ” पालुङटारकै–७ का रामबहादुर माझीले पनि नेपाल–भारत सहयोगअन्तर्गतको परियोजनाको सहयोगमा बनेको दुईकोठे घर पाएर निकै दङ्ग हुनुहुन्छ । गुरुङलेझैँ फिनाम–४ का हरि मग्रातीले पनि अझै घर बनाउन सक्नुभएको छैन । घर बनाउने आफैँले तालिम लिए पनि कहिले असार लागेर त कहिले कोदो रोप्नु परेर ढिलो भएको उहाँको भनाइ छ । “तालिम लिएपछि आफँै घर बनाएको हुँ”, उहाँ भन्नुहुन्छ । अहिले परियोजनाले डकर्मी तालिम दिँदै उहाँको घर पूरा गरिदिन सहयोग गर्दै आएको छ । मग्राती आशा व्यक्त गर्नुहुन्छ, ‘‘अब छिटै छानो हाल्न सकिएला कि । ’’
भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास निर्माण परियोजनाले अहिले उहाँहरूजस्तै जोखिममा परेका वर्गको घर निर्माणलाई अन्तिम रूप दिन लागि परेको छ । साठी वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, १६ वर्षमुनिका बालबालिका, दृष्टिविहीन र अपाङ्गता भएका व्यक्तिहरू र एकल महिलालाई जोखिममा परेको वर्गभित्र पारिएको छ । परियोजनाले अहिले गोरखामा कुल २६ हजार ९१२ घर निर्माणको जिम्मा लिएको छ । त्यसमध्ये हालसम्म २३ हजार ९२८ घर निर्माण सम्पन्न भइसकेको र एक हजार ४०० घर निर्माण भइरहेको परियोजनाका जिल्ला संयोजक राम सापकोटाले जानकारी दिनुभयो । परियोजनाका लागि सामाजिक प्राविधिक सहयोग यूएनडीपीले गर्दै आएको छ । गोरखाको आवास निर्माणको बाँकी कार्य सन् २०२० को अन्त्यसम्म सम्पन्न हुने सापकोटाले जानकारी दिनुभयो ।
जिल्लामा १८१ जना भूमिहीन लाभग्राही रहेको र तीमध्ये २१ जना लाभग्राहीले मात्र नेपाल सरकारले उपलब्ध गराएको अतिरिक्त दुई लाख रुपियाँ लिएर जग्गा खरिद गरेर घर बनाएका छन् भने अरू केही प्रक्रियामा नै रहेका छन् । परियोजना सञ्चालनमा आएपछि निकै तीव्र गतिमा अगाडि बढेको पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले बताउनुभयो ।
जिल्लामा दुई हजार ४०० लाभग्राहीको घर प्रबलीकरण गर्नुपर्नेको सूचीमा परेका छन् । प्रबलीकरणका लागि सरकारले दुई किस्ता गरी एक लाख रुपियाँ उपलब्ध गराउने भने पनि त्यससम्बन्धी कार्यविधि स्पष्ट नहुँदा प्रवबलीकरणको कार्य अझै आगाडि बढ्न नसकेको जिल्ला संयोजक सापकोटाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?