logo
२०८१ मंसिर ९ आईतवार



बढ्यो दूधको मूल्य

राष्ट्रिय |


बढ्यो दूधको मूल्य


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २० गते । बच्चादेखि बूढाबूढीलाई नभई नहुने अति आवश्कीय वस्तु दूधको मूल्य प्रतिलिटर छ रुपियाँका दरले बढेको छ । जुन मूल्य हाल बिक्री हुँदै आएको दूधको मूल्यमा आठ दशमलव ५ प्रतिशतले बढी हुन आउँछ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हाल प्रतिलिटर ७० रुपियाँमा बिक्री हुँदै आएको दूधको मूल्य छ रुपियाँ बढाउने निर्णय गरेसँगै शनिबारदेखि लागू हुने गरी भाउ बढाइएको हो ।
मन्त्रालयको स्वीकृतिपछि दुग्ध विकास संस्थान (डीडीसी) को बोर्ड बैठकले यसबारे निर्णय गर्न बैठक बोलाएको दुग्ध विकास संस्थानका निमित्त महाप्रबन्धक शैलेन्द्रकुमार घिमिरेले जानकारी दिनुभयो । ‘हामीले दूधको मूल्य बढाउने अनुमतिसहितको भर्खरै मन्त्रालयबाट पत्र आएको छ उहाँले भन्नुभयो, ‘बैठक बसेरै दूधको मूल्य बढेको निर्णय गर्दैछौँ, यो लागू भने शनिबारबाट मात्रै हुन्छ ।’ अब दूधको मूल्य एक लिटरको ७६ रुपियाँ पर्नेछ । यसअघि ७० रुपियाँ लिटरमा दूध किनबेच हुने गरेको थियो । दूधको मूल्य बढाउन गएको साउन मसान्तमा दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा समिति गठन गरिएको थियो ।
कार्यदलको सुझावअनुसार कम दूध उत्पादन हुने मौसममा १४ दशमलव २९ प्रतिशत अर्थात् १० रुपियाँ र अत्यधिक उत्पादन हुने मौसममा ८ दशमलव २८ प्रतिलिटर अर्थात् पाँच रुपियाँ ७९ पैसा मूल्य बढाउन मन्त्रालयले स्वीकृति दिएको हो । संस्थानका निमित्त महाप्रबन्धक घिमिरेले अहिले बढेको मूल्य किसानलाई बढी राहत हुने भन्दै उहाँले भन्नुभयो ‘‘मूल्यको ६९ प्रतिशत अर्थात् चार रुपियाँ १६ पैसा किसानले पाउने छन् भने त्यसको ३१ प्रतिशत अर्थात् एक रुपियाँ ८४ पैसा व्यवसायीले पाउने छन् ।’’
दुग्ध विकास संस्थानले बिक्री गर्ने डीडीसी (निलोकभर) दूध प्रतिलिटर छ रुपियाँ बढाउने निर्णय कृषि तथा पशुपक्षी मन्त्रालयले निर्णय पठाएको छ र अन्य दूध वा दुग्धजन्य वस्तुको कति मूल्य बढ्ने भन्ने डीडीसीको बोर्ड बैठकपछि मात्रै जानकारी दिन सकिने महाप्रबन्धक घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘न्यूनतम छ रुपियाँ बढ्छ नै मूल्यको प्रतिशतका आधारमा बढाउँदा बढी पनि हुन सक्छ ।’
महँगीका कारण किसानको लागत बढेसँगै दूधको मूल्य बढेको दुग्ध विकास संस्थानले जनाएको छ । दूधको मूल्य बढाउन किसानले पटक पटक दबाब दिँदै आएका थिए तर मन्त्रालयले यसबारेमा सरोकारवालासँग परामर्श गरेर दूधको मूल्य बढाउन निर्णय गरेको थियो भने प्रधानधन्त्री केपी शर्मा ओलीले यसबारे विस्तृत अध्ययन गरेर मात्र निर्णय लिन भन्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?