गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २२ गते । महिलाका लागि छट्टै समावेशी कोटा छुट्टयाएपछि नेपालको निजामती सेवामा महिला आकर्षण दिन प्रतिदिन बढ्दै छ । सङ्ख्यात्मकरूपमा नेपालको निजामती सेवामा हाल महिलाको उपस्थिति करिब २३ प्रतिशत मात्रै भए पनि पछिल्लो समयमा सेवा प्रवेश क्रम भने तीव्र गतिमा बढेको पाइन्छ ।
सामान्य प्रशासन मन्त्रालयले २०७२ पुस २७ मा प्रकाशन गरेको ‘निजामती सेवामा महिला’ नामक प्रतिवेदनमा महिलाको सङ्ख्या करिब १८ प्रतिशत रहेको उल्लेख रहेको छ । यसबीचमा यस सेवामा महिलाको उपस्थिति बढेको तथ्य विभिन्न अध्ययन प्रतिवेदनहरूले देखाएका छन् । हालै स्थानीय तहका लागि सञ्चालन गरिएको परीक्षामा जम्मा नौ हजार १६१ पदमा विज्ञापन माग गरिएको छ । यस विज्ञापनबाट आउने कर्मचारीको सङ्ख्या थपिँदा निजामती सेवामा महिलाको सङ्ख्यात्मक उपस्थिति रामै्रसँग बढ्ने देखिन्छ ।
लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले निजामती सेवामा महिलाको प्रवेश अहिले धेरै राम्रो छ भन्नुभयो । उहाँले आरक्षणमा मात्र होइन खुलातर्फको परीक्षामा पनि धेरै महिला उत्तीर्ण हुन थाल्नुभएको छ, यसरी नै महिलाहरू प्रतिस्पर्धामा आउनुभयो भने केही वर्षपछि त आरक्षण नै नभए पनि हुने स्थिति आउन सक्छ भन्नुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यमकुमारी खतिवडा पनि निजामती सेवामा महिलाको प्रवेश उत्साहजनकरूपमा बढेको बताउनुहुन्छ । निजामती सेवामा अहिले चारजना त विशिष्ट श्रेणीको महिला सचिव नै हुनुहुन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव डा. पुष्पा चौधरी हुनुहुन्छ भने संवैधनिक निकाय निर्वाचन आयोगमा देवकुमारी गुरागाईं र महालेखा परीक्षकको कार्यालयमा उपमहालेखा परीक्षकमा राममाया कुँवर कार्यरत हुनुहुन्छ ।
यस्तै, परराष्ट्र सेवाबाट पाकिस्तानको राजदूतमा सेवा लम्साल सेवारत हुनुहुन्छ भने नेपाल सरकारले हालै मात्र भारतको मिनिस्टिर (इकोनोमिक) को जिम्मेवारी सहसचिव निता पोखरेललाई दिएको छ ।
२०६२÷६३ सालको जनआन्दोलनपछि मुलुकमा समावेशीकरणको लहर आयो । लोकसेवा आयोगले छ वटा समावेशी समूहबाट आर्थिक वर्ष २०६७÷६८ देखि महिलासहितको समावेशी समूहबाट प्रतिनिधित्व गराउने प्रक्रिया सुरु गरेपछि सरकारी सेवामा महिलाको सङ्ख्या बढ्न थालेको हो । त्यतिबेला आरक्षण र खुलाबाट गरी तीन हजार ८३६ जना निजामती सेवामा प्रवेश गरेका थिए । सबैभन्दा बढी २०७४ मा आरक्षणबाट चार हजार र खुलाबाट पाँच हजार जना महिला निजामती सेवामा प्रवेश गरेका थिए । विगत आठ वर्षको तथ्याङ्क केलाउँदा आरक्षणमा भन्दा खुलामा बढी सङ्ख्यामा महिलाको नाम सिफारिस भएको छ ।
आयोगको ५९ औँ प्रतिवेदन अनुसार, महिला–लक्षित समावेशी विज्ञापनबाट एक हजार ८८ जना र खुला विज्ञापनबाट ८६९ जना महिला निजामती सेवामा प्रवेश पाएका छन् । त्यस्तै, आन्तरिक, खुला तथा सबै समावेशी समूहका विज्ञापनमा समेत गरी कुल दुई हजार ४६५ जना महिलाले सेवा प्रवेश गरेका छन् । समावेशी विज्ञापनबाट जम्मा १६ हजार ९३९ जना उम्मेदवार सिफारिस भएको देखिन्छ भने खुला विज्ञापनतर्फ सोही अवधिमा कुल २४ हजार १२९ जना महिला उम्मेदवार सिफारिस भएका छन् ।
जिम्मेवारी सम्हाल्ने क्रम बढ्दो
निजामती सेवामै रहनुभएकी विन्दा हाडा हाल लोकसेवा आयोगको सदस्य हुनुहुन्छ । निजामती सेवाबाट पहिलो प्रमुख जिल्ला अधिकारी बन्ने सौभाग्य उषा नेपाललाई प्राप्त भएको थियो । उहाँ पछि निर्वाचन आयोगको निर्वाचन आयुक्त पनि हुनुभयो । गृह मन्त्रालयमा कार्यरत सहसचिव केदारनाथ शर्माका अनुसार, हाल ७७ जिल्लामध्ये छ जिल्लामा प्रमुख जिल्ला अधिकारी महिला हुनुहुन्छ । तेह्रथुममा चन्द्रकला वली, रामेछाप लीलाकुमारी के.सी., सिन्धुपाल्चोक गोमादेवी चेम्जोङ, पर्वत कल्पना घिमिरे, जुम्ला दुर्गा भण्डारी र हुम्लामा विनिता भट्टराईले प्रमुख प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
यी त केही नमुना पात्र मात्रै हुनुहुन्छ । स्वास्थ्य तथा अन्य विभिन्न प्राविधिक सेवामा प्रमुख पदको जिम्मेवारी सम्हाल्दै आउने महिला कर्मचारीको पनि धेरै हुनुहुन्छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव राधिका अर्यालका अनुसार, नेपालमा हालसम्म १२ जना महिला सचिवले प्रशासनको नेतृत्व गरिसक्नु भएको छ ।
वि.सं. २०३८ मा कायम मुकाय सचिव हुनुभएकी चन्द्रकला किरण शिक्षा सेवाबाट २०४३ मा सचिव हुनुभएको थियो । उहाँ निडर हक्की स्वभावको भएको भनाइ कतिपयको छ । त्यसपछि सचिव हुनेहरूमा प्रभा बस्नेत, उर्मिला श्रेष्ठ, ऋद्धिबाबा प्रधान, विन्दा हाडा, विमला सुवेदी, सुधा शर्मा र डा. किरण रेग्मी हुनुहुन्छ । चारजना सचिव त हाल पनि कार्यरत हुनुहुन्छ । सहसचिव लक्ष्मी बस्नेत अहिले कर्णाली प्रदेशमा सचिव भएर जानुभएको छ ।
कर्मचारी र जनताबीच सद्भाव बढ्नुपर्छ
यमकुमारी खतिवडा
सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
पुरुष कर्मचारीमा उच्च विश्वास (ओभर कन्फिडेन्स) भएर काम गर्नुहुन्छ तर महिलाहरूले बढी संवेदनशील र जिम्मेवारपूर्ण तरिकाले काम गर्ने गरेको पाइन्छ । हामी सबैले निजामती सेवाको मर्मअनुसार जनताको भावना र अपेक्षा अनुसार काम गर्न सक्नु प¥यो । सरकारी सेवा र कर्मचारीप्रति वितृष्णा र अविश्वास बढेको जस्तो देखिन्छ । हाम्रो सेवा प्रवाहले जनतासँगको सम्बन्धलाई टाढा होइन नजिक ल्याउनुप¥यो, हामी जनताका लागि सेवा दिने कर्मचारी हौं भन्ने भावनाका साथ काम गर्नुपर्छ । हामी सरकारका प्रतिनिधि हौँ भन्ने महसुस गरेर सेवाग्राहीलाई प्रत्यक्षरूपमा छिटो, छरितो र सरल ढङ्गले सेवा दिन सक्नुपर्छ । जनताको अपेक्षा बढी भएर पनि हामीले त्यो अपेक्षालाई पूरा गर्न नसकेका पनि हुन सक्छौँ । कर्मचारी र जनताबीच सद्भाव बढ्नुपर्छ, सरकारी सेवाप्रति थप विश्वास जगाउनु प¥यो । नवप्रवेशीले पनि छिटो, छरितो सेवा दिन्छु भनेर त्यही अनुसारको जाँगर र सेवाभाव लिएर निजामती सेवामा प्रवेश गर्न आग्रह छ ।