logo
२०८१ मंसिर ९ आईतवार



रोकिएन डेङ्गु सङ्क्रमण

राष्ट्रिय |


रोकिएन डेङ्गु सङ्क्रमण



सरोज ढुङ्गेल

काठमाडौँ, भदौ २३ गते । उपत्यकामा फैलिएको डेङ्गुको प्रकोप रोकिने क्रममा छैन । करिब १० दिन अघिबाट काठमाडौँ उपत्यकामा फैलिएको डेङ्गुको प्रकोपबाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र दैनिक १५० जनादेखि तीन सयसम्मलाई डेङ्गु सङ्क्रमित भएको पुष्टि भइरहेको छ । यो सङ्ख्या घट्नेभन्दा पनि बढ्ने क्रममा रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले अस्पतालमा डेङ्गुको उपचार गर्न आउनेको सङ्ख्यामा दिनानुदिन बढिरहेको जानकारी दिनुभयो । उहाँले १० दिनको बीचमा एक हजार दुई सय जना डेङ्गुबाट सङ्क्रमित भएको जानकारी दिनुभयो । सरकारी अस्पताल टेकुका साथै कतिपय व्यक्ति उपचारका लागि निजी क्षेत्रकै अस्पताल पनि गइरहेकाले डेङ्गु सङ्क्रमणको यकिन तथ्याङ्क आउन नसकेको डा. पाण्डेको भनाइ छ । डेङ्गुको अवस्था भयावह हँुदैछ भन्दै निर्देशक पाण्डेले भन्नुभयो, “डेङ्गु सङ्क्रमित सबैलाई भर्ना गरेर सम्भव छैन, अत्यन्त जटिल किसिमका बिरामीलाई मात्र भर्ना गरेर
राखिरहेका छौँ ।”

ललितपुरले थाल्यो जनचेतना
ललितपुर महानगरपालिका स्वास्थ्य संयोजक तथा जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले ललितपुर महानगरपालिकाले डेङ्गुविरुद्ध व्यापक जनचेतना कार्य गरिरहेको बताउनुभयो । प्रचारप्रसार, माइकिङ, पोस्टर, पम्प्लेट, पर्चाको माध्यमबाट सहरबासीमा जनचेतना फैलाइरहेको जानकारी दिँदै महर्जनले टोलटोलमा गई डेङ्गुविरुद्ध अन्तक्र्रिया गर्ने, डेङ्गु रोगबारे जानकारी दिने काम महानगरपालिकाले गरिरहेको बताउनुभयो । सामुदायिक विद्यालयमा गएर विद्यार्थीहरूलाई समेत डेङ्गुविरुद्ध सचेतना अभियान सुरु गरिएको जानकारी दिनुभयो ।
सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्कोटाले धेरैको घरमा डेङ्गुको लार्भा रहेको बताउँदै त्यसलाई नष्ट गर्नुपर्ने बताउनुभयो । थोरै पानी जमेको ठाउँमा समेत डेङ्गुको लार्भा हुने खतरा रहेको भन्दै थप्नुभयो, “हाम्रो घरघरमा डेङ्गु छ र यसलाई हामी आफैले नियन्त्रण गर्नुपर्छ भन्ने जनचेतना मानिसमा हुनुपर्छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?