logo
२०८१ जेष्ठ ३ बिहीवार



कुर्मी हत्या प्रकरण: अनुसन्धानका लागि सिआइबी टोली रुपन्देहीमा

राष्ट्रिय |
प्रदेश |


कुर्मी हत्या प्रकरण:  अनुसन्धानका लागि सिआइबी टोली रुपन्देहीमा
फाइल तस्विर


लक्ष्मण पौडेल

भैरहवा, असोज ३ गते । रुपन्देहीको रोहिणीमा गोली हानी महेन्द्र कुर्मीको हत्या गरिएको विषयमा थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोली रुपन्देही आएको छ ।

भदौ २९ गते रोहिणी गाँउपालिका–३ बैकुण्ठपुरमा दिनदहाडै गोली प्रहार गरी ओमसतिया गाँउपालिका–५ पठ्खौलीका कुर्मीको हत्या गरिएको थियो । घटनाको सुक्ष्म अध्ययनका लागि सिआइबीको टोली बिहीबार साँझ रुपन्देही आएको प्रहरीले जानकारी दिएको छ । घटनाको अध्ययनको लागि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच जनाको टोली रुपन्देही आएको हो ।

नेपाल प्रहरी र सिआइबीको टोलीले नेपाल र भारतका विभिन्न स्थानमा केन्द्रित रहेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी वीरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो । हत्या गरी अपराधी भारततर्फ भागेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

हत्यामा संलग्न भएको आशंकामा अनुसन्धान गर्नु पर्ने व्यक्तिसँग सोधपुछ गरिरहेको तथा विभिन्न स्थानमा गएर सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । जिल्लामा प्रहरी प्रमुख फेरिएर आएकै दिन दिनदहाडै भएको घटनाका कारण पनि प्रहरीलाई छिटो भन्दा छिटो अभियुक्तलाई प्रक्राउ गरी कारबाही गर्नु पर्ने दबाब छ ।

भारतीय प्रहरीसँग पनि समन्वय गरेर दोषीको खोजी कार्य तीव्र पारिएको प्रहरी प्रवक्ता शाहीले बताउनुभयो । “हामीसँग भएको सबै क्षमता लगाएर काम गरिरहेका छौ”–प्रवक्ता शाहीले भन्नुभयो–“सिसि क्यामेरामा कैद भएको फुटेजबाट पनि अनुसन्धान गरेका छौं । हामीले छिट्टै अभियुक्त पक्राउ गर्छौं ।”

घटनाको अनुसन्धानकै क्रममा भारतीय प्रहरीसँग पनि छलफल र समन्वय भएको प्रहरी श्रोतको दावी छ । यता घटना घटेको पाँचौ दिनसम्म पनि कसैले सूचना दिएर घटना गराएको हो या लुटेराले आफै पैसा लुट्नको लागि घटना घटाएको भन्नेमा अहिले पुष्टि नभएकोले घटना रहस्यमय बन्दै गएको छ । गोली कसले र किन चलाएको भन्ने विषय नखुले पनि पारिवारिक बेमेलका कारण चौधरीको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

मृतक चौधरीकी १६ वर्षीया छोरी सोनम चौधरीले काकी मालती चौधरीले बाबुको हत्याको योजना बनाएर हत्या गर्न लगाएको आरोप लगाउनुभएको छ । सोनमका अनुसार काका धमेन्द्र चौधरीको दुई वर्ष अघि मृत्यु भएको र त्यसपछि माईतमा बस्दै आएकी काकीले जग्गा विवाद गर्दै आएको र माग गरे अनुसारको जग्गा नपाएपछि विवादको अवस्था थियो ।

उहाँले काकी मालती चौधरीका कारण बुबाको हत्या भएकोले घटनाको छिट्टै सत्यतथ्य बाहिर ल्याउन प्रहरीसँग माग गर्नुभएको छ । ओमसतिया गाउँपालिका–५ पट्खौली निवासी कुर्मीमाथि आइतबार दिउँसो साढे २ बजे भैरहवास्थित हिमालय बैंकबाट पाँच लाख रुपैयाँ निकालेर लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा श्रीमती र आठ महिनाको दुधे बालकसहित घर फर्किने क्रममा बैकुण्ठपुरमा गोली हानिएको थियो ।

लुटेराले चौधरीलाई मोटरसाइकलबाट लडाई पैसा र ज्यान जोगाउन नजिकैको घरतर्फ भाग्न लाग्दा गोली हानी पैसा र उहाँसँग भएको नागरिकता, चेकबुकलगायतका सामान लुटेर लगेको परिवारले जनाएको छ । मृतक चौधरीका दुई छोरी, एक छोरा, श्रीमती र बुबाआमा हुनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?