logo
२०८१ बैशाख ८ शनिवार



काठमाडौँ उपत्यका: कला र सम्पदाले झकिझकाउ बनाइँदै

राष्ट्रिय |


काठमाडौँ उपत्यका:  कला र सम्पदाले झकिझकाउ बनाइँदै



चाँदनी हमाल

काठमाडौँ, असोज ४ गते । भिजिट नेपाल २०२० मा पाहुनालाई आकर्षित गर्न काठमाडौँ उपत्यकालाई कला र सम्पदाले झकिझकाउ बनाउने काम सुरु भएको छ । काठमाडौँ उपत्यका कलात्मक सहर भनेर यसअघि पनि भन्ने गरिन्थ्यो तर बढ्दो सहरीकरण र आधुनिकीकरणले यहाँको कलात्मकता हराउँदै गएको बेला फेरि पुनर्जागृत गर्ने प्रयास सुरु भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार पर्यटन प्रवद्र्धनमार्फत नेपालको कुल गार्हस्थ उत्पादनमा १० प्रतिशत योगदान पु¥याउने सरकारी लक्ष्य छ । सोहीअनुसार व्यापक प्रचारप्रसारमा रहेको भिजिट नेपाल २०२० सफल बनाउन उपत्यकालाई सुन्दर कला नगरी बनाउने नेतृत्व भने काठमाडौँ महानगरपालिकाले पाएको छ ।
सरकारी योजनाअनुसार धेरैभन्दा धेरै विदेशी पर्यटकलाई उपत्यकामा बास बसाउन, मौलिक आकर्षण दिन नेपाली कला संस्कृतिको प्रत्यक्ष उजागर गर्न खोजिएको काठमाडौँ  महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो ।
“हामीले कलात्मक सुन्दर सहर बनाउन कलाकारलाई नै जिम्मा दिएका छौँ,” शाक्यले भन्नुभयो, “उपत्यका सिँगार्नकै लागि दस करोड रुपियाँ बजेट तत्काल विनियोजन भइसकेको छ ।”
महानगरसँगको सम्झौतामा आधारित रहेर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यको संयोजकत्वमा पाँच सदस्यीय निर्देशक समिति गठन भएको जानकारी उहाँले दिनुभयो । उहाँका अनुसार पर्यटक आकर्षित गर्नकै लागि उपत्यकाका १० स्थानमा सुन्दर पार्क निर्माणका लागिसमेत सम्झौता भएर काम अघि बढेको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कर्माचार्यले गठित निर्देशक समितिले पहिलो चरणमा तीन महिनाभित्र काठमाडौँ महानगरपालिकालाई कलात्मक नगरी बनाउने गृहकार्य सुरु गरेको बताउनुभयो । “अब काठमाडौँका चोकचोकमा नेपाल चिनाउने कलाको सिर्जना गरिनेछ,” उहाँले भन्नुभयो, “ठूलाठूला मूर्ति र चित्रसँगै नेपाल अभिव्यक्त गरिनेछ ।”
परम्परागत धारका ठूला मूर्ति र ठूला चित्र निर्माणका लागि कलाकार छनोट गरी काम गरिने उहाँले बताउनुभयो । जसका लागि प्रतियोगिता नै गराउने वा आवेदन लिने भन्नेबारे छलफल चलिरहेको उहाँले जानकारी दिनुभयो । निर्देशक समितिमा उहाँसँगै कलाकार धर्मराज शाक्य, सुष्मा राजभण्डारी, सुनिल रञ्जित, तथा सम्पदाविज्ञ एकाराम सिंह रहनुभएको छ ।
टोलीले पहिले फिल्ड भिजिट गरेर त्यसपछि कहाँ कस्ता कलात्मकता ल्याउने भन्ने तय गर्नेछ । निर्देशक समितिका सदस्य तथा सम्पदाविद् एकाराम महर्जनले यतिबेला टोली फिल्ड भिजिट गरिरहेको बताउनुभयो । “भिजिट नेपालका लागि उपत्यका व्युटिफिकेसन गर्ने जिम्मा पाएका छौँ,” उहाँले भन्नुभयो, “जहाँ जुन खालको मौलिकता थियो, त्यहीअनुसार काम अघि बढाउने प्रारम्भिक योजना बनेको छ ।”
उहाँका अनुसार वसन्तपुर दरबार क्षेत्रमा कुमारी घरको पूर्वतर्फ रहेको पुरानो पोखरी यही क्रममा पुनर्जीवित गरिनेछ । काठमाडौँका पानीको स्रोत सकिँदै गएका बेला त्यो पोखरी पुनर्जागृत गराउँदा सहरको सौन्दर्यसँगै प्रकृतिमा विचरण गर्ने चराचुरुङ्गी र अन्य प्राणीका लागि पिउने पानीको स्रोत बन्ने उहाँ बताउनुहुन्छ । त्यहीँनेर काल्पनिक झरनासँगै नारायणमूर्तिको कल्पनासमेत उहाँले गर्नुभएको छ ।
त्यस्तै नेपाल चिनाउने ऐतिहासिक व्यक्तित्वका ठूला मूर्ति ठाउँठाउँमा राखिनेछ । माथवरसिंह थापा, जङ्गबहादुर राणा, जयस्थिति मल्ल लगायतका ऐतिहासिक मूर्ति निर्माण गरिनेछ । हेर्दै जीवन्त लाग्ने त्यस्ता मूर्तिसँग सेल्फी खिच्न मन लाग्नेगरी पर्यटक आकर्षित हुने उहाँ दाबी गर्नुहुन्छ ।
नेपालको मौलिक कला मानिने पौभाचित्र ठूलाठूला आकारमा भित्ताहरूमा कोरिनेछ । जसमा नेपाली जनजीवनसँग जोडिएका कथा बुनिनेछ । लोप भएको बत्तीसपुतली गेट ब्युँझाउने सोच पनि समितिले बनाएको छ । नेपाली वास्तुकलात्मक सिर्जनाका रूपमा भीमसेनस्थानको सुन्धारालाई सौन्दर्यले भरिनेछ ।
उहाँका अनुसार पुराना कलात्मक नगरलाई समेत पुनर्जागृत गर्न प्रयास गरिनेछ । “हाँडीगाउँ र विशालनगर पहिले सुन्दर नगर थियो, कैलाशकुट भवन नष्ट भएपछि त्यो सुन्दरता अहिले छैन,” महर्जनले भन्नुभयो, “त्यहाँको सुन्दरता फर्काउन प्रयास गरिनेछ ।” त्यस्तै पाटनको देवपाटन आफैँमा सुन्दर नगर थियो । त्यसको मौलिकता सबै फर्काउन नसके पनि केही हदसम्मको त्यहाँको प्राचीनता झल्काइनेछ ।
पहिलो चरणमा ठूला मूर्ति, चित्र र पुराना संरचनालाई मौलिकता भर्ने काम गरिनेछ । दोस्रो चरणमा सिङ्गै उपत्यकालाई कलात्मक नगर बनाउन थप पूर्वाधारसहितका नयाँ संरचनासमेत निर्माण गरी अगाडि बढ्ने योजना रहेको
उहाँले बताउनुभयो ।
सहरी विकास आयोगका उपाध्यक्ष सरोज बस्नेतका अनुसार काठमाडौँलाई स्मार्ट सिटीसँगै कलात्मक नगरीमा रूपान्तरण गर्ने अभियान नै सुरु भएको जानकारी दिनुभयो । आधुनिकतासँगै यहाँको मौलिक कला लोप हुन नदिन यसरी सहकार्य गरेर अगाडि बढेको
उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?