logo
२०८१ मंसिर ९ आईतवार



दशैँका लागि सीमामा थप ‘हेल्प डेस्क’

राष्ट्रिय |


दशैँका लागि सीमामा थप ‘हेल्प डेस्क’


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ७ गते । दशैँ, तिहार, छठजस्ता महत्त्वपूर्ण चाडपर्वमा विदेशबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने नागरिकको सहायताका लागि सीमानाकामा थप ‘हेल्प डेस्क’ स्थापना गरिने भएको छ । नागरिकको सहायता, सुरक्षा व्यवस्थाका लागि थप हेल्प डेस्क राख्न लागिएको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिनुभयो ।
दशैँ, तिहार, छठलगायतका पर्वमा गृह मन्त्रालयले तयार पारेको सुरक्षा रणनीतिबारे प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिमा जानकारी दिँदै मन्त्री थापाले सुरक्षा व्यवस्था प्रभावकारी बनाइने स्पष्ट पार्नुभयो ।
मन्त्री थापाले चाडपर्वको समयमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “विदेशबाट विशेषगरी भारतको स्थलमार्ग हुँदै नेपाल आउने नागरिकका लागि सीमामा थप हेल्प डेस्क स्थापना गरिने छ । सीमा नाकामा सादा पोसाकका प्रहरी परिचालनको व्यवस्था हुने छ । समुदाय–नागरिक साझेदारी कार्यक्रममार्फत सुरक्षा व्यवस्था प्रभावकारी बनाइने छ । जनचेतनाका कार्यक्रम पनि सँगै अघि बढाइने छ । ”
गृहमन्त्री थापाले चाडपर्वको अवधिमा हेभी इक्विपमेन्टलाई तयारी अवस्थामा राखिने बताउनुभयो । यस्तै सवारी साधनलाई गन्तव्यतर्फ लाग्नुअघि चालक तथा सहचालकलाई अभिमुखीकरण गरिने पनि मन्त्री थापाले बताउनुभयो । लामो दूरीको सवारीमा दुई चालकको व्यवस्था अनिवार्य गरिएको पनि मन्त्री थापाले समितिमा बताउनुभयो । यसका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग मन्त्रालयले सहकार्य गर्ने मन्त्री थापाको भनाइ छ । उहाँले यात्रुको आवतजावतका लागि सहजीकरण गर्न प्रहरीको सहायता कक्ष स्थापना गर्ने, टिकटको अनुगमन गर्ने लगायतका कामलाई पनि प्राथमिकतामा राखिएको बताउनुभयो । क्षतिग्रस्त राजमार्ग तथा सडकको मर्मतका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग सहकार्य गरिने मन्त्री थापाको भनाइ छ । दुर्घटनापछिको आपत्कालीन उपचारका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिने पनि उहाँको भनाइ छ ।
नोट प्रचलनको व्यवस्था मिलाउनू
समितिले चाडपर्वको समयमा आपराधिक घटना न्यूनीकरणका लागि पूर्वतयारी गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले दशैँका क्रममा स्थलमार्गबाट फर्कने नागरिकको सुरक्षाको भरपर्दो प्रबन्ध गर्न पनि निर्देशन दिएको छ । विशेषगरी भारतबाट फर्कने नागरिकमाथि हुने सीमानाकाको लुटपाट नियन्त्रणका लागि सुरक्षा प्रबन्ध गर्न समितिले निर्देशन दिएको हो । यस्तै समितिले लामो दूरीका सवारी साधनको भाडा अनुगमन गर्न पनि निर्देशन दिएको छ । उपत्यकामा दशैँका क्रममा हुने चोरीका घटना नियन्त्रणका लागि विशेष सुरक्षा प्रबन्ध गर्न पनि समितिले निर्देशन दिएको छ ।
यस्तै भारतबाट नेपाल आउने नागरिकले ल्याउने भारु ५००, १०००, २००० का नोट नचलाइएको विषयमा पनि समितिले आवश्यक समन्वय गरी समस्या सम्बोधन गर्न राष्ट्र बैङ्क तथा अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । भारतीय रुपियाँ नचल्दा नागरिक मर्कामा परेको भन्दै गृहसचिव प्रेमकुमार राईले सहजीकरणका लागि समितिको ध्यानाकर्षणसमेत गराउनुभएको थियो । सचिव राईको ध्यानाकर्षणपछि समितिले निर्देशन दिएको हो ।
सांसदका गुनासै गुनासा
समितिमा सांसदहरूले गृहमन्त्रीसँग सुरक्षालगायतका गुनासा राखेका थिए । नेपाली काँग्रेसका सांसद दिलेन्द्र बडूले सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुझाव दिनुभयो । बडूले भारतीय नोट प्रचलनको समस्या, टिकट समस्या, सडकको जीर्ण अवस्थालगायतका समस्याबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । गाडीको प्राविधिक परीक्षण, टाइम कार्डको व्यवस्था गर्न पनि उहाँले ध्यानाकर्षण गराउनुभयो । हवाई भाडाको अधिकतम सीमा तोक्न पनि उहाँको सुझाव थियो ।
यस्तै सांसद महेश्वरजङ्ग गहतराजले मुख्य राजमार्गका जङ्गलमा हुने लुटपाटका घटनाप्रति सुरक्षा सक्रियता बढाउन माग गर्नुभयो । कालोबजारी र गुणस्तरहीन सामग्री चाडपर्वमा बढी बिक्री हुने भन्दै बजार अनुगमन प्रभावकारी बनाउन पनि उहाँले सुझाव दिनुभयो । सांसद झपट रावलले बजार अनुगमन प्रभावकारी बनाउन माग गर्नुभयो ।
सांसद यशोदा सुवेदीले वर्षाका कारण समस्याग्रस्त सडक पुनःनिर्माणका लागि आग्रह गर्नुभयो । दशैँमा बिग्रिएका सामान बेच्ने समय बनेको भन्दै सुवेदीले बजार अनुगमनका लागि ध्यानाकर्षण गराउनुभयो । दुर्घटनाको कारणमध्ये दूरीमा एकमात्र सवारीचालक रहेको भन्दै दुई चालकको अनिवार्य व्यवस्था गर्न माग गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?