सरोज ढुङ्गेल
काठमाडौँ, असोज ८ गते । उपत्यकामा डेङ्गुसँंगै स्क्रब टाइफस पनि फैलिएको छ । मुसामा हुने माइट नामको जीवाणुबाट मानिसमा सर्ने स्क्रब टाइफबाट साउनदेखि यता सात सयजना व्यक्ति सङ्क्रमित भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट तथा प्रवक्ता डा. अनुप बाँस्तोलाले अस्पतालमा साउनयता ३४२ जना व्यक्ति स्क्रब टाइफसका बिरामी आएको जानकारी दिनुभयो । उहाँले अस्पतालमै २६ जना बिरामी भर्ना गरेर ‘रिफर’ गरिसकेको जानकारी दिनुभयो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले स्क्रब टाइफस पत्ता लाग्ने दर विगतका वर्षहरूमा भन्दा बढी भएको जानकारी दिनुभयो । स्क्रब टाइफस हालसम्म ६३ जिल्लामा फैलिसकेको जानकारी दिँदै लालले प्रदेश १ मा १८ जना प्रदेश २ मा २२ जना, प्रदेश ३ मा २०४ जना, प्रदेश ४ मा ५१ जना, प्रदेश ५ मा २३७ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १५५ जनामा स्क्रब टाइफसको सङ्क्रममित भएको जानकारी दिनुभयो ।
के हो स्क्रब टाइफस ?
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ‘स्क्रब टाइफस’ रोग ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको सङ्क्रमणले लाग्ने बताउनुभयो । उहाँले यो परजीवीलाई एक प्रकारको ‘माइट’ जातिको सूक्ष्म कीराले सार्ने जानकारी दिँदै रोगको कीटाणु बोक्ने ‘माइट’ स–साना बोटबिरुवाको झाडीमा बस्ने बताउनुभयो ।
पहिलोपटक सन् १९३० तिर जापानमा देखापरेको यो रोग हाल भने नेपालका विभिन्न स्थानमा पनि देखा परेको छ । दोस्रो विश्वयुद्धको बेला युद्धमा खटिएका सेनाहरू जङ्गलका झाडी हुँदै हिँड्दा ‘माइट’ले टोकेको र टोक्ने क्रममा ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवी पनि शरीरमा छोडेकाले उनीहरूमा यो रोग लागेको पाइएको थियो ।
नेपालमा ‘मुसा’ले स्क्रब टाइफस सारेको पाइएको छ । झाडीमा बस्ने मुसाको कानमा पाइने माइट झाडीमा सर्ने र त्यहाँ जाँदा मानिसलाई टोकेको कारणले यो रोग भएको पाइएको छ । पुनका अनुसार स्क्रब टाइफस भएका मानिसहरूमा १०४ डिग्रीभन्दा बढी र काम ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्नु, मांसपेशी दुख्नु, पाचन अङ्गमा गडबडी आउनु, शरीरमा रातो बिबिरा देखिने गर्दछ ।
डा. पुनले समयमै उपचार नगरेमा कलेजो, फोक्सो, मुटु, मिर्गौलालगायत अङ्गमा सङ्क्रमण भई बिरामीको मृत्यु हुनसक्छ । औषधिका रूपमा एन्टिबायोटिक प्रयोग गर्नुपर्दछ ।