जयकृष्ण यादव
इनरुवा, असोज १२ गते । सुनसरीको सीमावर्ती क्षेत्र बर्जु गाउँपालिकाबाट दुई जनालाई पेस्तोल र लागूऔषध सहित पक्राउ गरेको छ । आईतबार विहान ७ः३० बजेको समयमा बर्जु गाउँपालिका वडा नम्बर ३ अमडुवाबाट दुई जनालाई पेस्तोल र लागूऔषध सहित पक्राउ गरेको हो ।
१ नं प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ५ मगर टोलका २७ वर्षीय करण कुमार चौधरी र २१ वर्षीय प्रकाश चौधरीलाई पक्राउ गरेको हो ।
उनीहरु माथि शंका लागि खानतलासी गर्दा करणकुमार चौधरीले हातमा बोकी ल्याएको कालो प्लाष्टिकको झोला खोली हेर्दा मेड ईन यूएस सेभेन ६३ लेखिएको पेस्तोल एक थान र म्याग्जिन २, गोली ३ थान, लागूऔषध फेनारगनको ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल, एभिलको ३५ एम्पुल, लागूऔषध डाईजेल्यावको ३५ एम्पुल र सिरिन्ज एकथान समेत फेला परेकाले दुबैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय दुहबीमा राखेर अनुसन्धान सुरु गरेको प्रहरी प्रवत्ता विनोद शर्माले जानकारी दिनुभयो ।