logo
२०८१ मंसिर १० सोमवार



सिन्धुलीगढी युद्धको सम्झना

राष्ट्रिय |


सिन्धुलीगढी युद्धको सम्झना



गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १३ गते । नेपालको युद्ध इतिहासमा सिन्धुलीगढी क्षेत्रमा गोर्खालीले लडेको वीरतापूर्ण रणनीतिक ‘एम्बुस’ युद्धले विशेष महŒव राख्छ । सिन्धुलीको ढुङ्ग्रेबास, ढुङ्ग्रेभञ्ज्याङ र पौवागढी (आड)मा कप्तान किनलकका फौजमाथि वि.सं. १८२४ को असोजमा स्थानीय जनताको साथसहित गोर्खालीले बाटो ढुकेर आकस्मिक मार गरेका थिए ।
इतिहासकार डा. प्रेमसिंह बस्न्यातका अनुसार ‘मिल्ट्री एक्सपिडिसन’को नेतृत्व गर्दै आएका किनलकलाई बाटोका बारेमा सूचना दिने व्यक्ति गैरफौजी थिए । त्यो सूचना सैनिकका लागि अपर्याप्त थियो । त्यसमाथि गोर्खालीले किनलकको फौजमाथि ‘टाउको र ढाड’मा एकैपटक बाटो ढुकेर आक्रमण गरेका थिए । उहाँका अनुसार सिन्धुलीमाढीबाट उकालो लागेका थकित अङ्ग्रेज फौजलाई पौवागढी, ढुङ्ग्रेभञ्ज्याङ र ढुङ्ग्रेबासमा गोर्खालीबाट एक्कासि आक्रमण भएको थियो ।
समृद्ध सिन्धुली अभियानद्वारा आइतबार राजधानीमा आयोजित ‘सिन्धुलीगढी ः इतिहास नियाल्दा’ अन्तरक्रियामा डा. बस्न्यातले भन्नुभयो, “सिन्धुलीगढी युद्ध हारिएको भए नेपाल एकीकरण पनि हुने थिएन, काठमाडौँ भित्रिएको अङ्ग्रेज सेना फिर्ता हुने पनि थिएन । ” उहाँले भन्नुभयो, “अङ्ग्रेजहरू काठमाडौँ हुँदै तिब्बत प्रवेश गर्न चाहन्थे । उनीहरूको मूल उद्देश्य तिब्बतको व्यापार थियो । ”
कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठान, समाजशास्त्र विभागका प्रमुख प्रा. दिनेशराज पन्तले १३८१ तिरै सिन्धुलीमा किल्ला निर्माण गरिएको बताउनुभयो । उहाँले मकवानपुर राज्य जितेपछि थप शक्तिशाली बनेको गोर्खालीलाई सिन्धुलीगढी युद्धमा भौगोलिक रूपमा पनि साथ दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सिन्धुलीगढी युद्धको मितिबारे केही भ्रम रहेका थिए तर विभिन्न तथ्यका आधारमा अब त्यो भ्रम सकिएको छ । इतिहासका तथ्यहरूले १८२४ असोज १५ गते नै गोर्खालीले अङ्ग्रेज फौजलाई पराजित गरेको प्रमाणित
भइसकेको छ । ”
उहाँले सिन्धुलीगढी युद्धमा विजय प्राप्त गरेको असोज १५ को सम्झनामा चित्रकला, छलफलजस्ता कार्यक्रम गरी समृद्ध सिन्धुली अभियानले प्रशंसनीय कार्य गरेको चर्चा गर्दै इतिहासका घटनालाई तथ्यप्रमाणका आधारमा चित्रकलामा उतार्न कलाकारलाई आग्रह गर्नुभयो । कार्यक्रममा इतिहास अन्वेषक मोहन थापाले गुरगिन खानका सेनाबाट खोसिएका आधुनिक बन्दुकले सिन्धुलीगढी युद्धमा निर्णायक भूमिका खेलेको बताउनुभयो । उहाँका अनुसार त्यति बेलाको शक्तिशाली मानिने मकवानपुर राज्य गोर्खालीले जितेपछि दिग्बन्धन सेन भागे । उनको सहयोगमा बङ्गालका नवाबले पठाएको गुरगिन खान नेतृत्वमा सेनासँग मकवानपुरगढी आसपासमा गोर्खालीको भीषण युद्ध भयो । जुन युद्धमा गोर्खालीले प्राप्त गरेको पाँच सय बन्दुकले पृथ्वीनारायण शाहले पाँच कम्पनी स्थापना गरेको थापाले बताउनुभयो ।
मकवानपुरका राजा दिग्बन्धन सेनको सहयोगका लागि आएको गुरगिन खानको सेनालाई समेत गोर्खालीले पराजित गरेपछि कान्तिपुरका राजा जयप्रकाश मल्लको अघिल्तिर आत्मसमर्पण कि निर्णायक युद्धको अवस्था आयो । जयप्रकाश मल्लले अङ्ग्रेजसँग सैनिक सहायता मागे । उनको सहायताका नाममा काठमाडौँ छिर्ने दाउमा रहेको इस्ट इन्डिया कम्पनीका सेनालाई गोर्खालीले सिन्धुलीगढी क्षेत्रमा बरबाद पारेका थिए । थापाका अनुसार मकवानपुरमा गुरगिन खानका सेनाबाट कब्जा गरिएका बन्दुक नै सिन्धुलीगढी युद्धमा प्रयोग भएका थिए ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान, चित्रकला विभागका प्रमुख सुषमा राजभण्डारीले सिन्धुलीगढीको ऐतिहासिक सम्पदा र गढी युद्धका कथालाई रङ र क्यानभासका माध्यमबाट कलाकारले जीवन्त रूपमा उतार्ने बताउनुभयो । अभियानले नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानसँगको सहकार्यमा सिन्धुलीगढीमा असोज १४ देखि १७ सम्म ‘सिन्धुलीगढी कला शिविर’ आयोजना गर्दैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?