चौतारा, असोज १३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले जनताले प्रत्यक्ष महसुस गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ ।
नेकपा जिल्ला कमिटी सिन्धुपाल्चोकद्वारा विजयादशमी तथा दिपावलीको उपलक्ष्यमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले पार्टी समाजवादउन्मुख समावेशी लोकतन्त्रको चरणमा रहेको उल्लेख गर्दै नेकपालाई एउटा जिम्मेवारी सुम्पेकाले त्यो पूरा गर्नुपर्ने बताउनुभयो ।
विकासलाई प्रभावकारी रुपमा जनमुखी र गरीबमुखी बनाउन जरुरी भएको चर्चा गर्दै प्रवक्ता श्रेष्ठले समावेशी आर्थिक विकास, सामाजिक, समाजउन्मुख, नविनतम, वातावरणमैत्री, दिगो एवं नयाँ मूल्यमान्यतासहित सात सुत्रमा आधारित विकास भएमात्र नयाँ नेपाल बन्न सम्भव हुने बताउनुभयो ।
जिल्ला अध्यक्ष झम्क नेपाल सभापति रहनुभएको उक्त कार्यक्रममा सांसदद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङ, प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल लगायतको सहभागिता थियो ।