logo
२०८१ मंसिर १० सोमवार



चौबीसवटा विद्यालय पुनर्निर्माण गर्ने सहमति

राष्ट्रिय |


चौबीसवटा विद्यालय पुनर्निर्माण गर्ने सहमति


गोरखापत्र समाचारदाता
काठमाडौं, असोज १५ गते । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र नेपालस्थित नर्वेजियन राजदूतावास तथा युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनओपिएस) बीच २४ वटा विद्यालय पुनर्निर्माणका लागि समझदारी भएको छ ।

नर्वे सरकारको करिब ८० लाख अमेरिकी डलर सहयोगमा सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंमा विद्यालय बन्ने छन् ।

परियोजनाअन्तर्गत रामेछापमा १३, सिन्धुलीमा नौ तथा काठमाडौं र भक्तपुरमा एक–एकवटा विद्यालय पुनर्निर्माण हुनेछन् । चौबिसबाट विद्यालयमा गरी १४४ वटा कक्षाकोठा रहने छन् ।

प्राधिकरणका अनुसार, अपाङ्गमैत्री यी विद्यालयमा शौचालय, खानेपानीको सुविधा हुनेछ । विद्यालय पुनर्निर्माण भएपछि करिब पाँच हजार पाँच सय विद्यार्थी लाभान्वित हुनेछन् ।

परियोजनाको अवधि २०७८ मंसिर १४ सम्म रहेको छ ।

समझदारीपत्रमा प्राधिकरणका तर्फबाट सहसचिव पीताम्बर घिमिरे, नर्वेजियन राजदूतावासका तर्फबाट नेपालका लागि राजदूत लास्से जोर्न जोहानेसें र युनओपिएसका कन्ट्री डाइरेक्टर चाल्र्स क्यालानानले हस्ताक्षर गर्नुभएको छ ।

हस्ताक्षर कार्यक्रमपछि नर्वे सरकार तथा युनओपिएसलाई धन्यवाद दिँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परियोजनाको समयमै सफल कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्राधिकरण भूकम्पपछिको पुनर्निर्माणमा विकास साझेदारहरूसँग समन्वय तथा मिलेर काम गर्दै आएको र गर्न तयार रहेको पनि उल्लेख गर्नुभयो ।

नर्वेका राजदूत जोहानेसेंले नर्वे सरकारको विद्यालय क्षेत्रप्रति दरिलो प्रतिबद्धता रहेको उल्लेख गर्नु हुँदै भूकम्पबाट क्षति भएका विद्यालयहरुको पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरण तथा युनओपिएससँग साझेदारी गर्न पाउँदा गर्व लागेको बताउनुभयो ।

त्यसैगरी, पुनर्निर्माण प्राधिकरणका योजना तथा बजेट व्यवस्थापन महाशाखा प्रमुख सहसचिव पीताम्बर घिमिरेले परियोजनाले भूकम्पपछिको पुनर्निर्माणमा योगदान गर्नुका साथै दुई देशबीचको सम्बन्धमा पनि नयाँ आयाम थप्ने बताउनुभयो ।

युएनओपिएसका कन्ट्री डाइरेक्टर चाल्स क्यालानानले पुनर्निर्माण प्राधिकरण र नर्वे सरकारसँग मिलेर विद्यालय पुनर्निर्माण गर्नु पाउनु गर्वको कुरा भएको उल्लेख गर्दै तोकिएको समय र गुणस्तरमा विद्यालय पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?