logo
२०८१ मंसिर १० सोमवार



दशैँमा गाउँ फर्कनेको लर्को

राष्ट्रिय |


दशैँमा गाउँ फर्कनेको लर्को



गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १९ गते । दशैँको रौनक सहर र गाउँमा धपक्कै ढाकिसक्यो । घरआँगन सफाइला बनेका छन् । गाउँघरका डाँडाका चउर र मैदानमा लिङ्गे पिङ मच्चिन थालिसके । घरघरमा मीठामसिना पाकेको सुवास फैलँदै छन् । विदेशिएका
घरमूली घरफिरेपछिको खुसी गाउँमा बिछट्टै बढेको छ । सहरमा काम गरी दशैँ मनाउन गाउँ फिर्नेको लर्को लामो छ ।
विद्यालय छुट्टी भएर बालबालिका नयाँनयाँ कपडामा सजिँदै घरआँगनमा दौँतरीका साथ रमाउँदै छन् । मोबाइल, कम्प्यटुर, इन्टरनेटजस्ता आधुनिक प्रविधिले सहरका बालबालिकाको मौलिक दशैँ भने ओझेल परेको छ तर भर्खरै गाउँबाट नगर बनेको चाँगुनारायणको डाँडाका बालबालिकाले भने पुरानो दशैँको छनक दिने माहोल छाडेका छैनन् ।
यस्तै रमाइलोमा भुल्दै गरेका चार जना बालबालिका भक्तपुरको चाँगुनारायण मन्दिरकै आसपास खेल्दै थिए । तीमध्ये एक समिर तामाङ आमाले किनिदिएको नयाँ चङ्गा हावातिर सोझाउँदै थिए । डाँडाको टुप्पोमा हावा कतिखेर कताबाट र कतिखेर कताबाट हुरुरु आउँथ्यो । समिरको चङ्गा हावा भएतिरै कहिले यता त कहिले उता गरेर उड्थ्यो ।
हावाको वेगसँग चङ्गाको लय मिलाउन उनलाई हम्मेहम्मे परिरहेको थियो । तैपनि उनी जता हावा फर्कन्थ्यो, त्यतै चङ्गा डोहो¥याउँदै थिए । अर्की थिइन् विदिता भुजेल । उनी भने उड्दै आएको फिरफिरे फूलका पछिपछि कुद्दै थिइन् । त्यो फिरफिरे फूल घरी उसको हातमा पथ्र्यो । घरी उडेर जान्थ्यो । उनको मन र उनी भने फूलसँगै उड्दै थियो । फूल पर उडेपछि भने उनी पनि समीरकै चङ्गाको पछि दौडिन थालिन् । चङ्गा हातमा समाउँदै उडाउन सघाउन थालिन् ।
उनकी सखी आशिका तामाङ छेउमै बसेर चङ्गा कहिले आकाशमा उड्ला भनेर प्रतीक्षा गर्दै थिइन् । “हावा नै आएन उड्दैन कि क्या हो यो चङ्गा”, उनी बालमनोभावका साथ बोलिन्् । “उड्छ उडछ् पख न अलि बेसरी हावा आएपछि उडी हाल्छ नि चङ्गा”, समीरले चङ्गाको लट्टाई बटार्दै भने ।
यो दशैँ खेला हुँदै गरेको चाँगुनारायण मन्दिरको अगाडिपट्टि एकछेउमा अष्टमात्रिकाको मन्दिर छ । मन्दिरभित्र मानव बस्ती सुरक्षाको जिम्मा पाएका आठदेवी देवता छन् ।
मन्दिरकै बाहिर पूजारी पत्नी कृष्णमाया महर्जन देवताका लागि बत्ती कात्दै हुनुहुन्थ्यो । छेउमै टुुसुक्क बसेका सरोज चौधरीको आँखा भने समीरको चङ्गातिरै सोझिएका थिए ।
कैलालीका सरोजका बाबु–आमा भक्तपुरमा ज्याला मजदुरी गर्छन् । “दशैँमा घर नजाने यही बसेर चङ्गा उडाउने म त”, सरोजलाई घर कहिले जाने भनेर सोध्दा भने, “तर चङ्गा कसैले किनिदिएनन् । ”
उनी पूजारी पत्नी कृष्णमाया महर्जनसँग चङ्गा किनिमाग्दै थिए । “यहाँ कति पैसा चढाउन ल्याउँछन्, मलाई चङ्गा किन्ने पैसा दिनुस् न आमा”, सरोज बर्बराउँदै बोले । “मसँग कहा हुनु र पैसा, तेरै आमा आएपछि भन्लास न”, कृष्णमायाले जवाफ दिनुभयो ।
“किनिदिन्नन् के हिजो पनि भनेको मैले सरोजले फेरि घुर्की लाउँदै भने, “समीरले हिजै किनिसक्यो । लट्टाईको एकसय, धागोको २५ अनि चङ्गाको १० रुपियाँ त हो नि किनिदिनुस् न । ”
केही सीप नलागेपछि कृष्णमाया महर्जनले मन्दिर घुम्न आएका एक दयालुसँग सरोजको माग सुनाइदिइन् । “लौन बिहानैदेखि यसले चङ्गा मागेको माग्यै छ, तपाईंसँग पैसा माग्दिनु पो भन्न थाल्यो”, उहाँले एक घुमन्तेसँग सिफारिस गर्नुभयो, “एक सय जति दिनुभए अरू म थपिदिने थिएँ । ” बालसुलभ मनको कुरा काट्न नसकेपछि घुमन्तेले एक सय निकालेर दिए । “लौ छिटो चङ्गा किनेर मेरै अघि उडाउ त”, एक सयको नोटक सरोजको हातमा राख्दै घुमन्तेले भने । हातमा परेको सयको नोट च्याप्प समाउँदै सरोज पसलतिर कुद्यो ।
एकछिनमा उसले चङ्गा, लट्टाई र धागो सबै लिएर आयो । अब सरोजको पनि चङ्गा भएपछि त्यहाँको माहोलमा मीठो रौनक थपियो । आफ्नो चङ्गा नै छाडेर समीर सरोजतिरै आयो । “खै लेउ म बनाइदिन्छु”, उसले लट्टाईमा धागो बेर्न सिकायो । अनि चङ्गाको धागो लट्टाईको धागो जोर्दै सरोजको चङ्गा तयार पारिदियो । यतिबेला आशिका र विदिताको नजर भने अष्टमात्रिका मन्दिर हेर्न पुगेकी विदेशी पाहुनातिर थियो । मन्दिरको बीच ढोकामा उभिएका दुई सखी घरी बन्दै गरेको
सरोजका चङ्गातिर त घरी गोरी विदेशीको अनुहारतिर हेर्दै थिए ।
अब आशिकाले पनि चङ्गा छुन पाइन् । अघि समीरको चङ्गा विदिताले समाउँदा ऊ त्यसै एक्लै परेकी थिइन् । उसले सरोजको चङ्गाको फेर उचाल्दै आकाशतिर पु¥याई । त्यहीबेला जोडसँग हावा चल्यो । उसले हात चटक्कै छाडी र उड्यो चराझैँ सरोजको चङ्गा भुरुरुरु... । उता अघिदेखि उड्न नसकेको समीरको चङ्गा पनि हावाको वेगले मेसो पाएपछि सरोजकोझै आकाशतिर उकालियोे । विदिता र आशिका उडेको चङ्गातिर आँखा
डोहो¥याउँदै हौसिए । “ऊ उड्यो दशैँको चङ्गा , क्या रमाइलो हेर त आशिका”, विदीताले भनिन् । आशिका उफ्रदै, “ऊ सरोजको चङ्गाले समीरको चङ्गा भेट्नै लाग्यो । ”
दशैँको बालरौनक हेर्दै रमाउँदै गर्नुभएकी कृष्णमाया पनि चङ्गा उडेको देखेर मख्ख पर्नुभयो । उहाँको मुस्कानमा आफ्नै बालपनको स्मृति झुलुक्क झुल्कियो । हामी पनि बच्चा बेला खेतका आलीआली चङ्गाको पछि खुब दगुथ्यौँ, उहाँले भन्नुभयो अचेल त त्यसरी चङ्गा खेल्ने ठाउँ पनि छैन, अनि केटाकेटी पनि मोबाइल र क्यामरामा बढी भुल्ने भए । उहाँ सहरमा रहेका आफ्नै नातिनातिना पनि यसरी खुला वातावरणमा रमाएर दशैँ मनाउन छाडेको सुनाउनुहुन्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?