logo
२०८१ मंसिर १० सोमवार



तमु प्रथम अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु

राष्ट्रिय |


तमु प्रथम अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु


गोरखापत्र समाचारदाता
काठमाडौं, असोज २४ गते । तमु (गुरुङ)हरुको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । ‘विश्वजभरका तमु एकजुट होऔँ, सम्पूर्ण तमुको आह्वान ः एकता, अस्तित्व र पहिचानका लागि प्रथम अन्तर्राष्ट्रिय सम्मेलन’ नाराका साथ दुई दिने सम्मेलनको शुक्रबार पूर्व राष्ट्रपति डा.रामवरण यादवले उद्घाटन गर्नुभयो ।
सम्मेलनमा पूर्व राष्ट्रपति यादवले तमु जाति आदिवासी जनजातिभित्र अग्रपंक्तिमा रहेको बताउँदै संसारमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल रहेको बताउनुभयो । ‘प्रकृतिको पूजा गर्दै, आफ्नो भाषा, संस्कृति पनि जोगाउँदै संसारमा आफ्नो पहिचान तमु समुदायले बनाएको छ ।’ पूर्व राष्ट्रपति यादवले भन्नुभयो ।
गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा व्यवसायी शेष घलेले तमुहरू एकताबद्ध भएर समृद्धिको यात्रा गर्नुपर्ने बताउनुभयो । संख्यामा भन्दा गुणका हिसावले तमु समुदाय देश तथा विदेशमा प्रभावशाली उपस्थिति रहेको र यसको निरन्तरताका लागि संसारभरका गुरुङहरू एकतामा बाँधिन आवश्यक रहेको उहाँको भनाइ छ ।
शुक्रबार र शनिबार हुने सम्मेलनमा ३७ देशका सात सय जना प्रतिनिधिको सहभागी रहेको तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले बताउनुभयो । सम्मेलनमा तमुको एकता, तमुको अस्तित्व, तमुको पहिचान र समृद्धि शीर्षकका सेसनहरूमा छलफल गरिने बताइएको छ । शनिबार ती विषयमा एक मत बनाएर घोषणापत्र जारी गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?