काठमाडौँ, असोज २७ गते । गृहमन्त्री रामबहादुर थापाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिनुभएको छ । आज गृहमन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरुसँगको बैठकमा गृहमन्त्री थापाले भ्रमणका लागि तयार पारिएको सुरक्षा कार्ययोजना प्रभावकारी भएको भन्दै यसले विश्वस्तरमै नेपालको सुरक्षा राम्रो रहेको सन्देश प्रवाह भएको बताउनुभयो ।
उहाँले सरकारले दिएका जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढङ्गले निभाएको भन्दै नीति निर्माणमा संलग्नदेखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले भ्रमण सफल भएको टिप्पणी गर्नुभयो । चिनियाँ पक्षले समेत भ्रमणका क्रममा नेपालले गरेको सुरक्षा व्यवस्थाको प्रशंसा गरेको गृहमन्त्री थापाले बैठकमा जानकारी गराउनुभयो ।
गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोह¥याउँदै आगामी दिनमा पनि नेपालबाट चीन विरोधी कुनै गतिविधि नहोस् भनेर सतर्क रहन सुरक्षा निकायका प्रतिनिधिहरुलाई निर्देशन दिनुभयो । उहाँले चिनियाँ राष्ट्रपति सीको भ्रमण ऐतिहासिक भएको तथा नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा यो भ्रमण कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।
बैठकमा गृहसचिव प्रेमकुमार राईले सफल सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मीहरुलाई बधाई तथा धन्यवाद दिँदै यो अनुभवले आगामी दिनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की, नेपाली सेनाका उपरथी शशिचन्द्रबहादुर सिंहलगायत सहभागी हुनुहन्थ्यो ।