प्रकृति अधिकारी
काठमाडौँ, असोज २८ गते । नेपालमा पहिलो पटक शवको चिरफार कहिले गरिएको थियो भन्ने बारेमा सबैलाई थाहा नहुन सक्छ । अझ प्रधानमन्त्रीकै उपस्थितिमा चिरफार गरिएको कुरा धेरैका लागि आश्चर्यको विषय हुनसक्छ ।
वीरशमशेरकै पालामा १९५७ साल असारमा सुन्धारामा मेडिकल स्कुल स्थापना भएको थियो । त्यही मेडिकल स्कुलमा पहिलो एक समारोहबीच शव चिरफार गरिएको थियो । त्यसलाई अवलोकन गर्नका लागि प्रधानमन्त्री देवशमशेर स्वयं पुग्नुभएको थियो । त्यो बेलाको गोरखापत्रमा छापिएको समाचार अनुसार ११८ वर्षअघि अर्थात् १९५८ साल ज्येष्ठ वदि ४ रोज ३ मा मेडिकल स्कुलमा अपराह्न ४ बजे मुर्दा चिरफार गरिएको थियो । त्यो दृश्य हेर्न उपत्यकाका तीन सहरका वैद्यहरूलाई पनि अनिवार्य उपस्थित गराइएको थियो ।
चिरफारका बारेमा गोरखापत्रले समाचार छापेको थियो, “मेडिकल स्कुलमा ४ बजे श्री ३ महाराजको सवारी भै डाक्टर राजकृष्ण मुकुर्जिले डिसेक्सन अर्थात् मूर्दा चिरफार गरेको । अघि अघि नेपालमा डिसेक्सन हुँदैन थ्यो । वैद्य नाउहले हेर्न जान्नु बहुतै दर्कार हुनाले वैद्य नाउहरूले हेर्न पाया लियाकत बढ्ने सारा दुनिञालाई फाइदा हुन्थे । मानिसको सरीरमा यो यो जंत्र यस् यस् ठाउँमा रहेछ भनि देखि अनुभव हुन्थे । देसोन्नति पनि हुन्थे । मेडिकल स्कुलको डाक्टर राजकृष्ण मुकुर्जि यस्एम्एस् लाई हुकुम बक्सेको हुनाले नीजले मुर्दा चिरी तपसिल्का जंत्र यो यो ठाँउमा यो यो जंत्र रहेछ भन्न्या आर्गन्स अर्थात् सरीर भित्रको जन्त्रहरूमा तपसिल्को जंत्रहरू मात्र सूक्ष्मसँग नजर्गराया ।”
पुरुष वा महिला, स्वदेशी वा विदेशी कसको लास थियो भन्ने थाहा हुनसक्दैन । समाचारको लेखोट हेर्दा त्यो चिरफार हेर्न गोरखापत्रका सम्पादक वा समाचारदाता पनि त्यहाँ पुगेको हुनसक्छन् । “तिन्सहर काठमाडौँ पाटन भादगाउँका वैद्य नाउहरूलाई उर्दी भयाको हुनाले निजहरूले पनि देखे” समाचारको पुछारमा तपसिल भनेर यस्तो लेखिएको थियो, “गिदी– यो ४ हिस्सा हुन्छ । मुटु फोेक्सो कलेजो फियो पाकस थलि सातपत्रे आन्द्रा मृगौला पिसाब रहने थैलो दिसा बाहिरिने आन्द्रा कोसनारी गिदी ढाक्ने पर्दा आन्द्रा ढाक्ने पर्दा मुटु ढाक्ने पर्दा फोक्सो ढाक्ने पर्दा ।”
त्यो स्कुल ‘डाक्टरी इलम’ सिक्नका लागि स्थापना भएको थियो । उपचार विधिका बारेमा अध्यापन गरिन्थ्यो, तर स्थापनाको एक वर्षपछि मात्र चिरफार थालियो । चिकित्साशास्त्र अध्ययनका लागि पल्टनका १० जवानलाई वर्षको २४ देखि ४८ रुपियाँ थप रकम दिने व्यवस्था थियो ।
वीर अस्पतालको भवन १९४४ सालमा शिलान्यास गरी १९४७ साल असार १५ गतेबाट अस्पताल सञ्चालनमा ल्याइयो । चिकित्सक डा. रजनीकान्त गाँगुली, कम्पाउन्डर अनुदानचरण बन्दोपाध्याय, गेहेन्द्रनाथ चटर्जी, ड्रेसर धनसिंह भारतबाट झिकाइएको थियो । चिकित्सकले वार्षिक एक हजार ८० रुपियाँ, कम्पाउन्डरले तीन सय ६० रुपियाँ र ड्रेसरले तीन सय रुपियाँ पाउँथे ।
वीर अस्पतालको उद्घाटन गर्दा प्रधान सेनापति रहेका देवशमशेरले ‘हामी भाग्यमानी रह्या छौँ’ भनी भाषण गर्नुभएको थियो, “आफ्ना रैती दुनिञाहरूको औषधि बेगर दुःख पायाको विचार नराख्याको हुनाले अघि अघिमा मुख्त्यारहरूले हस्पितल न राख्याका हुन अहिले श्री ३ महाराजका उदये भयापछि आफ्ना रैति दुनिञाहरूले औषधि नपाई साह्रै दुःख पाउँदा रहेछ भन्या जाहेर हुँदा यो हस्पितल राखी बक्सेको हो ।” भाषणका क्रममा बिरामी १५ जनालाई खानपिनसहितको उपचारको व्यवस्था गरिएको पनि बताइएको थियो ।
पछि सिभिल मेडिकल स्कुल स्थापना भयो । त्यो हेल्थ असिस्टेन्ट ट्रेनिङ स्कुलका रूपमा परिणत भयो र नयाँ शिक्षासँगै त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानमा समाहित भयो । वटु नौमुगका ८७ वर्षीय गोविन्दनाथ पाण्डेले मेडिकल स्कुल कुन भवनमा थियो भन्ने आफूहरूलाई थाहा नभएको बताउँदै भन्नुभयो, “हाल ट्रमा सेन्टर भएको स्थानमा रहेको पुरानो भवनमा कम्पाउन्डरहरूलाई पढाउने गरिन्थ्यो ।”
वि.सं. १९९९ मा आइपुग्दा शल्यक्रियादेखि पोस्टमार्टमसम्मका सुविधा वीर अस्पतालमा भइसकेको थियो । १९९९ साल कात्तिक १४ गतेको गोरखापत्रमा प्रकाशित समाचारअनुसार किलागलकी एक महिलालाई साँढेले हानेर भुँडी छेडिदिएको थियो र भोलिपल्ट उनलाई अस्पताल पु¥याइएपछि अस्पतालका चिकित्सकले टाँका सिलाइ दिएका थिए । त्यसै वर्ष मङ्सिर १ गते नक्सालका नारायणप्रसादका छोरा कृष्णप्रसाद झुण्डिएर आत्महत्या गरेपछि गोरखापत्रले ‘लास जाँच गर्न अस्पताल ल्याएको छ’ भनेर समाचार छाप्नुबाट त्यतिबेलासम्म पोस्टमार्टम गर्ने प्रचलन पुरानो भइसकेको थियो भन्न सकिन्छ ।
वीर अस्पतालको ठीक पछाडिको क्षेत्रमा आफ्नो बाल्यकाल गुजार्नुभएका नेपाल सरकारका पूर्व सहसचिव प्रकाशराज पाण्डेले हाल वीर अस्पताल रहेको स्थान झाडी भएको खाली ठाउँ रहेको स्मरण गर्नुभयो । उत्तरतर्फ हाल विशाल भवन निर्माण भइरहेको स्थानमा नै वीर शमशेरले उद्घाटन गर्नुभएको अस्पताल भवन थियो । “हाल नयाँ भवन बनिरहेको ठाउँमा वीर अस्पताल थियो”, उहाँले स्मरण गर्नुभयो, “सुरुमा पस्नासाथ औषधि दिने घर थियो । बहिरङ्ग विभाग भएको भवनमा पछि नर्सिङ क्याम्पस चलाइएको थियो । वीर मेल र वीर फिमेल दुईवटा अस्पताल थिए । मुर्दा घर पनि पछाडि थियो ।”
त्यस क्रममा २०१८ साल असार २४ गतेको गोरखापत्रमा छापिएको समाचारले वीर अस्पताल क्षेत्रका बारेमा थप जानकारी हासिल हुनसक्दछ, “अस्ति स्थानीय वीर अस्पतालमा ढल खन्दा एउटा शिवलिङ फेला परेको समाचार छ । स्वयं उत्पन्न भएका महादेवलाई आसपासका जनताले फूलमाला, अवीर, धूप, दीप, भेटी आदिले पूजा गरे । शिवलिङ्ग निकै ठूलो र यसको जलहरि झण्डै पशुपतिनाथको जत्रो छ । शिवलिङ्गको समीपमा पानीको मुख पनि देखा परेको छ । वीर अस्पताल बनेको स्थानमा उहिले पोखरी थियो । यो ११ सय वर्षअघि भएको अनुमानले उक्त शिवलिङ्ग पनि हजार वर्षभन्दा पुरानो हुन सक्छ ।”