logo
२०८१ मंसिर १० सोमवार



सुर्खेत–हिल्सा सडक समयमै बन्ने

राष्ट्रिय |


सुर्खेत–हिल्सा सडक समयमै बन्ने


ललित बसेल

सुर्खेत,कात्तिक १ गते । चीनका राष्ट्रपति सी चिनफिङको दुईदिने नेपाल भ्रमणका बेला कर्णालीको जीवनमार्गको रूपमा लिइने कर्णाली करिडोर (सुर्खेत–हिल्सा फास्ट ट्र्याक)लाई समेटेकोमा कर्णाली प्रदेश सरकारले खुसी व्यक्त गरेको छ । कोसी, गण्डकीसंँगै कर्णाली करिडोरलाई पनि नेपाल चीनबीच भएको संयुक्त वक्तव्यको ५ नं. बुँदामा समेटेपछि कर्णाली करिडोर समयमै बन्नेमा प्रदेश सरकार आशावादी भएको छ ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णालीको जीवनमार्गका रूपमा चिनिएको सुर्खेत–हिल्सा सडक चीन सरकारले बनाइदिने भएपछि खुसी प्रकट गर्नुभयो । दक्षिणको भारत र उत्तरको चीन जोड्ने सो सडक बनाउन चीन सरकारले नीतिगत रूपमा स्वीकार गरेको र त्यसका लागि कर्णाली प्रदेश सरकारले चीन सरकार र नेपाल सरकारलाई धन्यवाद दिएको उहाँले बताउनुभयो ।
सुरुमा जमुनाहा–हिल्सा सडक भनिए पनि कोहलपुर–सुर्खेत सडक स्तरोन्नति गर्ने काम भइरहेकाले अब सुर्खेतको सुब्बा कुनालाई ‘जिरो प्वाइन्ट’ मानेर हिल्सासम्म कर्णाली करिडोर पु¥याइने छ । दुवै देशलाई जोड्ने सडक सुर्खेत–हिल्सा भएकाले कर्णाली प्रदेशको आवश्यकता र चीन सरकारको प्राथमिकता पनि भएको मन्त्री ज्वालाले बताउनुभयो ।
उक्त सडकको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)समेत तयार भइसकेको छ । प्रदेश सरकार स्थापना भएसँगै प्राथमिकतामा राखेर सुरुमा जमुनाहा–हिल्सा सडक नामकरण गरी प्रदेश सरकारले सङ्घीय अर्थ मन्त्रालय र चीनको चाइन रेल्वे कम्पनीको चाइना इन्जिनियरिङ कम्पनीले डीपीआरसमेत तयार पारिसकेको छ ।
लागत ६४ अर्ब
सुर्खेत–हिल्सा फास्ट ट्र्याकको लम्बाइ ४०३ किलोमिटर छ । वीरेन्द्रनगरको सुब्बाकुनादेखि हुम्लाको हिल्सासम्म कुल ४०३ किलोमिटर लम्बाइ रहने छ । निर्माण लागत ६४ अर्ब रुपियाँ रहेको डीपीआरमा उल्लेख छ । सुरुमा बाँकेको जमुनाहाबाट जिरो प्वाइन्ट मानेर डीपीआर तयार गरिए पनि अब प्रदेश राजधानी सुर्खेतवीरेन्द्रनगरको सुब्बाकुनालाई जिरो प्वाइन्ट मानेर ४०३ किलोमिटर लम्बाइ तय गरिएको मन्त्री ज्वालाले बताउनुभयो ।
सुर्खेत–हिल्सा फास्ट ट्र्याकलाई दुईवटा मोडलमा निर्माण गर्न सकिने छ । पहिलो चीन सरकारको पूर्ण लगानी अर्थात् अनुदानमा र दोस्रो कम्पनीले ईपीएफ मोडेलमा अर्थात् सस्तोमा ऋण लिएर तिर्ने सर्तमा सो सडक निर्माण गर्न सक्ने छ । प्रदेश सरकारले दोस्रो मोडेलका रूपमा काम गर्न सकिने चाहना राखेको मन्त्री ज्वालाले बताउनुभयो ।
प्रदेशको जीवनमार्ग
सुर्खेत–हिल्सा सडकलाई कर्णालीको जीवनमार्गका रूपमा लिइएको छ । दक्षिण भारततर्फ सिमाना नछोएको कर्णाली प्रदेशलाई उक्त सडक निर्माण हुन सकेमा भारत र उत्तर चीनलाई छुने छ । त्रिदेशीय सडक हुने भएकाले यसलाई जीवनमार्गका रूपमा लिइएको छ । यो सडक निर्माण भए चीन, नेपाल र भारतबीच व्यापारिक र पर्यटकीय सम्बन्धमा टेवा पुग्ने छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?