logo
२०८१ मंसिर ८ शनिवार



विप्लवका नेताहरुमाथि राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता

राष्ट्रिय |


विप्लवका नेताहरुमाथि राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता


टीकाबहादुर बस्नेत
दाङ कार्तिक १ गते । नेकपा विप्लव समूहका नेता कार्यकर्तामाथि संगठित र राज्य बिरुद्धको अपराधमा मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार दाङ देउखुरी जिल्ला अदातलमा मुद्दा दर्ता गरिएको जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले नियन्त्रणमा लिएको झण्डै ३६ घण्टापछि विप्लव समूहका नेता तथा कार्यकर्ताहरुमाथि संगठित र राज्य बिरुद्धको अपराधमा मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो ।

कार्यालयले हातहतियार खरखजानासहित पक्राउ परेका विप्लवका नेता तथा कार्यकर्ताहरुको विवरण सार्वजनिक गरेको छ ।

नेपाल–भारत सीमा नाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेठाखोलास्थित ज्ञानेन्द्र विक्रम रानाको घरमा बैठक बसिरहेको बेला विप्लव समूहका २१ जना नेता कार्यकर्ताहरुलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार विप्लव नेकपाका मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द विरजङ्ग, केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इञ्चार्ज केशबहादुर बाठा मगर सुवाससहित २१ जना नेता कार्यकर्ता रहेका छन् ।

पक्राउ परेका नेताहरुका साथबाट हतियारसहित महत्वपूर्ण दस्तावेज समेत फेला पारेको प्रहरी प्रवक्ता शाहले जानकारी दिनुभयो । प्रहरीले उनीहरुको साथबाट मेड इन युएस लेखिएको पेस्तोल २ थान, त्यसको म्यागजिन २ थान, कटुवा पेस्तोल ४ थान, ३०३ राइफलको गोली ४ राउण्ड, सुतली बम १ थान बरामद गरेको शाहले जानकारी दिनुभयो ।

त्यसैगरी उनीहरुबाट ३ लाख ८४ हजार ५ सय ३० रुपैया नगद, २४ थान मोवाइल, केन्द्रीय समितिको आठौं पूर्ण बैठकको राजनैतिक प्रस्ताव लेखिएको २५ पानाको ३ ठेली बरामद भएको प्रहरी प्रवक्ता शाहले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल कम्युनिष्ट पार्टीको परिपत्र र प्रेस विज्ञप्ति लेखिएको ४÷४ पानाको ६ ठेली, आर्थिक सहयोग गरिदिने भनि लेखिएको लेटर प्याड ३० पाना, नेपाल कम्युनिष्ट पार्टीको १ थान छाप बरामद भएको छ ।
विभिन्न राजनैतिक दर्शनका किताबहरु १३ थान, डायरी १६ थान, ग्लोवल आई.एम.ई. बैंकको चेक ४ थान र सामान बोक्ने झोला २१ थान बरामद भएको प्रवक्ता शाहले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?