logo
२०८१ मंसिर १० सोमवार



निर्वाचन प्रणालीमा सुधार गर: महिला राजनीतिकर्मी

राष्ट्रिय |


निर्वाचन प्रणालीमा सुधार गर: महिला राजनीतिकर्मी


सविता शर्मा
काठमाडौँ, कात्तिक ३ गते । महिला राजनीतिकर्मीहरुले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवाज उठाएका छन् । निर्वाचन प्रणालीका कारण महिला राजनीतिकर्मी स्थापित हुन नसक्ने अवस्था सिर्जना भएको भन्दै यसमा सुधार गर्नुपर्ने आवाज उठाइएको हो ।
आइतवार सञ्चारिका समूहले काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा महिला राजनीतिज्ञहरुले यस्तो आवाज उठाएका हुन् ।
संघीय संसद प्रतिनिधि सभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले संविधानबाट महिलाले प्राप्त गरेका अधिकारलाई स्थापित गराउन र संविधान, ऐन कानून कार्यान्वन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले समाजमा व्याप्त पितृसत्तात्मक सोँच नबलिँदासम्म सबै क्षेत्रमा महिला अगाडि बढ्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।
यसैगरी उहाँले महिला राजनीतिकर्मी स्थापित हुनका लागि सञ्चारमाध्यमले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सञ्चारकर्मीले राजनीतिक क्षेत्रका महिलालाई कसरी समेट्ने भन्नेमा ध्यान दिनुपर्ने र राजनीतिकर्मीले पनि आफ्नो क्षमता विकास गरेर सशक्तरुपमा प्रस्तुत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
संसदको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णाकुमारी सुवेदीले निर्वाचन प्रणाली बदल्नुपर्ने धारणा व्यक्त गर्दै निर्णायक तहमा महिला पुग्न सक्ने अवस्था सिर्जना गर्न सबै राजनीतिक दलका महिला एकजुट हुनुपर्ने बताउनुभयो ।
प्रदेश ३ का प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले महिलाका विषय सबैको साझा र राष्ट्रिय विषय हुन् भन्ने बुझाइको कमी भएको बताउनुभयो । उहाँले भन्नुभयो–“व्यवस्था परिवर्तन भएपनि पितृसत्ताको व्यवस्था परिवर्तन भएको छैन, राजनीतिक व्यवस्था मात्र परिवर्तन भएर पुग्दैन ।” उहाँले अहिले महिला आन्दोलन र संगठन अत्यन्त कमजोर भइरहेको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो । महिलाविरुद्धका सोँचको विरुद्ध लड्न आह्वान गर्दै उहाँले राजनीतिकर्मी सशक्त बन्नुपर्ने बताउनुभयो ।
अखिल नेपाल महिला संघका अध्यक्ष अमृता थापाले महिला नेतालाई सशक्तरुपमा स्थापित गर्नका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने, सामूहिकरुपमा मुद्दालाई स्थापित गर्ने प्रयत्न गर्नुपर्ने र व्यक्तिगतरुपमा पनि आफू सशक्त हुने प्रयास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले राजनीतिमा लाग्नेहरुलाई सकारात्मक वातावरणमा अगाडि बढ्नका लागि सञ्चार क्षेत्रबाट पनि सहयोग हुनुपर्ने बताउनुभयो ।
नेता हिसिला यमीले महिला राजनीतिकर्मीले राजनीतिमा उच्च योगदान गरिरहेको भए पनि सञ्चारक्षेत्रले समेत महिलाका विषयमा जोडेर मात्र आफूहरुलाई बुझ्ने गरिएको तीतो अनुभव बाड्नुभयो । उहाँले भन्नुभयो–“राजनीतिक प्रश्न नसोधेर महिलासँग सीमित गरेर मात्र सोधिन्छ ।”

नेपाली काङ्ग्रेसबाट राष्ट्रिय सभाका सांसद सरीता प्रसाईले महिलालाई अगाडि बढ्न सहयोग गर्न आग्रह गर्दै भन्नुभयो–“असाध्यै अप्ठेरो परिस्थिति र संघर्षबाट हामी आएका हौँ ।”
नेता माया ज्ञवालीले सामान्य अवस्थाका महिलाहरुका विषयलाई पनि सञ्चार माध्यमले उचितरुपमा समेट्नुपर्नेमा उल्टै खिल्ली उडाउने काम भइरहेको भन्दै दुःख व्यक्त गर्नुभयो ।
महिलाहरुले अन्तरपार्टी सञ्जालका माध्यमबाट सशक्तरुपमा आवाज उठाउन सकेको विगत स्मरण गर्दै पुनः यस्ता प्रयासलाई व्युझाउनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए । यसैगरी महिला र महिलाका विषयलाई सञ्चारमाध्यमहरुले प्राथमिकता दिन नसकेको पनि महिला राजनीतिज्ञहरुको गुनासो गरेका थिए ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?