logo
२०८१ मंसिर १० सोमवार



वैज्ञानिकलाई स्वदेश फर्कन आह्वान

राष्ट्रिय |


वैज्ञानिकलाई स्वदेश फर्कन आह्वान


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ५ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञान र प्रविधि क्षेत्रमा विदेशमा अध्ययन गरेका नेपाली वैज्ञानिकहरूलाई स्वदेश फर्कन आह्वान गर्नुभएको छ । उहाँले देशको समृद्धि र विकासका लागि युवा वैज्ञानिकको योगदान अर्थपूर्ण रहेको भन्दै यस्तो आह्वान गर्नुभएको हो ।
तीनदिने युवा वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय सम्मेलनको सोमबार राजधानीमा उद्घाटन गर्दै उहाँले नवीन आयाम आरम्भ गरेकोमा खुसी व्यक्त गर्नुभयो । नेपालमा पहिलो पटक युवा वैज्ञानिकको यस्तो सम्मेलन आयोजना गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा सोमबारबाट सम्मेलन सुरु भएको हो । उपराष्ट्रपति पुनले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनबाट नै समृद्धि सम्भव हुने स्पष्ट पार्नुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधि अन्तरसम्बन्धित रहेको भन्दै मुलुकले समृद्धिका लागि अत्यावश्यक भएको बताउनुभयो । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकमा सुशासन, विकास र समृद्धिका लागि विज्ञान र प्रविधिको उपयोग हुनुपर्ने बताउनुभयो ।
‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपाली तथा विदेशी युवा वैज्ञानिकको सीप र क्षमतालाई देश विकासमा उपयोग गर्ने उद्देश्यसहित युवा वैज्ञानिक सम्मेलन आयोजना गरिएको हो । स्वदेश तथा विदेशमा विज्ञान, प्रविधि र अन्वेषणमा काम गरेका नेपाली तथा विदेशी गरी तीन सय वैज्ञानिक सम्मेलनमा सहभागी भएका छन् ।
सम्मेलनमा मुख्य गरी स्वास्थ्य एवं औषधि, जल एवं ऊर्जा, खाद्य एवं कृषि, यातायात एवं पर्यटन, सूचना एवं सञ्चार प्रविधि, वातावरण, विपद् जोखिम न्यूनीकरण, मौलिक ज्ञान एवं प्रविधि, आधारभूत एवं व्यावहारिक विज्ञान, उदीयमान प्रविधि, स्वच्छ एवं हरित विज्ञान, अर्थशास्त्र तथा व्यवस्थापन, नीति तथा दर्शनशास्त्रसम्बन्धी प्रस्तुति भइरहेका छन् ।
विभिन्न विधामा गरी २६० वटा प्रस्तुति प्रस्तुत हुने त्यस सम्मेलनमा भारत, बेलायत, जापान, दक्षिण अफ्रिका, थाइल्यान्डका साथै गैरआवासीय नेपालीका तर्फबाट पनि युवा वैज्ञानिक सहभागी भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?