logo
२०८१ मंसिर ११ मंगलवार



स्मार्ट लाइसेन्स प्रिन्टको समस्या समाधान भएन

राष्ट्रिय |


स्मार्ट लाइसेन्स प्रिन्टको समस्या समाधान भएन



लक्ष्मण दर्नाल

काठमाडौँ, कात्तिक ९ गते । सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट गर्ने मासप्रिन्टरले पनि काम गर्न सकेन । हाल प्रिन्टर नै बन्द भएको छ । मागअनुसारको सवारी लाइसेन्स वितरणका लागि मासप्रिन्टर ल्याए पनि सञ्चालन हुन सकेको छैन । यातायात व्यवस्था विभागले तीन महिनाअघि नै मासप्रिन्टर ल्याएको थियो तर हालसम्म सञ्चालन गर्न नसक्दा लाइसेन्स प्राप्त गर्न बाँकी सङ्ख्या छ लाख पुगेको छ ।
विभागले ग्लोबल टेन्डर गरी एक घण्टामा ४५० प्रतिकार्ड प्रिन्ट गर्नसक्ने क्षमताको मासप्रिन्टर ल्याएको हो । दुई महिनाअघि सञ्चालनका लागि सेट गरिएको प्रिन्टर अहिलेसम्म चल्न सकेको छैन । ठेक्का पाएको मद्रास सेक्युरिटी प्रिन्टिङ प्रेसले प्राविधिक कारण देखाउँदै ढिलाइ गरिरहेको विभागले जनाएको छ । सफ्टवेयर अपलोड, एप्लिकेसन इन्स्टल र परीक्षण भन्दै ढिलाइ भइरहेको छ ।
काममा ढिलाइ भइरहेपछि मासप्रिन्टरबाट समस्याको समाधान होला भन्नेमा स्वयं विभागका अधिकारीहरू नै ढुक्क हुन सकिरहेका छैनन् । प्रेसले प्राविधिक कारण देखाउँदै ढिलाइ गरिरहेपछि विभागका अधिकारीहरू पनि हैरानीमा परेका छन् । विभागका प्रवक्ता तीर्थराज खनालले भन्नुभयो, १५÷२० दिनजति भयो सुरु गर्न लागेको काम हुन सकेको छैन । अहिले त दुई÷तीन दिन भयो बन्द छ, यसले पनि समस्याको समाधान नगर्ला जस्तो छ, थप अर्को मासप्रिन्टरका लागि पैसा व्यवस्थापन गरेको छ । टेन्डर गरिसकेको छैन ।
लाइसेन्स प्रिन्ट गर्ने काम बाँकी हुन थालेको २०७२ सालमा स्मार्ट लाइसेन्स कार्ड लागू गरेपछि हो । विगत चार वर्षदेखि विभागले मागअनुसारको लाइसेन्स आपूर्ति गर्न सकेको छैन । विभागका अनुसार हाल दैनिक नौ हजारप्रति लाइसेन्सको माग छ तर विभागले दैनिक तीन हजारप्रतिसम्म प्रिन्ट गर्न सक्छ । जसका कारण प्रिन्ट गर्र्न बाँकी लाइसेन्सको सङ्ख्या दैनिक थपिइरहेको छ । हाल छ लाख लाइसेन्स प्रिन्ट गर्न बाँकी छ । परीक्षा पास गरेका सेवाग्राहीले डेढ वर्षसम्म लाइसेन्स पाउन सकेका छैनन् ।
तर विभागका आईटी निर्देशक त्रिचन्द्र शाहले भने मासप्रिन्टरको परीक्षण भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, सफ्टवेयर अपलोड, एप्लिकेसन इन्स्टल र परीक्षण भइरहेको छ, काम सुरु भएकै छैन तर पूर्ण रूपमा कहिले चालू हुन्छ थाहा छैन, भन्न सक्ने अवस्था छैन । हालसम्म झन्डै नौ लाख जनाले स्मार्ट लाइसेन्स पाएका छन् । नेपालमा करिब ३० लाखभन्दा बढी लाइसेन्सवाहक छन् । विभागसँग सातवटा प्रिन्ट मेसिन छन् तर जति मेसिन थपे पनि समस्याको समाधान भएको छैन ।

निजी कम्पनीलाई दिँदा पनि काम भएको थिएन
बाँकी रहेका लाइसेन्स प्रिन्ट गर्न मालिका इन कार्पोरेटलाई दिएको थियो । निजी कम्पनीलाई दिने काम मन्त्रिपरिषद्को निर्णयबाटै भएको थियो तर त्यसले पनि काम सम्पन्न गर्न सकेन । तोकिएभन्दा दोब्बर समय लगाए पनि बाँकी रहेका सबै लाइसेन्स प्रिन्ट गर्न सकेन । छ लाख लाइसेन्स प्रिन्ट गर्नुपर्नेमा तीन लाख ६० हजार मात्र प्रिन्ट ग¥यो । काममा ढिलाइ भएको भन्दै गत पुस २८ गते विभागले मालिकासँगको सम्झौता रद्द गरेको थियो । अब प्रदेश सरकारले लाइसेन्सको काम गर्ने भनेर कम्पनीसँगको सम्झौता रद्द भएको विभागले जनाएको थियो ।
लाइसेन्स वितरण तथा नवीकरणको काम प्रदेश सरकारको हो । प्रदेश सरकारहरूले विभागसँग गत वर्ष नै हामीले गर्छौं भनेका थिए तर प्रदेशमा भौतिक संरचनाहरू र दक्ष जनशक्ति नभएकाले काम सुरु हुन सकेको छैन । अहिलेसम्म कुनै पनि प्रदेशले लाइसेन्सको काम सुरु नगरेको विभागले जनाएको छ ।

आवश्यकलाई छिटो दिने व्यवस्था
विभागले ट्रायल पास गरी लामो समय लाइसेन्स लिन नपाएकालाई तत्काल आवश्यक परेको खण्डमा एकै दिनमा प्रिन्ट गरिदिने व्यवस्था गरेको छ । वैदेशिक रोजगारीमा जाने, शान्ति मिसनमा जाने वा अत्यावश्यक भनेर सम्बन्धित कार्यालयले तोक लगाइदिएमा एक दिनमै लाइसेन्स प्रिन्ट गर्ने व्यवस्था गरिएको छ । हाल विभागमा आवश्यक प¥यो भनेर लाइसेन्स लिन आउनेको भीड बढेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?