logo
२०८१ मंसिर ११ मंगलवार



हरायो उपत्यकालाई ‘मेट्रोसिटी’ बनाउने अवधारणा

राष्ट्रिय |


हरायो उपत्यकालाई ‘मेट्रोसिटी’ बनाउने अवधारणा



नगेन्द्र सापकोटा

काठमाडौँ, कात्तिक १५ गते । काठमाडौँ उपत्यकाको एकीकृत विकासका लागि प्रस्तावित ‘राजधानी उपत्यका सहर’ (मेट्रोसिटी) सुझाव गरिए पनि सो निर्माण कार्य भने अगाडि बढ्न सकेको छैन । उपत्यकाको एकीकृत विकासका लागि यहाँका १८ वटा नगरपालिकाका प्रमुखहरू रहेको ‘उपत्यका मेयर फोरम’ निर्माण गरिएको छ । पनि उक्त फोरमको ध्यान मेट्रोसिटी निर्माणतर्फ जान सकेको छैन ।
तत्कालीन स्थानीय तह पुनःसंरचना आयोगले काठमाडाँैं उपत्यकाको एकीकृत विकास र व्यवस्थित सहर निर्माणका लागि मेट्रोसिटी निर्माण गर्न सरकारलाई सुझाव दिएको थियो ।
तत्कालीन स्थानीय तह पुनःसंरचना आयोगका सदस्य सुनीलरञ्जन सिंहले काठमाडौँ उपत्यकाका १८ वटै नगरपालिकाको प्राकृतिक, सांस्कृतिक, भौगोलिक अवस्था समान भएकाले उपत्यकाको एकीकृत विकासका लागि मेट्रोसिटी निर्माण गर्न आयोगले सरकारलाई प्रस्ताव गरेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “हाल उपत्यकामा भएका नगरपालिकाको भूगोल साना भएकाले एकीकृत विकास गरी अन्तर्राष्ट्रियस्तरको सहर निर्माण गर्न मेट्रोसिटी आवश्यक छ । ”
सिंहका अनुसार उपत्यकावासीलाई महानगरस्तरीय सेवा सुविधा प्रदान, विकासका पूर्वाधार निर्माण, स्थानीय साधन र स्रोतको सदुपयोग, अन्तरनगरपालिका योजना निर्माण र वैदेशिक लगानी आर्कषित गर्न राजधानीलाई मेट्रोसिटी निर्माण गर्नुपर्छ । त्यस्तै अनियन्त्रित सहरीकरणको व्यवस्थापन, अन्तर्राष्ट्रियस्तरको खेल मैदान, रङ्गशाला, विमानस्थल, निर्माणका लागि राजधानी मेट्रोसिटी आवश्यक छ । “एउटै नगरपालिकाले उपत्यकाको एकीकृत विकास सम्भव छैन”, उहाँले भन्नुभयो, “काठमाडौँ र ललितपुर महानगरबाहेकका अन्य नगरपालिकामा प्रशस्तै सार्वजनिक जमिन र खुला क्षेत्र छन्, तिनको उचित सदुपयोग गर्न पनि मेट्रोसिटी निर्माण गर्नु आवश्यक छ । ”
हाल काठमाडौंँमा महानगरसहित ११, ललितपुरमा महानगरसहित तीन र भक्तपुरका चारवटा नगरपालिका छन्् । मेट्रोसिटी निर्माणका लागि संविधान र स्थानीय सरकार सञ्चालन ऐनले आपसमा नगरपालिका मर्ज गर्ने बाटो खुला गरेकाले उपत्यकालाई मेट्रोसिटी निर्माण गर्न कुनै कानुनी समस्या छैन ।
उपत्यका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले तत्कालीन पुनःसंरचना आयोगले सरकारलाई सिफारिस गरेको उपत्यकाका सबै नगरपालिकालाई मेट्रोसिटी निर्माण गर्ने कार्यको प्रक्रिया फोरम अगाडि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, “उपत्यकाको एकीकृत विकास गर्न मेट्रोसिटी आवश्यक भएको फोरमले महसुस गरेको छ र अहिले उपत्यका मेयर फोरमले मेट्रोसिटी निर्माणका लागि विज्ञहरूसँग छलफल गरिरहेको छ । ”
सङ्घीय राज्य भएका अधिकांश देशमा सङ्घीय र प्रादेशिक राजधानीबीच समन्वय र सहकार्य गर्न मेट्रोसिटी निर्माण
भएकाले काठमाडौँ उपत्यका पनि मेट्रोसिटी निर्माण आवश्यक भएको सङ्घीय
मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
सङ्घीय राज्य भएको मुलुक, अमेरिका, भारत, अर्जेन्टिना, जापान, फिलिपिन्सलगायतका देशमा राजधानी सहरको व्यवस्थापन गर्न मेट्रोसिटी निर्माण गरिएको छ । नेपाल नगरपालिका सङ्घका कार्यकारी सचिव कलानिधि देवकोटाले उपत्यकाको एकीकृत विकासका लागि मेट्रोसिटीको विकल्प नभएको बताउनुभयो ।
मेट्रोसिटी सञ्चालनका लागि उपत्यकाका तीन जिल्लाका नगरपालिका प्रमुखहरू रहेका मेट्रो परिषद् निर्माण गरी उक्त परिषद्ले मेट्रोसिटीको नीति निर्माण तथा यसको कार्यान्वयन गर्न उहाँले सुझाव दिनुभयो । उपत्यकाको एकीकृत विकासका लागि मेट्रोसिटी निर्माण गर्न अहिले उपयुक्त वातावारण बनेकाले यसलाई अगाडि बढाउन उहाँले उपत्यका मेयर फोरलाई आग्रह गर्नुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?