logo
२०८१ मंसिर ११ मंगलवार



कांग्रेसमा १० नेतालाई उम्मेदवार छान्ने अधिकार

राष्ट्रिय |


कांग्रेसमा १० नेतालाई उम्मेदवार छान्ने अधिकार


गोरखापत्र समाचारदाता

काठमाडौं, कात्तिक १५ गते । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले आगामी मङ्सिर १४ गते हुने स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्ने जिम्मा केन्द्रीय पदाधिकारीलाई दिएको छ ।

यो निर्णयसँगै उम्मेदवार छनोट गर्ने जिम्मा १० जना नेताको हातमा आएको छ । कांग्रेसमा टिकट वितरण गर्ने अधिकार संसदीय बोर्डलाई भए पनि हाल बोर्ड गठन नभएकाले केन्द्रीय पदाधिकारीबाट उम्मेदवारको अन्तिम टुङ्गो लाग्ने भएको छ ।

बैठकले उपनिर्वाचनको कार्य सम्पादन गर्न पार्टीका पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ । केन्द्रीय पदाधिकारीको बैठकले उपनिर्वाचनका लागि उम्मेदवारको निर्णय गरी पार्टीको तर्फबाट उम्मेदवारको घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिल गर्ने छ ।

उम्मेदवार छनौट गर्ने जिम्मा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री डा. प्रकाशशरण महत र प्रवक्ता विश्वप्रकाश शर्माले पाउनुभएको छ ।
शुक्रबारको बैठकमा सभापति देउवाले उम्मेदवार छनौटका लागि केन्द्रीय पदाधिकारीसहित दुईजना नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला रहनु हुने प्रस्ताव पेश गर्नुभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?