logo
२०८१ मंसिर ११ मंगलवार



अदालतमा महराको पाँच घन्टा लामो बयान

राष्ट्रिय |


अदालतमा महराको पाँच घन्टा लामो बयान



नारायण काफ्ले

काठमाडौँ, कात्तिक १६ गते । निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूविरुद्ध पेस भएको अभियोगबारे काठमाडौँ जिल्ला अदालतमा शुक्रबार पाँच घन्टा लामो बयान दिनुभएको छ । यसअघि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा दिएकै बयानको सेरोफोरमा महराले पाँच घन्टाभन्दा लामो बयान दिनुभएको हो ।
बयानका क्रममा उहाँले इजलासका ३० भन्दा बढी प्रश्नको सामना गर्नुभयो । बुँदागत रूपमा आफूले लिएर गएको सामग्रीमा आधारित भई महराले बयान दिनुभएको थियो । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा उहाँको बयान
भएको थियो ।
बन्द इजलासमा शुक्रबार बयान प्रारम्भ गरिएको थियो । महराले आफूमाथिको अभियोगमा पूर्ण इन्कारी बयान दिनुभएको छ । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले बयानको कार्य सकिए पनि थुनछेक बहसको प्रक्रिया बाँकी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बयानको क्रम सकिएको छ । थुनछेक बहस लगायतका काम बाँकी छन् । आइतबार पुनः उपस्थित गराउने गरी फिर्ता पठाइएको छ ।”
बयानमा महराले आफूमाथिको अभियोग पूर्णतया अस्वीकार गर्नुभएको छ । आफूमाथि आरोप लगाउने पीडित महिलाले पछिल्लोपटक सार्वजनिक सञ्चारमाध्यममा दिएका अन्तर्वार्ताका विषयलाई पनि महराले बयानमा समेट्नुभएको छ । दुई अनलाइन सञ्चारमाध्यममा आएका भिडियो अन्तर्वार्तालाई जानकारीमा लिन महराले इजलासमा स्मरण गराउनुभएको छ ।
पीडित महिलाको कोठामा घटना भएको दिन आफू नपुगेको दाबी बयानमा महराले गर्नुभएको छ । आफूसँग पुरानो चिनजान रहेको भने उहाँले बयानमा स्वीकार गर्नुभएको छ । घटना भएका दिन सुविधानगरस्थित महिलाको निवासबाहिर पुगे पनि टेलिफोन सम्पर्क नभएकाले कोठामा नपुगेको दाबी बयानमा महराले गर्नुभएको छ ।
घटनास्थलबाट बरामद गरिएको जुत्ताको तलुवा, चस्मा आफ्नो नभएको र आफूलाई फसाउन सिर्जना गरिएको प्रमाण भएको महराको दाबी छ । सार्वजनिक सञ्चारमाध्यममा आफूले पीडित महिलालाई कुटपिट र करणी प्रयास गरेको भनेर आएको भिडियोहरू सुनियोजित भएको दाबी महराले बयानमा गर्नुभएको छ । पीडित महिलाको कोठामा भेटिएको भनिएको रक्सी आफूले नलगेको र हार्ड ड्रिङ्क्स आफूले नगर्ने पनि महराको दाबी छ ।

के छ अभियोग दाबी ?
महराले बयानमा अभियोग पूर्ण इन्कार गर्नुभए पनि अभियोगमा भने मुख्य चार प्रकृतिका प्रमाणले घटना पुष्टि हुने दाबी गरिएको छ । घटना भएको दिन प्रहरीले पीडित महिलासँग गरेको भिडियो संवाद, घटनास्थलबाट सङ्कलन गरिएका सबुतको परीक्षण रिपोर्ट, महरा
र पीडित महिलाको टेलिफोन संवाद र एसएमएस तथा साक्षी बयानलाई मुख्य प्रमाणका रूपमा पेस गरिएको छ ।
अभियोग दाबीअनुसार घटनाको दिन राति पीडित महिलाले प्रहरीसामु समेत महराले जबर्जस्ती करणीको प्रयास र कुटपिट गरेको बताउनुभएको थियो । प्रहरीले प्रमाणका रूपमा इजलाससमक्ष पेस गरेको छ । यस्तै घटनास्थलबाट प्राप्त भएको रक्सी, चस्मा तथा जुत्ताको तलुवाको परीक्षण प्रतिवेदनलाई पनि प्रहरीले प्रमाणका रूपमा पेस गरेको छ । प्रहरी दाबीअनुसार घटनास्थलबाट बरामद भएको चस्मा र महराले प्रयोग गर्नुभएको चस्माको पावर मिलेको छ । फिङ्गरप्रिन्टको नमुना भने मिलेको छैन ।
यस्तै अभियोगपत्रमा महराले पीडित महिलालाई घटना बिर्सन गरेको आग्रहको एसएमएस, लगातारको टेलिफोन संवाद लगायतले पनि घटना पुष्टि गर्ने दाबी प्रहरीको छ । घटनाको भोलिपल्ट महराले गर्नुभएको टेलिफोन संवादसमेत रेकर्डमा रहेको अभियोगपत्रमा उल्लेख छ ।
यस्तै साक्षी बयान र कागजलाई प्रमाणका रूपमा पेस गरिएको छ । घटनापछि पहिलो भिडियो सार्वजनिक गर्ने पत्रकार अजयबाबु शिवाकोटीको कागज, सांसद उमा रेग्मीको कागज पनि अभियोगपत्रमा समेटिएको छ । महराको सुरक्षामा खटिएका सुरक्षाकर्मीसँगको बयानलाई पनि अभियोगपत्रमा समेटिएको छ ।
अदालतले अनुमति दिए पनि महराको डीएनए परीक्षण भने भएको छैन । जिल्ला अदालतले नमुना दिन आदेश गरेको थियो । यस्तै पोलिग्राफ टेस्ट स्वास्थ्यका कारण महराले अस्वीकार गर्नुभएको छ । महराको मोबाइल फोनको परीक्षण गर्न प्रहरी असफल भएको छ ।
प्रहरीले बिहीबार महरामाथि अभियोगपत्र दर्ता गरेको हो । शुक्रबार बयान सकिएको छ । आइतबार थुनछेक बहस हुनेछ । थुनछेकपछि अदालतले पुर्पक्षका लागि थुनामा राख्ने वा रिहा गर्ने आदेश गर्नेछ । थुनछेकको प्रक्रिया जारी रहेकाले महरालाई शुक्रबार पनि न्यायिक हिरासतमा नै पठाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?