नेत्र शाही
खलङ्गा कात्तिक १७ गते । जुम्लामा कस्तुरीको विणासहित दुईजना पक्राउ परेका छन् । विणासहित जुम्लाको पातारासी गाउँपालिकाको लाम्रीबाट दुईजनालाई शनिबार साँढे ४ बजे पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले कस्तुरीको विणासहित विशेष सूचनाको आधारमा जुम्ला पातारासी गाउँपालिका ४ का जोगबहादुर बुढा र भक्तबहादुर बुढालाई पक्राउ गरिएको बताउनुभयो ।
उहाँले जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक राजेन्द्र चन्दको नेतृत्वमा गएको टोलीले पक्राउ गरिएको जनाउनुभयो ।
पक्राउ परेका दुबै जनालाई पातारासीबाट सदरमुकाम जिप्रकामा अनुसन्धान भइरहेको र आवश्यक प्रमाण सहित जिल्ला वन कार्यालयमा अनुसन्धानका लागि पठाइने प्रहरीले जनाएको छ । तर आफन्तले फसाईएको प्रतिक्रिया दिएका छन् ।
वैशाखको अन्तिममा यार्सा टिप्न गएको समयमा वनमै हिउँ पहिरोले कस्तुरी मरेको भेटाएको र अन्जानमा जानकारी नपाई कस्तुरीको विणा घरमै राखेको बेला पक्राउ परेको आफन्तहरुले दाबी गरेका छन् ।
उनीहरुलाई वन्यजन्तु संरक्षण ऐन २०३९ अनुसार कारबाही अगाडि बढ्ने प्रहरीले जनाएको छ ।