logo
२०८१ मंसिर ८ शनिवार



ज्येष्ठ नागरिकको युवा जोश ९७ वर्षसम्म रोग के हो ? थाहा छैन

राष्ट्रिय |


ज्येष्ठ नागरिकको युवा जोश ९७ वर्षसम्म रोग के हो ? थाहा छैन


गोकर्ण दयाल

बैतडी, कात्तिक २० गते । ९७ वर्षिय आमा विहानै उठेर चिया पकाउनु हुन्छ । ७७ वर्षिय छोरा बिहान ५ नबज्दै झिसमिसेमै एक घण्टा हिँडेर मुलको पानी भरेर ल्याउनुहुन्छ । ७० वर्षिय बुहारी गाई दुहुनुहुन्छ ।

कामको यो फेहरिस्त सुन्दा जो कसैलाई पनि अचम्म लाग्छ । उमेरले जेष्ठ नागरिक भएर पनि युवाले जस्तै आफ्नै खुट्टामा उभिएको जेष्ठ नागरिकको कथा हो । रोगव्याधि के हो ? उहाँहरुलाई अहिलेसम्म थाहा छैन ।

बैतडीको दरशथचन्द नगरपालिका वडा नं. ४ का ९७ वर्षिया भानादेवी ठगुन्ना, उहाँका ७७ वर्षिय छोरा गगनसिंह ठगुन्ना र ७० वर्षिय बुहारी जयमति ठगुन्नाको दैनिकी हो यो ।

छोराबुहारी र नातिहरु जागिरे हुनुहुन्छ । पनाति र खनातीहरु सहरतिर पढ्दैछन् । छोरा, छोरी, नाति, पनाति जम्मै परिवारका सदस्य गन्दा ५० भन्दा पनि बढी रहेका छन् । यो उमेरमा पनि घर धानेर बस्नु भएका ९७ वर्षिया आमा, ७७ वर्षिय छोरा र ७० वर्षिय बुहारीको रोचक दैनिकी देख्ने सबैलाई आश्चार्यमा पारेको छ ।

नेपालीहरुको औसत आयु पार गरेर आफ्नै बलवुतामा गाउँमै सक्रिय रहेका बृद्ध आमा र छोरा बुहारीलाई अहिलेसम्म रोगव्याधि भनेको के हो ? थाहा छैन । ९७ वर्षिय आमा भानादेवी ठगुन्नाका आँखा अलिकति धमिलो भएका छन् । रोग लागेर औषधि खानु परेको छैन ।

९७ वर्षिय आमा भानादेवी ठगुन्ना भन्नहुन्छ– “ बजारको खानेकुरा हामी केही पनि खादैनौं । दूध दही, मोही, रोटी, तरकारी र दालभात हाम्रो नियमित खाना हो । गाउँमै फल्ने मौसमी फलफूल आँप, अम्बा, केरा, मेवा मौसम अनुसार घरमै फलेको खाने गरेका छौं ।”

७७ विर्षय छोरा गगनसिंह ठगुन्ना भन्नुहुन्छ–“ घरमा बृहत सहरी खानेपानीको धारा भए पनि पिउनका लागि मुलकै पानी बोक्छु । सबै जना मुलकै पानी पिउछौं । धाराको पानीले घरायसी सरसफाई गर्छौ । आमाले माछामासु खान छोडुनु भएको छ । म पनि चाँडवाँडमा मात्रै माछा मासु खान्छु । यही साउन २१ गतेबाट ७७ वर्ष लागे । ६ वटा दाँत मात्र निस्केका छन् । चपाउन कुनै समस्या छैन ।”

यो उमेरमा पनि यति स्वस्थ रहनुको रहस्यबारे जिज्ञासा राख्दा ७७ वर्षिय गगनसिंह ठगुन्नाले परिश्रम गर्ने, शुद्ध प्राकृतिक आहार विहार नै स्वस्थ रहनुको रहस्य भएको बताउनुभयो । जीवनमा आफूले कुनै पनि दुव्र्यसनी नगरेको उहाँले बताउनुभयो ।

७७ वर्षिय गगनसिंह ठगुन्ना शरीर ढल्नु अघि आफूले जीवनमा सोचेको एउटा सपना उठाउँदै हुनुहुन्छ । २०२८ सालमा गाउँमा आफैले स्थापना गरेको बिद्यालयको इतिहास लेखेर समाजमा कहिल्यै नढल्ने सपना ठ्याएर जाने सोच बनाउनु भएको छ । ठगुन्ना भन्नुहुन्छ–“ सपना ढल्नु हुँदैन । मैले पञ्चायत कालमा चुनौति मोलेर भए पनि एउटा सपना बोकेर स्कुल खोलेको थिए । त्यति बेला समाजमा कुनै पनि सर्वसाधारणले सजै पढ्न पाएका थिएनन् । आज बैतडीको साक्षरता दर ९६ प्रतिशत पुगेर नेपाल सरकारले साक्षर जिल्ला घोषणा गरेको छ । ”

७७ वर्षिय गगनसिंह ठगुन्नाले २०२८ साल फागुन १५ गते दशरथ चन्द नगरपालिका वडा नं.४ सपरालीमा रहेको नागार्जुन आधारभूत बिद्यालयका संस्थापक तथा शिक्षक समेत बनेर बिद्यार्थीलाई पिपलको रुखमुनी जम्मा गरेर गाउँमा शिक्षाको ज्योति फैलाउनु भएको थियो ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?