गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २१ गते । भूउपयोगसहितको पशुपति क्षेत्रको दोस्रो चरणको गुरुयोजनाबारे विज्ञले लिखित राय दिने कार्य सकिएको छ । योजनामा पशुपति क्षेत्रको पुरानो बस्तीलाई विस्थापित गर्ने गरी निर्माण योजना नपरेको कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले जानकारी दिनुभएको छ ।
विज्ञले दिएको रायपछि अब स्थलगत रूपमा रेखाङ्कन गर्ने कार्य सुरु हुने भएको छ । यसअघि प्रस्तुत योजना स्वीकृतिका लागि कोषको सञ्चालक परिषद्मा प्रस्तुत गर्ने तयारी भएको जनाइएको छ ।
पशुपति क्षेत्रले गुह्येश्वरी, तिलगङ्गा, सिफल, रातो पुल गरी कुल २६४ हेक्टर क्षेत्रफल ओगटेको छ । यसअघि १० वर्ष अवधिका लागि २०५६ सालमा पहिलो चरणको गुरुयोजना लागू गरिएको थियो । २०६७ सालसम्म पहिलो चरणको गुरुयोजना कायम रहेर यसपछि यो दोस्रो चरणको योजनाको तयारी भएको छ ।
उपनिर्देशक ढुङ्गानाका अनुसार पहिलो चरणमा आवश्यक जग्गा अधिग्रहण कार्य सम्पन्न भयो, पशुपति क्षेत्रमा रहेका दर्जनौँ सत्तल, पौवा र मन्दिरको पुनःनिर्माण सकिएर २०७२ सालको भूकम्पले क्षति गरेका स्मारकको पुनःनिर्माण हाल भइरहेको छ ।
गुह्येश्वरी चौघेरा सत्तल, वनकालीमा वाग बगैँचा निर्माण, नेपाल–भारत मैत्री धर्मशाला, आर्य तीर्थतर्फको बाग्मती सफाइलगायतका कार्य सम्पन्न भएको छ । वर्षौं अवरुद्ध बाग्मती तीर्थयात्रालाई चालू गरिएको छ ।
जमिनमुनि ढल बिछ्याउने, खानेपानीका लाइन व्यवस्थित गर्ने, सौर्यबत्ती जडान तथा विद्युतीय शवदाह यन्त्र चालूलगायतका कार्य सम्पन्न हुन सकेको छ ।
कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार यस क्षेत्रमा उत्सर्जन हुने फोहर व्यवस्थापन गर्न त्यत्तिकै आवश्यक रहेको बताउनुभएको छ । “विश्व सम्पदाको मर्म, प्राचीन स्मारक ऐन, पुरातŒवको भावनाअनुरूप दोस्रो गुरुयोजना स्वीकृतिका लागि कोष सञ्चालक परिषद्समक्ष प्रस्तुत हुन्छ”, उपनिर्देशक ढुङ्गाना बताउनुहुन्छ ।