logo
२०८१ मंसिर ११ मंगलवार



कालापानी नेपालको होः परराष्ट्र मन्त्री ज्ञवाली

राष्ट्रिय |


कालापानी नेपालको होः परराष्ट्र मन्त्री ज्ञवाली



बैतडी समाचारदाता
पञ्चेश्वर (बैतडी) कात्तिक २१ गते । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी नेपालको भूमि भएको स्पष्ट पार्दै छिमेकी भारतलाई सानो चित्त नबनाउन आग्रह गर्नुभएको छ ।

बिहीबार पञ्चेश्वर गाउँपालिकाले आयोजना गरेको वृहत राष्ट्र निर्माण महा महोत्सव २०७६ को उद्घाटन गर्न बैतडीको पञ्चेश्वर पुग्नुभएका परराष्ट्र मन्त्री ज्ञवालीले भारतले हालै सार्वजनिक गरेको नक्साप्रति लक्षित गर्दै कालापानी नेपाली भूमि भएको स्पष्ट पार्नुभएको हो ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत् बैतडीको पञ्चेश्वर पुग्नुभएका मन्त्री ज्ञवालीले भारतीय नाकाबन्दीपछि चिसो बनेको सम्बन्ध वर्तमान सरकारले सुधार गरेको स्मरण गराउँदै भारतलाई सानो चित्त बनाएर मित्रता बलियो नहुने कुरा स्पष्ट पार्नुभयो ।
मन्त्री ज्ञवालीले भन्नुभयो, दुई देशबीचको मित्रतालाई अझ प्रगाढ बनाउन कुटनीतिक छलफलबाट समस्याको समाधान गरौं । विश्वका सबै देशहरुसँग मित्रता गाँसेर नेपाल सम्वृद्धिको दिशामा अघि बढिरहेको छ । नेपाल विकसित राष्ट्र भयो भने भारतलाई समेत फाईदा हुन्छ । सीमा विवादमा झल्झिनु भनेको विकासलाई अवरोध गर्नु हो ।’
पञ्चेश्वर परियोजनाको स्थालगत निरीक्षण समेत गर्नुभएको मन्त्री ज्ञवालीले महाकाली सन्धी अनुसार महाकालीको पानी समेत दुबै देशको आधा÷आधा भएको समेत उल्लेख गर्नुभयो ।

पञ्चेश्वर परियोजना निर्माण गर्न नेपाल सरकार आतुर भएको बताउँदै मन्त्री ज्ञवालीले भन्नुभयो, भारत सरकारले पनि अब ढिलो नगरी पञ्चेश्वर परियोजना निर्माणका लागि तदारुकता देखाउनुपर्छ । पञ्चेश्वर परियोजना निर्माण भएको भए अहिलेसम्म दुबै देशले विजुली र सिचार्इंका लागि यस्तो समस्या भोग्नु पर्ने थिएन ।

पञ्चेश्वर गाउँपालिका–३, कुलाउमा आयोजना गरिएको महोत्सवमा सहभागी मन्त्री ज्ञवालीले बैतडीको तल्लो स्वराड क्षेत्रमा ठूलो परिवर्तन आएको बताउनुभयो ।

मन्त्री ज्ञवालीले भन्नुभयो, ‘पञ्चेश्वरबासी एक दिनको बाटो हिँडेर सदरमुकाम पुग्नुहुन्थ्यो । अहिले गाडीमा तीन घण्टामै सदरमुकाम पुग्न सक्ने भएका छन् । महाकाली करिडोर बन्यो भने बैतडीको तल्लो स्वराड क्षेत्र उत्तरमा चीन र दक्षिण भारतसम्मको यात्रा गाडीमा सहजै गर्न सक्ने अवस्था आउँदै छ ।’

वर्तमान सरकारले काम गर्न सकेन भनेर जनतामा निरासा बाँड्ने काम गर्नेहरुले एक चोटी पञ्चेश्वर पुगेर पाटन–पञ्चेश्वर सडक र महाकाली करिडोरको काम हेर्न मन्त्री ज्ञवालीले आग्रह समेत गर्नुभयो ।

सुदूरपश्चिम अब राज्यको आँखामा टाढाको पश्चिम नहुने गरी वर्तमान सरकार दत्तचित्त भएर लागेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले वर्तमान सरकार गाडीमा झण्डा हल्लाउन होइन, काम गर्न आएको हो, भन्नुभयो ।

पञ्चेश्वर गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा संघीय सभासद् दामोदर भण्डारी, सुदूरपीश्चम प्रदेशसभा सदस्य लीलाधर भट्ट, नेकपा केन्द्रीय सदस्य रेणु चन्द, युवा नेता गोविन्द गिरीलगायतको सहभागिता रहेको थियो । महोत्सव मंसिर २ गतेसम्म सञ्चालन हुने पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?