logo
२०८१ मंसिर ११ मंगलवार



कूटनीतिक पहलमार्फत सीमा विवादको समाधान गर्नुपर्नेमा पनि जोड

राष्ट्रिय |


कूटनीतिक पहलमार्फत सीमा विवादको समाधान गर्नुपर्नेमा पनि जोड


गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २३ गते । नेपाली कांग्रेसको शनिबार बसेको पदाधिकारी बैठकले नेपालको एक इन्च भूमि पनि नछाड्ने अडान राख्ने निर्णय गरेको छ । बैठकले नेपाल सरकारले कूटनीतिक पहलमार्फत उत्पन्न सीमा विवादको समाधान गर्नुपर्नेमा पनि जोड दिएको छ ।
सभापति शेरबहादुरको अध्यक्षतामा तीन घण्टासम्म बसेको बैठकमा मुख्य गरी सीमा विवाद, पार्टीको समायोजनसम्बन्धी निर्वाचन समितिले पेश गरेको प्रतिवेदन र आगामी मंसिर १४ गते हुने उपनिर्वाचनसम्बन्धी विषयमा छलफल केन्द्रित भएको थियो ।
बैठकले कालापानी र लिपुलेकको सीमा विवादका विषयमा यसअघि सभापति देउवाले सार्वजनिक गर्नुभएको धारणालाई समर्थन गर्दै नेपालको एक इन्च जमिन पनि नछाड्नेमा अडान कायम राख्ने निर्णय गरेको छ । साथै बैठकले शीघ्रातीशीघ्र विवाद समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो ।

यसैबीच, नेपाली कांग्रेसका नौ जना नेताहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना सेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे र प्रदिप पौडेलले एक संयुक्त विज्ञप्ति निकाल्दै नेपालको अविभाज्य अङ्गलाई भारतको नक्सामा राख्ने तथा भूभाग मिच्ने अधिकार कसैलाई नभएको भनाइ सार्वजनिक गर्नुभएको छ ।
भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि लिपुलेक र कालापानीसमेतलाई भारतीय भूमिमा पारिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल सरकारलाई तत्काल भारत सरकारसँग स्पष्ट कुरा गर्न आग्रह गर्नुभएको छ ।
वक्तव्यमा भनिएको छ, शदियौंदेखि एक आपसका घनिष्ठ छिमेकीको रूपमा रहेका भारत र चीन दुवै देशले आपसी सद्भाव, भाइचारा, बन्धुत्व र मैत्रीपूर्ण सम्बन्धको धरातलमा उभिएर अन्तर्राष्ट्रिय नियम, प्रचलन र मान्यतालाई ख्याल गरी छिमेकी राष्ट्रहरूसँग सम्मानपूर्ण व्यवहार गर्नु पर्दछ भन्ने हाम्रो दृढ मान्यता छ । वक्ततव्य जारी गर्नु हुने नेताहरुमा डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना सेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे र प्रदिप पौडेल हुनुहुन्छ ।
पदाधिकारी बैठकमा पार्टीको समायोजन समितिले ७७ वटै जिल्लाको समायोजनको अवस्थाबारे प्रतिवेदन पेश गरेको छ । प्रतिवेदनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभाको निर्वाचनको समायोजन टुंगो लागेको छ । प्रतिवेदन निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले प्रस्तुत गर्नुभयो । पार्टीका मुख्य सचिव पौडेलका अनुसार, अब गाउँपालिका र नगरपालिकाको समायोजन हुने क्रम तीव्र रहेको छ ।
उपनिर्वाचनमा नेता खटाउने
कांग्रेसले मंसिर १४ मा हुने स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाका लागि केन्द्रीय प्रतिनिधि खटाउने भएको छ । जस अनुसार, कास्कीको क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाललाई खटाउने निर्णय गरेको छ ।
सम्बन्धित जिल्लाको पार्टी सभापति र उम्मेदवारले माग गरेका नेताहरुबाटै केन्द्रीय प्रतिनिधि खटाइने तय भएको छ । साथै सम्बन्धित जिल्लाका सभापति र उम्मेदवारले माग नगरी कुनै पनि नेता त्यो निर्वाचन क्षेत्रमा नजाने निर्णय पनि कांग्रेसले गरेको छ । प्रदेश सभाको निर्वाचन हुने भक्तपुर, बाग्लुङ र दाङका लागि आइतबार केन्द्रीय प्रतिनिधिको नाम पठाउने जानकारी मुख्य सचिव पौडेलले दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?