logo
२०८१ मंसिर ११ मंगलवार



टुँडिखेल अतिक्रमणको विरोधमा घेराउ

राष्ट्रिय |


टुँडिखेल अतिक्रमणको विरोधमा घेराउ



गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २४ गते । टुँडिखेल अतिक्रमणको विरोधमा नागरिकले शनिबार टुँडिखेल घेराउ गरेका छन् । टुँडिखेल बचाऊ अभियानले ‘अकुपाइ टुँडिखेल’ कार्यक्रम
सुरु गरेको हो ।
बिहान ८ बजेदेखि १० बजेसम्म सयौँको सङ्ख्यामा उपस्थित नागरिकले टुँडिखेललाई साङ्ले घेराउ गरे । कार्यक्रममा नागरिक समाजका साथै जनप्रतिनिधि, राजनीतिज्ञ, कलाकारहरूले समेत साथ दिए ।
मुक्त टुँडिखेलको नागरिक अभियानलाई साथ दिन पूर्वमन्त्री तथा सांसद गगन थापा पनि पुग्नुभएको थियो । उहाँले टुँडिखेललाई अतिक्रमण मुक्त गर्नु सहरबासीका लागि अति आवश्यक भइसकेको बताउनुभयो । संसारभरि नै सहरमा खुला स्थानको संरक्षण गर्ने प्रचलन रहेको बताउँदै काठमाडौँको मुुटुको रूपमा रहेको टुँडिखेललाई सरकारले अतिक्रमणबाट मुक्त गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेताहरू डा. बाबुराम भट्टराई, हिसिला यमी, भीमसेनदास प्रधानलगायतको पनि सहभागी हुनुहुन्थ्यो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी पनि कार्यक्रममा सहभागी हुनुभएको थियो ।
सार्वजनिक स्थलको अतिक्रमणविरुद्ध नागरिक अभियानमा जनप्रतिनिधिको हैसियतले आफूले सधैँ साथ दिँदै आएको उहाँले बताउनुभयो । जनप्रतिनिधि आएपछि पनि खुलामञ्चको अतिक्रमण रोक्न नसकेका कारण आफूले नागरिकको आन्दोलनमा साथ दिएको उहाँको भनाइ थियो ।
कवि विप्लव प्रतीकले सहरमा बालबालिका, ज्येष्ठ नागरिकहरूलाई खेल्ने, टहल्ने ठाउँको अभाव भइरहेको बेला टुँडिखेलजस्तो खुला स्थानलाई मास्दै जानु दुःखको कुरा भएको बताउनुभयो । सहरी योजनाकार राकेश महर्जनले खुला स्थान सहरका लागि मानव शरीरको मुटु र फोक्सो जस्तै अति महìवपूर्ण हुने बत(ाउनुभयो । ‘‘भूकम्पका बेला यही टुँडिखेलमा धेरै मानिसले आश्रय लिएका थिए । अब यहाँ विभिन्न संरचना बनाउने र व्यापार गर्न थालेपछि आपतविपदमा कहाँ जाने ?’’ महर्जनले भन्नुभयो, ‘खेलकुद, व्यायाम गर्नसमेत सार्वजनिक स्थानको अभाव छ । यता टुँडिखेल भने विभिन्न नाममा अतिक्रमित भइरहेको छ ।’
विभिन्न आन्दोलनहरू खुलामञ्चबाट नै सुरु भएको र सफल भएको स्मरण गर्दै महर्जनले यहाँ भाषण गर्ने नेताहरूसमेत यसको संरक्षणलाई महìव नदिएको उहाँको गुनासो थियो ।
नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले खुला स्थानको अभावमा सहरबासीमा डिप्रेसनजस्ता रोगले समेत आक्रमण गर्न सक्ने भन्दै खुलामञ्चलाई खुला गर्न राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।
अकुपाइ टुँडिखेल अभियानका संयोजक विजय श्रेष्ठले टुँडिखेल सहरबासीको स्वास्थ्य तथा संस्कृतिसँग प्रत्यक्ष सरोकार राख्ने सार्वजनिक स्थल भएको बत(ाउनुभयो ।
अभियानले खुलामञ्चमा बनेका संरचनाहरू हटाउनुपर्ने लगायतका माग राखेका छन् । विस्तारित टुँडिखेलअन्तर्गत खुलामञ्चमा हाल पार्किङ, टहरा बनाई बसोवासको व्यवस्थासमेत हुँदै आएको छ । केही भाग बसपार्क बनाइएको छ । बसपार्कमा ढलान गरिएकोप्रति पनि नागरिक अभियन्ताले विरोध गर्दै आएका छन् ।
खुलामञ्चको कुनाहरूमा सार्वजनिक शौचालयको नाममा व्यापारिक प्रयोजनका लागि खुला स्थानको प्रयोग गरिँदै आएको छ । यी सबै अतिक्रमणबाट टुँडिखेललाई मुक्त गरी यसलाई सार्वजनिक प्रयोगको खुला क्षेत्रको रूपमा पुनःस्थापित गरिनुपर्ने माग गरिएको अकुपाइ टुँडिखेल अभियानका संयोजक श्रेष्ठले बताउनुभयो । तीन महिनासम्म हरेक शनिबार टुँडिखेल घेराउ आन्दोलन गर्ने उहाँले जानकारी दिनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?