logo
२०८१ मंसिर ११ मंगलवार



दशा भगाउने विश्वासमा बढेको आकर्षण

राष्ट्रिय |


दशा भगाउने विश्वासमा बढेको आकर्षण



सरोज आचार्य/यलु जोशी

काठमाडौँ, कात्तिक ३० गते । राजधानीको नयाँ सडकको टेवहालस्थित सङ्कटा मन्दिरमा शनि दशा पन्छाउन विश्वासका साथ शनिबार लाग्ने भक्तजनको भीड कुनै बेला त व्यवस्थापन निकै न कठिन बन्दै गएको छ । मन्दिर परिसर हुँदै यो भीड पूरै उत्तर पश्चिम नयाँ सडक र दक्षिण सुन्धारासम्म फैलँदै गएर सुन्धारा क्षेत्र पनि ओगट्न थालेपछि शनिबारको भीड व्यस्थापन गर्न कठिन भएको हो । भक्तजनको यो भीडले यो क्षेत्रमा अन्य पैदल यात्रु र सवारी आवागममा पनि निकै असहज भएको छ ।
सङ्कटा क्लबका सक्रिय सदस्य पोषण राउतका अनुसार, प्रत्येक शनिबार भक्तजनको उपस्थिति बढ्दै गएको छ, क्लबले सहज दर्शनका लागि भरिसक्य व्यवस्थापन गरिरहेको छ । दुःख, पीडा, अभाव, समस्या, कष्टबाट छुट्कारा पाउन भक्तजन सङ्कटामा पूजाका लागि आउने गरेको राउत बताउनुहुन्छ । ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार, शनिबार शनिग्रह पन्छाउने दिन भएकाले यो दिन सङ्कटाको पूजा अर्चना हुने गरेको हो ।
देवता र दानवको युद्ध हुँदा ब्रह्माजीले शनिको पूजा गर्नू भनी देवतालाई भनेकाले यस दिन सर्वसाधारणले पनि कष्ट र हैरानीबाट छुट्कारा पाउन शनिको पूजा गर्न थालेको बताइन्छ । सङ्कटा मन्दिरमा रहनुहुने ब्राह्मण दोलखा सिँगटीका देवानन्द भण्डारीले शनिको पूजाबाट लाभ हुँदै गएकाले नै भक्तजन बढेको दाबी गर्नुभयो तर पनि यसको वैज्ञानिक आधार भने उहाँले केही बताउनुभएन ।
यता नरदेवीबाट बिहान ५ बजेदेखि लाइनमा बस्दै गर्नुभएकी कविता बाँस्तोला आफूलाई साढे सातको दशाका कारण सङ्कटा मन्दिरमा दर्शन गर्न आएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘२२औँ वर्षको जन्मदिनका लागि चिना देखाउँदा सो दशा लागेको भनेपछि यहाँ पूजा गर्न आएकी हुँ । ‘‘पूजा गरेपछि दशा जान्छ कि जाँदैन थाह भएन तर मनको शान्ति भने अवश्य हुन्छ,’’ बाँस्तोलाले आपूmले वैज्ञानिक आधार भने नखोजेको बताउनुभयो ।
चिना देखाउँदा विदेश जान र पढाइमा यही साढे सातको दशाले नै रोकिरहेको भनेपछि बिहानदेखि पूजाका लागि आएको हो । भक्तपुरबाट आउनुभएको उत्सव कुटुले भने सङ्कटा देवतालाई आफ्नो नङ चढाउन आउनुभएको छ उहाँले भन्नुभयो, ‘‘दसा छ रे, शरीरको कुनै हिस्सा चढाएपछि राम्रो हुन्छ भनेपछि नङ चढाउन आएको हो ।’’
पूजाको साथमा फलाम, नुन, तेल, कालो कपडा र नङ चढाउनुपर्छ भनेका कारण नै मन्दिर आएको बताउनुभयो । बिहान ४ बजेदेखिको मन्दिरको लाम दिउँसो २ बजेसम्म त्यत्तिकै रहन्छ, भक्तजन आउने जाने भइरहन्छ । आएका भक्तजनले कालो वस्त्र, फलाम, कालो तील र फूलमाला अर्पण गर्ने हुँदा यी सामग्रीका बजार पनि यहाँ निकै फस्टाउन पुगेको छ । शनि दशा पन्छाउन कालो यी सामग्री अनिवार्य रहेको यहाँका ब्राह्मण बताउँछन् ।
दम्पतीबीच सम्बन्ध विच्छेद, दाजुभाइ बाबुआमाबीच अंशवण्डा पछिको सम्हाल्न नसकिएको गृहस्थी, बहुविवाह, परदेशिएका सन्तती परिवार घर नफर्कने जस्ता समस्याबाट कतिपय यहाँ आइपुगेको ब्राह्मणहरूको भनाइ छ । ‘‘सबैलाई केही न केही सङ्कट हुन्छ नै तर आत्मबल कमजोर भएकाहरू देवताको शरणमा पुग्ने गरेका छन्,’’ आनन्दखेरा फ्रेन्ड एन्ड फेमिली ट्रस्टका डा. पद्मराज भारती भन्नुहुन्छ । उहाँका अनुसार यो पनि एक प्रकारले शरीर मन स्वस्थ्य राख्ने उपाय भने हो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?