logo
२०८१ मंसिर ११ मंगलवार



मोफसलमा पत्रकारिता चुनौतीपूर्ण

राष्ट्रिय |


मोफसलमा पत्रकारिता चुनौतीपूर्ण



भैरहवा समाचारदाता
भैरहवा, मंसिर १ गते । लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा आइतबारदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनी समाचार महोत्सव–२०७६ सुरु भएको छ । “संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार” भन्ने नाराका साथ सुरु भएको महोत्सवमा मुलुकभरका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको क्लबका अध्यक्ष दिपेश पछाईले बताउनुभयो । मंसिर ३ गतेसम्म चल्ने समाचार महोत्सवको आइतबार साँझ ६ बजे प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नुभएको छ ।

उदघाटनअघि “पत्रकारिता ः चुनौती र भविष्य” विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्ने वक्ताहरुले अहिले एउटै पत्रकार विभिन्न सञ्चारमाध्यममा काम गर्नु पर्ने बाध्यता रहेको बताएका छन् । उहाँहरुले सामाजिक सञ्जालका कारण पत्रकारिता क्षेत्रमा विभिन्न चुनौतीहरु देखा परेको पनि बताउनुभयो । अहिलेको समयमा पत्रकारिता क्षेत्रमा विभिन्न समस्याहरु देखिएकोले त्यसको समाधानको लागि सम्पूर्ण सरोकावालाको ध्यान केन्द्रित हुनुपर्ने उहाँहरुको भनाइ थियो ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले अहिले खासगरी अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारहरुका बारेमा काउन्सीलमा उजुरी आएको बताउनुभयो । उहाँले पत्रकारिता हतारमा गर्न नहुने बताउनुभयो । “हु–बहु नक्कल गर्ने पत्रकारिता सञ्चार क्षेत्रका मुख्य समस्या हुन्, खोजमूलक पत्रकारिताको आवश्यकता छ”–उहाँले भन्नुभयो ।

वरिष्ठ पत्रकार किशोर नेपालले पत्रकारिता शास्त्र–विज्ञान भएकोले यो कहिल्यै नसकिने बताउनुभयो । उहाँले पत्रकारहरुले न्यूनतम पारिश्रमिक समेत नपाएको तथा स्थानीय सञ्चारमाध्यम सञ्चालनमा समेत समस्या आएको बताउनुभयो । खोज पत्रकारिता केन्द्रका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले लुकेका र लुकाएका कुराहरु सार्वजनिक पदमा रहेका व्यक्तिमाथि प्रश्न तेर्साउनुपर्ने बताउनुभयो । उहाँले सञ्चारमाध्यम सरकारको प्रवक्ता नबनी सरकारलाई प्रश्न गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–“परम्परागत मिडियाको शैलीका कारण रेडियोका श्रोता घटे, दैनिक पत्रिकामा कुपोषण लाग्यो, टेलिभिजन हेर्ने सामाजिक सञ्जालमा लागेकाले पत्रकारितामा चुनौती बढ्ेको छ ।”

पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरीले पत्रकारहरु दोहोरो चरित्रमा बसेर पत्रकारिता गर्दा निष्पक्ष पत्रकारिता हुन नसक्ने दावी गर्नुभयो । उहाँले राजनीतिक दलको कार्यकर्ता बनेकाहरुले पत्रकारिताको कुरा गर्न सुहाउँदैन भन्दै पत्रकारको संख्या बढे पनि उनीहरुको गुणस्तरमा वृद्धि हुन नसक्दा समाजले खोजेको पत्रकारिता हुन नसकेको बताउनुभयो ।

वरिष्ठ पत्रकार मोहन मैनाली पत्रकारिताको लागि आवश्यक कुराहरुको बारेमा जानकारी हुन आवश्यक रहेको बताउनुभयो । उहाँले खोजी पत्रकारिताको बाटोमा जानुको विकल्प नरहेको बताउनुभयो । उहाँले विचारबाट प्रभावित भएर समाचार बनाउन नहुनेमा जोड दिनुभयो । कार्यक्रममा बोल्ने सञ्चार क्षेत्रका अन्य अगुवाहरुले मोफसलमा बसेर बिट पत्रकारिता गर्न अप्ठ्यारो भएको बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?