logo
२०८१ मंसिर ११ मंगलवार



सङ्क्रमणकालीन न्यायिक आयोग पुरानै पदाधिकारी दोहोरिने सङ्केत

राष्ट्रिय |


सङ्क्रमणकालीन न्यायिक आयोग पुरानै पदाधिकारी दोहोरिने सङ्केत


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ३ गते । पदाधिकारी रिक्त भएको करिब आठ महिनापछि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिसको तयारी थालिएको छ ।
आयोगको पदाधिकारी सिफारिस समितिले सोमबार आकाङ्क्षी ६१ जनाको नाम सार्वजनिक गरेको छ । आवेदन परेका र समितिले थप गरेकासहित सार्वजनिक नामावलीमा अधिकांश पदाधिकारीमा पुरानैको वर्चस्व हुने सङ्केत देखिएको छ । यद्यपि मूल्याङ्कन र सिफारिसको चरण भने बाँकी छ ।
राजनीतिक दलबीच भएको परामर्शपछि सिफारिस समितिले सात जनाको नामावली थपेको छ । जसमा यसअघिका पदाधिकारी पाँच जना छन् । समितिले दुवै आयोगको अध्यक्षका लागि पनि नाम थप गरेको छ । समितिको निर्णयअनुसार सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षका लागि सहप्राध्यापक गणेशदत्त भट्टको नाम थप भएको छ । यसअघिका अध्यक्ष सूर्यकिरण गुरुङले राजीनामा दिनुभएको थियो ।
यस्तै समितिले बेत्तपा पारिएका व्यक्तिको छानबिन आयोगमा लोकेन्द्र मल्लिकको नाम थप गरी सार्वजनिक गरेको छ । यस्तै आयोगमा यसअघि सदस्य रहेका चार जनाको नाम समितिले थप गरेको छ ।
सत्य निरूपणका श्रीकृष्ण सुवेदी र मञ्चला झाको नाम समितिले थप गरेको छ भने बेपत्ताका आइबहादुर गुरुङ र नरकुमारी गुरुङको नाम समितिले थप गरेको छ । यसअघि बेपत्तामा सदस्य रहनुभएका विष्णु पाठक स्वयंले आवेदन दिनुभएको छ । सार्वजनिक सूचीमा उहाँको नाम समावेश छ । सत्य निरूपणमा यसअघि सदस्य रहनुभएकी माधवी भट्टको नाम द्वन्द्वपीडित राष्ट्रिय समाजबाट सिफारिसमा छ ।
सार्वजनिक नामावलीमा अब कुनै गुनासा भएमा समितिमा प्रस्तुत गर्न सकिने छ । समितिले अध्ययनपछि अन्तिम नामावली सिफारिस गर्ने छ । समितिले आवेदन दिएका ५७ जनामध्ये योग्यता पुगेका ५०, विभिन्न सङ्गठनबाट सिफरिसमा परेका चार र राजनीतिक समझदारीपछि थप गरिएका सातसहित ६१ जनाको नाम सार्वजनिक भएको हो । चैत १२ गते सिफारिस समिति बने पनि नामावलीसमेत सार्वजनिक हुन सकेको थिएन ।
को–को छन् प्रत्यासी
वैयक्तिक विवरण संलग्न गर्ने क्रममा सर्वोच्च र उच्च अदालतमा न्यायाधीश भइसकेका व्यक्तिले पनि आयोगको नेतृत्वका लागि इच्छा व्यक्त गरेका छन् । सर्वोच्चका पूर्वन्यायाधीश कमलनारायण दासले सत्य निरूपणको अध्यक्षका लागि आवेदन दिनुभएको छ । यस्तै उच्च अदालतका पूर्वन्यायाधीश युवराज सुवेदीले पनि आवेदन दिनुभएको छ । सुवेदी पूर्वनायब महान्यायाधिवक्तासमेत हुनुहुन्छ । यस्तै सत्य निरूपणको अध्यक्षका लागि पूर्वसचिव मधुप्रसाद रेग्मीले पनि आवेदन दिनुभएको छ ।
यस्तै दुवै आयोगको अध्यक्ष वा सदस्यका लागि सलाउद्दिन अख्तर सिद्दिकीले आवेदन दिनुभएको छ । सिद्दिकी उच्च अदालतको न्यायाधीश हुनुहुन्छ । पूर्वनायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेलले पनि सत्य निरूपणको अध्यक्ष वा सदस्यका लागि आवेदन दिनुभएको छ ।
सत्य निरूपणकै अध्यक्ष वा सदस्यका लागि दुमनसिंह थापा क्षेत्री, रेवन्तबहादुर कुँवर, अली अकबर मिकरानीले पनि आवेदन दिनुभएको छ । मिकरानी अवकाशप्राप्त न्यायाधीश हुनुहुन्छ । यस्तै तारबहादुर न्यौपाने, गोपीचन्द्र भट्टराई, सीताप्रसाद पोखरेलले पनि सत्य निरूपणकै अध्यक्ष वा सदस्यका लागि आवेदन दिनुभएको छ । सत्य निरूपणकै अध्यक्ष वा सदस्यका लागि गोविन्द गौतम, अरविन्दकुमार सिंहको पनि आवेदन छ । वरिष्ठ अधिवक्तासमेत रहनुभएका सिंह दुर्घटनामा परी बेपत्ता हुनुभएको छ । बेपत्ता भए पनि उहाँको नाम सार्वजनिक सूचीमा छ । सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बस धादिङको सालाङघाटमा साउन २४ गते दुर्घटना हुँदा सिंह बेपत्ता हुनुभएको थियो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?