logo
२०८१ मंसिर ११ मंगलवार



सूचना प्रवाहलाई सहज बनाउँछु : थापा

राष्ट्रिय |


सूचना प्रवाहलाई सहज बनाउँछु : थापा
तस्विरः शेखर चौलागाई


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त प्रेस सल्लाहकार सूर्य थापाले सूचना प्रवाहलाई सहज बनाउने बताउनुभएको छ । मङ्गलबारबाट औपचारिक रुपमा जिम्मेवारी सम्हाल्नुभएका थापाले सिंहदरबारमा आयोजित पत्रकार भेटघाटमा सार्वजनिक गर्नुपर्ने सूचना छिटो र छरितो माध्यमबाट सञ्चार माध्यमसमक्ष समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा काम गरिसक्नुभएका अग्रजहरुको अनुभवसमेत लिएर सूचना व्यवस्थापनको काम गर्ने जानकारी दिनुभयो । उहाँले तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको प्रेस सल्लाहकारको रुपमा काम गर्दा ‘प्रेस नोट’ जारी गर्ने कार्यको सुरुवात गरेको चर्चागर्दै त्यसलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने बताउनुभयो ।

पत्रकार भेटघाटमा सहज रुपमा प्रधानमन्त्रीको सचिवालयबाट सूचना प्रवाह हुनुपर्ने सञ्चारकर्मीले सुझाव राखेका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख थापालाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा शुक्रबार नियुक्त गरिएको थियो ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई सो पदमा नियुक्त गरिएको थियो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहनुभएका थापालले बुधबार साप्ताहिक र तत्कालीन नेकपा (एमाले) को मुखपत्र नवयुगको सम्पादकका रुपमा जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?