logo
२०८१ मंसिर ११ मंगलवार



हनुमानढोका दरबार क्षेत्र रोकिएन सवारी साधन

राष्ट्रिय |


हनुमानढोका दरबार क्षेत्र रोकिएन सवारी साधन



गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ४ गते । ऐतिहासिक एवं पुरातात्विक सम्पदा वसन्तपुर–हनुमानढोका दरबार क्षेत्रको खुला पार्किङ तथा सवारी आवागमन निषेध अभियान काठमाडौँ महानगरपालिकाका लागि फलामको चिउरा जस्तै भएको छ ।
जोखिमपूर्ण पुरातात्विक सम्पदामा सूचीकृत उक्त सम्पदा क्षेत्रमा खुला पार्किङ र सवारी आवागमन हटाउन महानगरपालिकाले गरेको पटक–पटकको प्रयास असफल भएको छ । सम्पदा संरक्षणकर्मी र स्थानीयले सम्पदाभित्रको पार्किङ तथा सवारी आवागमन रोक्न माग गर्दै आएका छन् ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले यो मङ्सिर महिनाको पहिलो हप्ताबाट पार्किङ र आवागमन पूर्णरूपमा निषेध गरिने प्रतिबद्धता व्यक्त गर्नुभए पनि अझै रोकिएको छैन । ‘‘दरबार क्षेत्रमा सवारी निषेधको प्रयास पटक–पटक भएकै हुन्’’ उहाँले थप्नुभयो, ‘‘सफल हुन सकेन ।’’
‘नेपाल पर्यटन वर्ष २०२० नजिकै आइसकेकाले पनि सम्पदाको संरक्षण, संवद्र्धन र सरसफाइ अनिवार्य भएको छ’, प्रवक्ता डङ्गोलले ढुक्क हुन आश्वसन दिँदै थप्नुभयो, ‘‘अब केही दिनमै सवारी निधेष क्षेत्र हुन्छ ।’’
यसअघि कात्तिकको अन्तिम हप्ता काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख धनपति सापकोटाले वसन्तपुर हनुमानढोका दरबार क्षेत्रको खुला पार्किङ हटाउनका साथै सवारी आवागमन निषेध गरिएको जानकारी दिनुभएको थियो । तर, बिहान ७ बजे अघि र साँझा ७ बजेपछि भने पार्किङ र आवागमन यथावत रह्यो, निषेधित क्षेत्र हुन सकेन ।
झोँछेबाट वसन्तपुर, हनुमानढोका र सानो पशुपति मन्दिरबाट हनुमानढोका वसन्तपुर दरबार क्षेत्रमा सवारी आवागमन र पार्किङ सेवा सधँैका लागि निषेध गर्नुपर्ने माग छ । सवारीकै कारण विश्व सम्पदा क्षेत्र खतरामा पर्दै गएको पुरातत्व विभागले जनाएको छ ।
यसअघि काठमाडौँ महानगरपालिका हनुमानढोका कार्यालयका निमित्त प्रमुख टिना बज्राचार्य दरबार क्षेत्रको पार्किङ हटाउन नसकिएको स्वीकार्नुभएको थियो । कार्यालय समयमा नियन्त्रण भएकै छ तर साँझ समस्या भएको उहाँको भनाइ छ । महानगरीय प्रहरी वृत्त जनसेवा प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले महानगरपालिकाले सवारी आवागमन तथा पार्किङ हटाउन परिपत्र गरेमा आवश्यक सहयोग र नियन्त्रण गर्न प्रहरी तयार
रहेको बताउनुभयो ।
‘‘पुरातात्विक सम्पदाको सुरक्षा गर्ने जिम्मेवारी हाम्रो पनि हो”, वृत्त प्रमुख खतिवडाले स्पष्ट गर्नुभयो, ‘‘प्रहरीले मात्र नियन्त्रण गरेर पुग्दैन, सुरक्षाको जिम्मेवारी प्रहरीको हो भने संरक्षण तथा आवश्यक रेखदेख महानगरपालिकाले गर्ने हो, सहकार्य हुनुपर्छ ।’’
सार्वजनिक सवारी साधन सञ्चालन हुँदा हनुमान ढोका दरबार क्षेत्र पुनः निर्माण कार्यमा समेत समस्या थपिएको छ । निर्माण सामग्री थुपारिएको स्थान हुँदै सवारी सञ्चालन हुँदा निर्माण सामग्री टुट्ने, फुट्ने र स्वरूप बिग्रिने गरेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?