logo
२०८१ मंसिर ११ मंगलवार



हराएको ट्याङ्कर रित्तै फेला, गिरोह नै सम्लग्न भएको प्रहरीको आशंका

राष्ट्रिय |


हराएको ट्याङ्कर रित्तै फेला, गिरोह नै सम्लग्न भएको प्रहरीको आशंका
आइतबार राति १२ः०० बजे लहानबाट लुटिएको २० हजार डिजेलसहितको ट्याङ्कर



सन्तोष सुवेदी
सिरहा, मङ्सिर ४ गते । लहानबाट गत आइतबार राति १२ः०० बजे लुटिएको डिजेलसहितको ट्याङ्कर धनुषाको महेन्द्रनगर नजिक रमदैया भवारी सडक छेउमा भेटिएको छ । ना. ४ ख ४१६३ नम्बरको उक्त ट्याङ्कर भेटिए पनि त्यसमा रहेको करिब २० हजार लिटर डिजेल भने गायब भएको छ ।

सिरहा प्रहरीको अनुरोधमा सप्तरी, धनुषा र प्रदेश प्रहरीले समेत ट्याङ्कर खोजीमा तीब्रता देखाएपछि ट्याङ्कर रमदैया भवारीमा रोकिरहेको अवस्थामा विहान ८ः४५ बजेतिर फेला परेको थियो । उक्त ट्याङ्कर इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरिक्षक भेषराज रिजालको नेतृत्वको टोलीले जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याएको थियो ।
डिजेल बाहेकको रित्तो ट्याङ्की फेला परेपछि नेपाल आयल निगम विराटनगर डिपो र जिल्ला प्रहरी कार्यालय सिरहाले संयुक्त रुपमा डिजेलको खोजबिन गरिरहेको छ । सोही कारण निगमले बुधबार सिरहा र सप्तरीको सबै पेट्रोल पम्पको आपूर्ति बन्द गरेको छ ।

विराटनगर डिपोका प्रमुख अशोक साहका अनुसार, बुधबार विहानैदेखि सिरहा र सप्तरीका पेट्रोल पम्पहरु बन्द गरिएका छन् भने अपरान्ह ३ः०० बजेदेखि धनुषा र महोत्तरीका पेट्रोल पम्पहरुलाई पनि पेट्रोलियम पदार्थ विक्री वितरण नगर्न उर्दी जारी गरिएको छ ।

अहिले हामीले निगम अन्तर्गतका चार वटा टोली सिरहा, सप्तरी, धनुषा र महोत्तरीमा खटाएका छौ’, विराटनगर डिपो प्रमुख साहले भन्नुभयो–दुई वटा टोली सिरहा र सप्तरी तथा दुईवटा टोली धनुषा र महोत्तरीमा खटिरहेका छन् ।

साहका अनुसार, खटिएका निगमको टोलीले पेट्रोल पम्पहरुले विगतको तीन दिनदेखि निगमबाट लिएको डिजेलको परिमाण, उनीहरुको विक्री र हालको मौज्दातबारे तथ्याङ्क लिइरहेका छन् । सबैको तथ्याङ्क हेरिसकेपछि मात्र ट्याङ्करको डिजेल स्थानीयमा खपत भएको हो वा भारततर्फ लगिएको हो भन्ने यकिन हुने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीले ट्याङ्कर लुटिएको घटना केही व्यक्तिहरुमा मात्र सीमित नरही यसमा एउटा ¥याकेट नै क्रियाशील रहेको हुन सक्ने बताउनुभयो । उहाँले केही दिनमै उक्त ¥याकेटको पर्दाफास गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसको लागि प्रदेश प्रहरी कार्यालयको समेत सहयोग लिइएको बताउनुभयो । साथै अनुसन्धानको लागि सिरहा प्रहरीले नेपाल पेट्रोलियम व्यवसायी महासङ्घको समेत सहयोग लिएको छ ।

अमलेखगन्ज डिपोबाट ल्याइरहेको डिजेल सहितको ट्याङ्कर लहानस्थित हुलाक कार्यालयअगाडि रोकिरहेको अवस्थामा टाटा सुमोमा आएका अपरिचित व्यक्तिहरुको समूहले चालक रामदेव यादव र सहचालक उमेश यादवलाई आइतबार राति १२ः०० बजे नियन्त्रणमा लिई ट्याङ्करसहित लुटेर लगेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?