गोरखापत्र समाचारदाता
काठमाडौं, कात्तिक ४ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले मातहतका निकायलाई युग अनुसारको प्रविधिमैत्री सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।
प्रदेश २ का प्रमुख सचिवबाट सरुवा भई सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा बुधबार सचिव पदको कार्यभार सम्हालेपछि आयोजित कार्यक्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
सचिव सुवेदीले भन्नुभयो, ‘‘मातहतका निकायले नयाँ युगको माग अनुसार छिटो छरितोसँग सेवा प्रवाह गर्नुपर्छ र तोकिएको जिम्मेवारी समयमै पूरा गर्न सबैलाई मेरो आग्रह छ ।’’
उहाँले सञ्चार मन्त्रालय आफ्ना लागि नयाँ भएकाले सबैको साथ र सहयोग आवश्यक पर्छ, तपार्इंहरूले पनि मलाई सिकाएर जानुपर्छ, हामी सामूहिक भावनाले काम गरेर अझै बाँकी रहेका विकृतिको अन्त्य गर्नुपर्छ, भन्नुभयो ।
मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्रसहितका पदाधिकारी तथा सञ्चार मन्त्रालय अन्तर्गतका निकायका प्रमुखहरूले मन्त्रालयमा सचिव सुवेदीको स्वागत गर्नुभएको थियो । यसअघि सो मन्त्रालयको सचिवको जिम्मेवारी महेन्द्रमान गुरुङले सम्हाल्नु भएको थियो ।