logo
२०८१ मंसिर १२ बुधवार



रेलमार्गबारे छलफल गर्न चिनियाँ टोली आउने

राष्ट्रिय |


रेलमार्गबारे छलफल गर्न चिनियाँ टोली आउने


भउचप्रसाद यादव

काठमाडौँ, मङ्सिर ६ गते । नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्ग निर्माणबारे छलफल गर्न आगामी साता उच्च स्तरीय चिनियाँ टोली नेपाल आउने भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक महाशाखाका प्रमुख गोपालप्रसाद सिग्देलका अनुसार चीनका राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणको क्रममा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच भएको समझदारी पत्र (एमओयू) अनुसार केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोेजना प्रतिवेदन (डीपीआर) तयारका क्रममा चिनियाँ टोली आउन लागेको हो ।
चिनियाँ टोली मङ्गसिर ९ गते नेपाल आउने छन् भने १० गते काठमाडौँमा नेपाली र चिनियाँ टोलीको विस्तृत बैठक बसी प्रस्तावित सो रेलमार्गको ‘डीपीआर’ निर्माणलगायतका विषयमा छलफल हुने छ । महाशाखाका अनुसार नेसनल रेल्वे अथोरेटी चाइनाको उपप्रशासकको नेतृत्वमा २० सदस्यीय उच्च स्तरीय टोली काठमाडौँ आउन लागेको हो ।
महाशाखा प्रमुख सिग्देलले भन्नुभयो, ‘‘चीनका राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा सो रेलमार्ग निर्माणबारे भएको ‘एमओयू’को ‘रेस्पोन्स’का रूपमा नेपाल र चीनबीचको यो उच्च स्तरी बैठक हुन लागेको छ, यो बैठकले सो रेलमार्ग निर्माणको सम्बन्धमा थप स्पष्ट कार्यदिशा तय गर्ने छ ।’’ केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन यसअघि नै सम्पन्न भइसेकेको छ ।
नेपाल आउन लागेको उच्च स्तरीय चिनियाँ टोलीसँगको बैठकमा सहभागी हुनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीको संयोजकत्वमा १५ सदस्यीय उच्च स्तरीय वार्ता टोली गठन गरिएको सो मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव तथा वैदेशिक महाशाखा प्रमुख सिग्देलका अनुसार टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरू, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, भूमि सुधार मन्त्रालय, रेल विभाग, सडक विभागका महानिर्देशक, सिनियर डिभिजन इन्जिनियरहरूको सहभागिता रहेको छ ।
रसुवागढीदेखि काठमाडौँसम्म करिब एक सय किलोमिटर लामो हुने नेपाल चीन जोड्ने प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्ग चीनको सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका भएर नेपाल प्रवेश गर्ने बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?