logo
२०८१ मंसिर १२ बुधवार



घट्टबाटै झिलिमिली

राष्ट्रिय |


घट्टबाटै झिलिमिली


मधुसुधन तिमल्सिना

काभ्रे, मङ्सिर ८ गते । राजधानीसँगै जोडिएको काभ्रे जिल्लाका खानीखोला र महाभारत गाउँपालिकामा न केन्द्रीय विद्युत् प्रसारणको लाइन छ, न बिजुलीका खम्बा नै तर पनि यी गाउँका बस्ती झलमल्ल छन् । बिजुलीको आन्तरिक खपत बढाउने विकल्पको विषयमा अहिले चर्चा भइरहँदा यी दुई गाउँपालिकामा भने बिजुलीको उपयोगबाटै आर्थिक क्रियाकलाप बढिरहेका छन् । बिजुलीको सीमित पहुँचका बीच पनि स्थानीय खुसी छन् ।
काभे्रकै तेमाल गाउँपालिकाका केही बस्तीमा पनि व्यवस्थित विद्युतीकरण भइसकेको छैन तर पनि बिजुलीको अभाव भने छैन ।
परम्परागत तर स्थानीय आवश्यकता पूर्ति गर्नसक्ने घट्ट यी गाउँलाई उज्यालो बनाउने सस्तो र भरपर्दा माध्यम बनेका छन् । यी तीनवटै गाउँपालिकामा घट्टबाटै बिजुली आपूर्ति हुँदै आएको छ, त्यो पनि एक दशकअघि देखि नै । बाँकी केही ठाउँमा बिजुली बाल्न यतिबेला स्थानीय सहयोगको खोजीमा छन् । अहिलेसम्म जिल्ला घट्टधनी सङ्घमार्फत यी गाउँमा सुधारिएको घट्टमार्फत विद्युत् उत्पादन गरिएको हो । घट्टधनी सङ्घ काभे्रका अध्यक्ष शिवशरण श्रेष्ठले काभे्रका विकट गाउँमा १५ वटा घट्टबाट विद्युतीकरण गरिएको बताउनुभयो । जिल्लाभर ६३ किलोवाट विद्युत् घट्टमार्फत उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो ।
यसमध्ये सबैभन्दा बढी खानीखोला गाउँपालिकामा ५१ किलोवाट विद्युत् उत्पादन भएको छ । महाभारत गाउँपालिकामा आठ किलोवाट र तेमाल गाउँपालिकामा ३.५ किलोवाट विद्युत् घट्टबाटै उत्पादन गरिएको छ । खानीखोला गाउँपालिकाको सल्धारा, फलामेटार र साल्मेचाकलका १२ वटा घट्टबाट विद्युत् उत्पादन गरिएको छ । महाभारत गाउँपालिकाको गोकुले र फोक्सिङटारका दुई घट्टबाट र तेमाल गाउँपालिकाको मेच्छेमा एक घट्टबाट विद्युत् उत्पादन भएको छ । सङ्घका अनुसार खानीखोला गाउँपालिकाका ५६५ घरधुरी घट्टबाट उत्पादित बिजुलीबाट लाभान्वित छन् । त्यस्तै महाभारतका ८७ घरधुरी र तेमाल गाउँपालिकाका ३५ घरधुरीले यसको उपयोग गरिरहेका छन् । जिल्लाभर ६३ किलोवाट विद्युत् उत्पादन गर्न एक करोड ८९ लाख रुपियाँ लागेको सङ्घले जनाएको छ । विद्युत् उत्पादनका लागि केही विदेशी संस्थासहित तत्कालीन जिविस, गाविस र सांसद विकास कोषको रकमसमेत उपयोग भएको थियो ।
खानीखोला गाउँपालिका ६ नारायणखोला पिको हाइड्रो विद्युतीकरण आयोजना उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर लामाका अनुसार बिजुलीको कल्पना नै नगरेका यहाँका बासिन्दा घट्टमार्फत बिजुली बाल्न पाउँदा निकै खुसी छन् । ‘बत्ती आएपछि यहाँका बासिन्दाको जीवन नै फेरिएको छ’ उहाँले फोनमा भन्नुभयो
‘चिरानी, पिसानीदेखि सिलाइकटाइसमेत बिजुलीको प्रयोगबाटै हुन थालेको छ ।’
घट्टबाट बिजुली उत्पादनको परियोजनामा संलग्न ग्रामीण प्रविधि केन्द्र ललितपुरका वरिष्ठ निर्देशक डा. पुरुषोत्तम श्रेष्ठले यस क्षेत्रमा घट्टबाट बिजुली उत्पादन गर्नसक्ने धेरै सम्भावना रहेको बताउनुभयो ।
स्थानीय उपभोक्ताले यसको मर्मत सम्भारका लागि निश्चित रकम तोकेर मासिक रूपमा उठाउँदै आएका छन् । यद्यपि उक्त रकम अपर्याप्त छ । स्रोतको अभावमा घट्ट बन्द हुनसक्ने चिन्ता भने रहेको सङ्घका अध्यक्ष श्रेष्ठको छ । काभे्र जिल्लामा मात्र एक हजार १२० पानी घट्ट छन्, जसमा ८४५ सुधारिएका पानी घट्ट छन् । १२० घट्टमा धान, तेल, चिउरा, मसला, स–मिल, काठ चिरानीसमेत हुँदै आएको सङ्घले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?