logo
२०८१ मंसिर १२ बुधवार



बदर मत घटाउन नमुना मतदान

राष्ट्रिय |


बदर मत घटाउन नमुना मतदान


बेलिना थापा
लमजुङ, मङ्सिर ८ गते । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मत कसरी हाल्ने भन्नेबारे मतादातालाई सिकाइएको छ । सुन्दरबजार नगरपालिका २ पुर्काङस्थित कान्ति मन्दिर माध्यमिक विद्यालयमा शसस्त्र प्रहरीको घेराभित्र बनाइएको मतदानस्थलमा नागरिकले मत हाल्ने तरिका सिकेका हुन् । उक्त क्षेत्रका नागरिकले नमुना मतदान गरेर मतदान गर्ने तरिका सिकेका हुन् ।

महिला, पुरुष, अशक्त तथा वृद्धवृद्धालाई लाइन मिलाउने, मतदाना परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने साथै गोप्य स्थानमा गएर मतपत्रमा छाप लगाई सही रुपमा पट्याई बाकसमा मत खसाल्ने तरिकाबारे उनीहरुलाई सिकाइएको थियो ।

जिल्ला निर्वाचन अधिकारी सृजना मिश्रका अनुसार आइतबार कार्यालयको आयोजनामा नमूना मतदान गरिएको छ । नमूना मतदानको सुरुवात केदारप्रसाद मिश्रले गर्नुभएको थियो । नमूना मतदानमा ९७ जनाले मत खसालेका छन् । ५५ जना महिला र ४२ जना पुरुष छन् । कुल खसेको मतमध्ये ६ दशमलव १८ प्रतिशत अर्थात ६ वटा मत बदर भएको निर्वाचन अधिकारी मिश्रले बताउनुभयो ।
आइतबार दिउँसो २ बजेबाट सुरु भएको नमुना मतदान कार्यक्रम ३ बजेतिर सकिएको उहाँले बताउनुभयो । मतदानमा सबैभन्दा बढी उमेरमा ८६ बर्षीया बृद्धा नराकुमारी सेढाइँले नमुना मतदान गर्नुभएको थियो । निर्वाचन अधिकारी मिश्र, कार्यालयका सूचना अधिकारी जिबाखर शर्मा, कर्मचारी अनिलकुमार गुरुङलगायतले मतदान गर्ने बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा २ जना मतदाता शिक्षा कार्यकर्ताको समेत उपस्थिति थियो ।
उपनिर्वाचनमा मत बदर नहोस् भनेर नमुनाको रुपमा मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी मिश्रले बताउनुभयो । मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाइने उहाँले बताउनुभयो । मतदान गर्ने बारे जानकारी पाएकोमा स्थानीय खुशी भएका छन् । स्थानीय केदारनाथ मिश्रले मतदानको बारेमा राम्रो जानकारी पाएको र उपनिर्वाचनमा ढुक्कले मत हाल्न सकिने बताउनुभयो ।
स्थानीय तह निर्वाचनमा सुन्दरबजार नगरपालिका २ बाट वडाअध्यक्ष पदमा निर्वाचित नेकपाका लोकराज पाण्डे जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि खाली रहेको थियो । वडा अध्यक्ष पदका लागि नेकपाको तर्फबाट नवीनकुमार श्रेष्ठ, काँग्रेसका तर्फबाट प्रकाश सेढाईं, राप्रपाका पवनराज बसौला, मंगोल नेशनल अर्गनाइजेशन पार्टीका रामजी दर्जी र कांग्रेसबाट छुट्टिएर बनेको स्वतन्त्र समूहका तर्फबाट कृष्णबहादुर केसीले उमेद्वार रहनु भएको छ । वडामा २ हजार १ सय २४ मतदाता रहेकोमा उपनिर्वाचनमा मतदाता संख्या २ हजार २ सय ९७ पुगेको छ । उपनिर्वाचनका लागि उक्त वडामा दुई मतदान स्थल र तीन मतदान केन्द्र तोकिएको छ । महेन्द्र मन्दिर माविमा दुई वटा मतदान केन्द्र तोकिएको छ । उक्त ठाउँमा मतदाता संख्या एक हजार दुई सय ३२ रहेका छन् । अर्को मतदान स्थल कान्ति मन्दिर माविमा रहेको छ । जहाँ एक हजार ६५ मतदाता रहेका छन् ।

सुन्दरबजार नगरपालिका २ पुर्काङस्थित कान्ति मन्दिर माविमा नमुना मतदान गरिँदै । तस्बिरः लमजुङ समाचारदाता ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?