logo
२०८१ मंसिर १२ बुधवार



भक्तपुरका मतदाताको अपेक्षा ‘विकासप्रेमी उम्मेदवारले जित्नुपर्छ’

राष्ट्रिय |


भक्तपुरका मतदाताको अपेक्षा ‘विकासप्रेमी उम्मेदवारले जित्नुपर्छ’



नगेन्द्र सापकोटा

भक्तपुर, मङ्सिर ९ गते । भक्तपुर निर्वाचन क्षेत्र १ (क) प्रदेश सभा सदस्यका लागि यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा विकासवादी उम्मेदवारले निर्वाचन जित्नुपर्ने अपेक्षा स्थानीय मतदाताले व्यक्त गरेका छन् । निर्वाचन जुनसुकै पार्टीका उम्मेदवारले जिते पनि मतदातालाई कुनै फरक नपर्ने भन्दै स्थानीय मतदाताले निर्वाचन जितेपछि जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने र विकास निर्माणका काममा प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।
भक्तपुर–१ प्रदेश सभा ‘क’ अन्तर्गत चाँगुनारायण नगरपालिका–७, बागेश्वरीका अस्मिता गिरीले प्रदेश सभाको निर्वाचनमा हाम्रोभन्दा पनि राम्रो उम्मेदवारले जित्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बेरोजगारी समस्या, स्वास्थ्य, शिक्षा र विकास निर्माणका ठूला पूर्वाधारलाई सशक्त रूपमा उठाउन सक्ने व्यक्तिले निर्वाचन जित्नुपर्छ । ” चाँगुनारायण–७, नगरकोटका अर्का मतदाता प्रकाश बाँस्तोलाले प्रदेश सभा सदस्य त्यागी र विकासप्रेमी हुनुपर्ने बताउनुभयो । उहाँले भन्ुनभयो, “निर्वाचन जितेपछि व्यक्तिगत स्वार्थमा लाग्नेभन्दा पनि इमानदार व्यक्तिले निर्वाचन जित्नुपर्छ । राजनीति भनेको सेवा हो, सेवाको भावना भएका व्यक्तिले निर्वाचन जित्नुपर्छ । ” भक्तपुरको १ (क)मा ४५ हजार २५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यसअघिको निर्वाचनमा भने उक्त क्षेत्रमा ४३ हजार ५४१ मतदाता थिए । यस क्षेत्रअन्तर्गत चाँगुनारायण नगरपालिका पूरै क्षेत्र र भक्तपुर नगरपालिकाको वडा नं. १० पर्छ ।
तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित प्रदेश सभा सदस्य हरिशरण लामिछानेको हृदयाघातका कारण मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार देवीप्रसाद ढकाल (डीपी)ले विकास निर्माणको कार्यमा सहजीकरण गर्दै स्थानीयवासीको हरेक समस्या समाधान गर्ने काम आफ्नो पार्टीको चुनावी मुद्दा भएको बताउनुभयो । नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार कृष्णलाल भडेलले आफू राजनीतिक सेवामा लागेदेखि नै निरन्तर रूपमा यस क्षेत्रको विकास र सामाजिक काममा लागेको भन्दै निर्वाचित भएपछि पनि यसैगरी जनताको सेवामा लाग्ने बताउनुभयो । भडेलको आमाको गत हप्ता निधन भएपछि निर्वाचन प्रचारका क्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति भक्तपुर र निर्वाचन परिचालन समितिसँग समय मिलाएर उम्मेदवार आफैँ पनि घरदैलो कार्यक्रममा सहभागी भएको नेपाली काँग्रेस जिल्ला कार्यसमिति भक्तपुरले जनाएको छ । नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निरज लवजूले प्रदेश सभामा पुगेर राम्रा कानुन निर्माण गर्ने आफ्नो पार्टीको अभियान छ भन्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार श्याम नेपालले सुशासन र विकास निर्माण नै आफ्नो पार्टीको चुनावी नारा रहेको जानकारी दिनुभयो ।
वि.सं. २०७४ को प्रदेश सभा निर्वाचनमा तत्कालीन नेकपा (एमाले)का उम्मेदवार लामिछानेले १२ हजार ७८९ मत ल्याएर निर्वाचित हुनुभएको थियो । त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार जीवन खत्रीले नौ हजार ९७७ मत ल्याउनुभएको थियो । नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निरज लवजूले सात हजार १९ मत पाउनुभएको थियो । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ४८५ मत ल्याएको थियो । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा यस क्षेत्रमा ११ वटा राजनीतिक दल र १० स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?