logo
२०८१ मंसिर १२ बुधवार



नायव सुब्बा मदनप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राष्ट्रिय |


नायव सुब्बा मदनप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर



गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ११ गते । मालपोत कार्यालय सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । १४ करोड ८१ लाख ८९ हजार रुपियाँ विगो कायम गरी मङ्गलवार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

गुप्ताले मालपोत कार्यालय कलैया दरबन्दी भई मालपोत कार्यालय सिमरामा निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँको सार्वजनिक सेवा प्रवेशदेखि आर्थिक वर्ष २०७५/०७६ सम्मको सेवा अवधिमा चार करोड ५४ लाख ७२ हजार रुपियाँ वैध आय देखिन्छ । गुप्ताको जम्मा १९ करोड, ३६ लाख ६१ हजार रुपियाँको सम्पत्ति रहेको छ । सेवा अवधिको आर्जन कटाउँदा १४ करोड ८१ लाख ८९ हजार रुपियाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको हो । गुप्ता, उहाँको परिवार र आफन्तका नाममा १४ करोड ८१ लाख ८९ हजार रुपियाँ विगो कायम गरिएको छ ।

गुप्ता उहाँकी श्रीमती रीतादेवी, छोराहरु विक्की गुप्ता र रकी गुप्ता अन्य व्यक्तिहरु कविता कुमारी, निरजकुमार गुप्ता, राजेशकुमार गुप्ता, जुगुलीप्रसाद र जगतनारायण यादवविरुद्ध मुद्दा दायर गरिएको हो ।

गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवन यापन गरिरहेकाले कारवाही गरी पाउँ भनी आयोगमा दर्ता भएको उजुरीमा अनुसन्धान गरिएको थियो । गुप्ताले २०४७ असारदेखि मालपोत कार्यालय मुस्ताङबाट खरिदार पदबाट सेवा प्रवेश गर्नुभएका उहाँ २०६४ सालमा नायव सुब्बामा वढुवा हुनुभएको थियो ।

अनुसन्धानको क्रममा उहाँले आफू तथा परिवारका सदस्य लगायत अन्य व्यक्तिका नाममा घररजग्गा र सवारी साधन र विभिन्न व्यवसायमा लगानी गरेको देखिएको छ । गुप्ताले परिवारका सदस्यहरुका नाममा घर खरिद तथा निर्माणमा चार करोड ५१ हजार, जग्गा खरिदमा ९० लाख, बैंक तथा वित्तीय संस्थाबाट लिइएका कर्जा र कर्जा चुक्तामा तीन करोड २७ लाख रहेको छ । पुँजीगत लगायतका कर शीर्षकमा नौ लाख ७० हजार, सवारी साधन खरिदमा २७ लाख ६२ हजार खर्च गरेको विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न व्यवसायका लागि ७१ लाख, सापटी दिएको ४३ लाख, छोराको विवाहलगायतमा ६१ लाख परिवार बाहेकका कविता कुमारी, राजेश कुमार गुप्ता र इन्दिरा देवी काफ्ले लगायतका नाममा दर्ता कायम रहने गरी खरिद गरी राखेका घर र जग्गाहरुमा पाँच करोड, २७ लाख ८९ हजार रहेको देखिएको थियो । बैंक खाताहरुमा देखिएको मौज्दात दुई करोड ८५ लाख २८ हजार रहेको छ ।
यसैगरी, मङ्गलवार नै जिल्ला प्रहरी चौकी बारा गञ्जभवानीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवारलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको छ । कलवारलाई सेवाग्राहीबाट ६० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । उहाँले भारतबाट मालसामान ल्याउन सहज गराई दिने भनी सेवाग्राहीबाट घुस लिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?