logo
२०८१ मंसिर १२ बुधवार



निर्यात वृद्धि लक्ष्य बनाऔं

राष्ट्रिय |


निर्यात वृद्धि लक्ष्य बनाऔं


गोरखापत्र समाचारदाता

काठमाडौंँ, मङ्सिर १३ गते । अर्थमन्त्री डा. युवराज खतिवडाले हस्तकला व्यवसायीलाई सरकारले दिँदै आएको सहुलियतपूर्ण ब्याजको ऋण उपयोग गरेर निर्यात बढाउन आह्वान गर्नुभएको छ । नेपाल हस्तकला महासङ्घद्वारा भृकुटीमण्डपमा बिहीबारबाट आयोजित १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री खतिवडाले भन्नुभयो, हस्तकलाको निर्यात त्यति ठूलो हुन सकिरहेको छैन ।
अदृश्य निर्यातलाई अध्ययन गरिरहेका छौँ । उत्पादन बिक्री तथा निर्यात ठूलो छ तर व्यवस्थित रेकर्ड छैन त्यसैले निर्यात बढाउने लक्ष्य बनाऔँ । कसले के गर्ने हो जिम्मेवारी तोकौँ । ठोस येजनासहित बसौँ, तपाईंहरू मन्त्रालयमै आउनुस् ।
हस्तकलालाई प्रतिस्पर्धी बनाएर कलाको जर्गेना गरी व्यापारीकरणमार्फत लाभ लिन अन्तर्राष्ट्रिय बजारमा जानुपर्ने मन्त्री खतिवडाको भनाइ छ । सरकारले बजेटमा कपास, ऊन र रेशम खेतीलाई प्राथमिकता दिएर काम अघि बढाइएको उहाँले चर्चा गर्नुभयो । मन्त्री खतिवडाको भनाइ छ, उत्पादन प्रक्रियाको अनुदान हो वा मूल्य अभिवृद्धिको अनुदान हो या के मा हो ? हस्तकलाको निर्यात बढाउने सवालमा सरकारले के कस्तो सहयोग गर्न जरुरी छ, ठोस योजना बनाएर आउनुहोस् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले मन्त्रालयले निर्यातलाई सहज र सरल बनाउँदै लगेको उहाँले जानकारी दिनुभयो । त्रिपुरेश्वरमा सार्क हस्तकला प्रदर्शनीस्थल निर्माण अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।
नेपाल हस्तकला महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले गत वर्ष नेपालबाट साढे पाँच अर्ब रुपियाँको हस्तकला सामान निकासी भएको बताउनुभयो ।
वार्षिक १३ अर्ब रुपियाँको कारोबार हस्तकलाको क्षेत्रमा भएको र वार्षिक ११ लाख जनाले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएको उहाँको भनाइ छ ।
कार्यक्रममा मेलाका संयोजक धर्मराज शाक्यले उद्यमी कालिगढबाट उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन र हस्तकलाको प्रवद्र्धन गर्न हरेक वर्ष मेला आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार मेलामा सातवटा प्याविलियनसहित दुई सयवटा स्टल पनि रहेका छन् । उत्कृष्ट प्याविलियनलाई एक लाख र उत्कृष्ट स्टललाई २५ हजार पुरस्कार प्रदान गरिने छ ।
मेलाबाट १० करोड रुपियाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उद्योग परिसङ्घका अध्यक्ष सतिशकुमार मोर, चेम्बर आफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्ल, ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति केके बज्राचार्यलगायतले बोल्नुभएको थियो । मेला मङ्सिर १६ गतेसम्म सञ्चालन हुने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?