logo
२०८१ मंसिर १२ बुधवार



गण्डकी प्रदेशमा अहिलेसम्म २५ प्रतिशत मतदान

राष्ट्रिय |


गण्डकी प्रदेशमा अहिलेसम्म २५ प्रतिशत मतदान


चन्द्रप्रकाश शर्मा
पोखरा, मङ्सिर १४ गते । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको उपनिर्वाचन अन्र्तगत गण्डकी प्रदेशका पाँच स्थानमा करिब २५ प्रतिशत मतदान भएको छ । बिहान साढे १० बजेसम्म करिब २५ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयहरुले जनाएका छन् । ७१ हजार ८७१ मतदाता रहेको कास्की २ का ८२ वटै मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको र अहिलेसम्म २५ प्रतिशत बढी मतदान भइसकेको जिल्ला निर्वाचन अधिकृत महेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
विहान केही ठाउँमा विस्फोट भएका कारण केही समय मतदान रोकिए पनि अहिले निरन्तर रुपमा मतदान भइरहेको सुवेदीले बताउनुभयो । अधिकांश पोखराको मुख्य बजार क्षेत्र समेटिएको कास्की २ का सबै मतदान केन्द्रहरुमा मतदाताहरु लामबद्ध भएर मतदान गरिरहेका छन् । यस्तै, ३६ हजार ९२४ मतदाता रहेको बागलुङ २ (ख) मा पनि २५ प्रतिशत भन्दा बढी मतदान भइसकेको जिल्ला निर्वाचन अधिकृत विकासचन्द्र पौडेलले जानकारी दिनुभयो । बिहान सात बजेदेखिनै मतदाताहरु मतदानमा सहभागी भएको बताउँदै पौडेलले ४३ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
वडा अध्यक्षका लागि बागलुङको बडिगाढ गाउँपालिका वडा नं. २ मा भएको मतदानमा अहिलेसम्म २१ प्रतिशत मतदान भएको त्यहाँबाट कमल पौडेलले जानकारी दिनुभयो । एक हजार ७४२ मतदाता रहेको बडिगाढ गाउँपालिका वडा नं. २ मा अहिलेसम्म ३५७ मतदान भइसकेको छ । यस्तै लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. २ मा ३० प्रतिशत मतदान भएको छ । गोरखापत्रका लमजुङ समाचारदाताका अनुसार दुई हजार २९७ मदाता रहेको उक्त वडामा ६७६ मतदान भएको छ । गोरखापत्रका नवलपरासी समाचारदाता होमराज रानाभाटका अनुसार नवलपरासीको बौदीकाली गाउँपालिका वडा नं. ५ मा २६ प्रतिशत मतदान भइसकेको छ । ८५३ मतदाता रहेको उक्त वडामा अहिलेसम्म २२२ जनाले मतदान गरिसकेका छन् ।
मतदान सुरु भएपछि कास्कीका तीन र लमजुङको एक ठाउँमा विस्फोट भएको थियो । कास्कीको वडा नं. ९, वडा नं. १६ र वडा नं. ३३ मा विस्फोट भएको थियो । वडा नं. ९ को नवप्रभात माध्यामिक विद्यालयको मतदान केन्द्र नजिकै विस्फोट भएपनि अन्य दुई ठाउँमा मतदान केन्द्रभन्दा टाष विस्फोट भएको थियो । यस्तै लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. २ को महेन्द्र मन्दिर मावि परेवाडाँडा मतदान केन्द्र नजिकै विस्फोट भएको थियो । विस्फोट भएपनि मतदान भने निरन्तर चलीरहेको निर्वाचन कार्यालयले जनाएको छ ।
यसैबीच, कास्की २ को प्रतिनिधीसभा निर्वाचनका लागि आठ जनाले मात्र आफूलाई मतदान गरेका छन् । निर्वाचनमा होमिएका २१ उमेदवार मध्य मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेसका खेमराज पौडेल लगायत १३ जना उमेद्वार अन्य क्षेत्रमा भएकाले उनीहरुले आफुले आफैलाई मतदान गर्न पाउँनेछैनन । कास्की २ मा प्रमुख प्रतिस्पर्धीको रुपमा रहनुभएका नेपाली काँग्रेसका खेमराज पौडेल कास्की निर्वाचन क्षेत्र नं. ३ का स्थायी बासिन्द हुनुहुन्छ । उमेदवार मध्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्या भट्टराईले पोखरा महानगरपालिका वडा नं. ३३ स्थित शान्ति उदय माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ । यस्तै साझा पार्टीका रजनी केसीले वडा नं. ४, नेकपा मालेका टेकनाथ भण्डारीले वडा नं. २१, समाजवादी पाटीका धर्मराज गुरुङले वडा नं. १४, राप्रपा संयुक्तका गंगा मल्ले वडा नं. ७, राप्रपाका उमेदवार रोमबहादुर भण्डारीले वडा नं. १५ र स्वतन्त्र उमेदवार सुनिलबहादुर कोइरालाले वडा नं. ४ र रनबहादुर दमैले वडा नं. १७ मा मतदान गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?