logo
२०८१ मंसिर १२ बुधवार



कास्कीमा नेकपाको अग्रता, बागलुङमा मतगणनाको तयारी

राष्ट्रिय |


कास्कीमा नेकपाको अग्रता, बागलुङमा मतगणनाको तयारी


चन्द्रप्रकाश शर्मा
पोखरा, मङ्सिर १५ गते । प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नं. २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उमेदवारले अग्रता लिएका छन् । राती अवेरबाट सुरु गरिएको मतगणनामा बिहानसम्म पोखरा महानगरपालिका वडा नं. ३३ को पाँच हजार ६४२ मत गणना गरेर सकिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेकपाका उमेदवार विद्या भट्टराईले तीन हजार २७६, नेपाली काँग्रेसका उमेदवार खेमराज पौडेलले दुई हजार २१५, समाजवादी पाटीका धर्मराज गुरुङले ९५, राप्रपाका रोमबहादुर भण्डारीले ३७ र साझा पार्टीका रजनी केसीले ३२ मत प्राप्त गर्नुभएको छ ।
७१ हजार ८७१ मतदाता रहेको कास्की २ मा ४५ हजार ५६३ मत खसेको थियो । पोखरा महानगरपालिकाका ११ वटा वडा समावेश उक्त क्षेत्रको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट विद्या भट्टराई, नेपाली काँग्रेसबाट खेमराज पौडेल, समाजवादीबाट धर्मराज गुरुङ, राप्रपाबाट रोमबहादुर भण्डारी, साझा पार्टीबाट रजनी केसी, नेपाली काँग्रेस (विपी)बाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, नेकपा (माले)बाट टेकनाथ भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट गंगा मल्ल, मंगोल नेशनल अग्रनाइजेसनबाट रियाज गुरुङ, देशभक्त समाजबाट विरबहादुर विश्वकर्मा तथा स्वतन्त्र रुपमा उमानाथ गौतम, कमलजंग कुवर, जमुना शर्मा, दीपक रेग्मी, नवराज बास्तोला, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मी भुजेल, सुनिलबहादुर कोइराला, सुनिल भुसाल प्रतिस्पर्धामा हुनुहुन्छ ।
बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेश (ख) को मतगणना आइतबार बिहानबाट मात्र सुरु गरिने छ । निर्वाचन क्षेत्र जिल्ला सदरमुकाम भन्दा टाढा रहेकाले मतपेटिका शनिबार अवेरमात्र सदरमुकाम आएकाले आइतबार बिहान १० बजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ । ३५ हजार १८४ मतदाता रहेको यस प्रदेशमा २१ हजार ४०० सय मत खसेको थियो ।
उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाकाबाट राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही, नेपाली काग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्र्टीबाट अशोककुमार विक, राष्ट्रिय प्रजातन्त्र पार्र्टी संयुक्तबाट निमबहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्र्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्र्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा विवेकशील नेपाली दलका सन्तोष भण्डारी चुनावी मैदानमा रहेका छन ।
यस्तै लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर दुईको वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नवीनकुमार श्रेष्ठ बिजयी हुनुभएको छ । शनिबार सम्पन्न मतगणना अनुसार श्रेष्ठले ९ सय ८९ र उहाँका प्रतिद्धन्दी नेपाली कांग्रेसका प्रकाश सेढाइँले ४ सय ८४ मत पाउनुभएको छ । निर्वाचनमा प्रतिस्पर्धी राप्रपाका पवनराज बसौलाले १६, मंगोल नेशनल अर्गनाइजेशन पार्टीका रामजी दर्जीले १२ र स्वतन्त्र उमेदवार कृष्णबहादुर केसीले ८ मत ल्याउनुभएको छ ।
यस्तै बागलुङको बडिगाढ गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा ढालप्रसाद शेरचन विजयी हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उमेदवार शेरचनले ७०४ मत प्राप्त गर्दा काँग्रेस उमेदवार डिलबहादुर रानाले ४१२ र समाजवादी पार्टीका हरीलाल रानाले ६ मत प्राप्त गर्नुभएको थियो ।
नवलपरासीको बौंदीकाली गाउँपालिका वडा नं ५ मा वडाअध्यक्षमा नेकपाका खिमबहादुर थापा खरु मगर विजयी हुनुभएको छ । विजयी खरु मगरले तीन सय ६७ मत प्राप्त गर्दा नेपाली काँग्रेसका तुलबहादुर राना मगरले दुई सय ३१ र समाजवादी पार्टीका पितमबहादुर राना मगरले सात मत प्राप्त गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?