देवबहादुर कुँवर
काठमाडौँ, मङ्सिर २० गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्ने वित्तिकै केही दिनअघि एक भियतनामी नागरिकले इटालियन नागरिकको एक हजार पाँच सय युरो चोरी गरी फरार भए । नेपाल आउँदै गर्दा यात्राका क्रममा चिनजान भएपछि दुवैजना सँगसँगै विमानस्थल झरेका थिए ।
सोही रकम चोरी गरी बाहिर निस्केका भियतनामीको गतिविधि सीसी क्यामेरामा स्पष्ट देखिन्छ । केही दिनको नेपाल बसाइपछि उनी पुनः सोही मार्ग प्रयोग गरी स्वदेश फर्किए तर पक्राउ परेनन् । त्यस्तै, विभिन्न बैङ्कको एटीएम बुथ ह्याकिङ गरी लाखौँ रुपियाँ चोरी घटनामा संलग्न आठजना चिनियाँ नागरिकमध्ये छ जनालाई प्रहरी पक्राउ गर्न सफल भयो । तीमध्ये दुईजना अझै फरार छन् ।
प्रहरीले फरारहरू विमानस्थल प्रयोग गरी गन्तव्य पुगिसकेको अनुमान गरेको छ । ह्याकिङ घटनामा आठजनाको संलग्नता पुष्टि भयो । भदौ र असोज महिनामा भएका यी दुई घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउन बल मिलेको छ । विमानस्थलमा चुस्त तथा प्रभावकारी सुरक्षा सतर्कता नअपनाउँदा यस्ता समस्या बारम्बार आइरहने गरेका छन् । शरीर छोएर (खानतलासी) र अनुहार हेरी दोषी छुट्याउनुपर्ने बाध्यता छ । आधुनिक सुरक्षा उपकरण तथा प्रविधिको अभावमा पहिचान गरिएका अभियुक्त तथा अपराधी पनि प्रहरीकै आँखा अगाडिबाट सजिलै उम्किन सफल भएका छन् ।
महानगरीय प्रहरी त्रिभुवन विमानस्थल सुरक्षा गार्डका प्रमुख प्रहरी नायव महानिरीक्षक सूर्यप्रसाद उपाध्याय ‘म्यानुअल’ (मानिस) बाट सुरक्षा जाँच गर्नुपर्दा केही समस्या आउने गरेको बताउनुहुन्छ । ‘विमानस्थलमा आवश्यक पर्ने सुरक्षा उपकरण राख्ने जिम्मेवारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको हो’, उहाँले भन्नुभयो, ‘‘प्रहरीको काम सुरक्षा व्यवस्था प्रभावकारी बनाउने हो ।’’ अहिले पनि यात्रुको साथमा रहेको कागजपत्र, शरीर खानतलासी र ह्यान्ड हेल्प डिटेक्टर मेसिनको सहाराले विमानस्थलको सुरक्षा व्यवस्था गर्नुपरेको प्रहरी अधिकारीको भनाइ छ । लगेज ब्यागका लागि एक्सरे मेसिन रहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, विशेष ब्युरो, लागूऔषध ब्युरो, भन्सार, अध्यागमन, विभिन्न एयरलायन्स, विमानस्थल कार्यालयका कर्मचारी र अन्य गरी ठूलो सङ्ख्या परिचालित छन् ।
विमानस्थलको प्रस्थान कक्षको मुख्यद्वारदेखि अन्तिम ढोकासम्म प्रहरीले ब्याग तथा शरीर जाँच गर्ने गर्छ । भन्सार, अध्यामगन र सादा पोसाकको प्रहरीले आवश्यक जाँच गर्ने गर्छन् । त्यस्तै, ब्यागका लागि स्क्यानर मेसिन र व्यक्तिका लागि ‘वाकथ्रु’ प्रवेशद्वार भए पनि अपेक्षाकृत ढङ्गले उपयोग हुन सकेको छैन । लागूऔषध ब्युरोका अनुसार, उक्त मेसिनले हिरोइन र अफिम जस्ता लागू औषध चिन्दैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रत्येक महिना करिब दुई लाख यात्रु भित्रिने र एक लाख ५६ हजार बाहिरिने गर्छन् । अध्यागमन विभागका अनुसार, गत एक महिनामा विश्वका १३३ देशका ७६ जहार ५४२ जना नेपाल भित्रिएका छन् । बैसठ्ठी हजार ७९१ जना बाहिरिए । त्यस्तै, ३३ हजार ५६८ नेपाली बाहिरिएका छन् भने ९३ हजार ७७० जना भित्रिएका छन् ।
विमानस्थल कार्यालयका प्रमुख सुरेशमान सिंह विमानस्थल सुरक्षा व्यवस्थाका लागि ‘बडी स्क्यानर’ मेसिन नै आवश्यक नभएको बताउनुहुन्छ । विमान स्थलको टर्र्मिनल कक्षको क्षमता एक हजार ३५० जनाको हो, अहिले दुई हजार तीन सय हाराहारीमा पुग्यो । उहाँले भन्नुभयो, ‘अहिले एक व्यक्तिलाई टर्मिनल पास गराउन अन्दाजी ४५ सेकेन्ड लाग्छ । मेसिन राख्यो भने समय बढ्न जान्छ । झन् जाम हुन्छ ।’’
यसैबीच, अध्यागमन विभागले यही महिनाको अन्तिमतिर नेपाली पोस्ट नामको स्वदेशमा निर्मित अध्यागमन सूचना प्रणाली जडान गरिसक्ने जनाएको छ ।