logo
२०८१ मंसिर १२ बुधवार



विपद् सामना गर्न एकीकृत प्रयास आवश्यक

राष्ट्रिय |


विपद् सामना गर्न एकीकृत प्रयास आवश्यक


धनगढी समाचारदाता

धनगढी, मङ्सिर २४ गते । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले सरोकारवाला सबैको एकीकृत प्रयास भएमा जस्तोसुकै विपद्को पनि सामना गर्न सकिने बताउनुभएको छ ।
सामाजिक विकास मन्त्रालय र रेडक्रस कैलाली शाखाले सोमबार यहाँ आयोजना गरेको विपद् व्यवस्थापनको सन्दर्भमा प्रजनन स्वास्थ्य सुरक्षासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री शाहले कोही एक्लैको प्रयासले विपद्को सामना गर्न नसकिने भएकाले एकीकृत प्रयास हुन आवश्यक रहेको औंँल्याउनुभयो ।
कुनै पनि विपद् बाजा बजाएर आउँदैन, उहाँले भन्नुभयो, विपद्को सामना गर्न सबैले पूर्वतयारी र समन्वय गरेर अगाडि बढौंँ । उहाँले प्रदेश सरकारले विपद् न्यूनीकरणका लागि प्रयास गर्दै आएको चर्चा गर्दै यसमा सरोकारवाला सङ्घसंस्थाहरूको सहयोग, समन्वय हुन आवश्यक रहेको औंँल्याउनुभयो ।
विपद्को सामना गर्नु जमिनमुनिबाट पानी निकाल्नुसरह रहेको मन्त्रीको भनाइ थियो । उहाँले सुनामीबाहेक हाम्रो मुलुकमा बाँकी सबैखाले विपद् जुनसुकै बेला आउन सक्ने भएकाले सधैँ पूर्वतयारी गरेर बस्न जरुरी रहेको उल्लेख गर्नुभयो । महिला आफैँमा जोखिम वर्ग रहेको र विपद्को बेला झनै जोखिममा पर्ने गरेका कारण महिलाको सवालमा अझ संवेदनशील हुनुपर्ने मन्त्री शाहको धारणा थियो ।
सावधानी र सचेतना नभएमा जुनसुकै बेला आउने विपद्ले ठूलो क्षति पु¥याउन सक्ने उहाँले बताउनुभयो । त्यसैले संयुक्त प्रयासबाट इमानदारीपूर्वक काम गरौँ, मन्त्री शाहले अगाडि थप्नुभयो, इच्छाशक्तिका साथ काम गरेमा विपद् न्यूनीकरण गर्न सकिन्छ ।
प्राकृतिक विपद्लाई रोक्न नसकिने भए पनि न्यूनीकरण गर्न सकिने मन्त्रीको भनाइ थियो । उहाँले जुनसुकै विकासको काम गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गर्न आवश्यक रहेको औंँल्याउँदै प्रदेश सरकार यसमा सचेत रहेको उल्लेख गर्नुभयो ।
नेपाल जलवायु परिवर्तन जोखिमको हिसाबले चौथो, भूकम्पीय जोखिमको हिसाबले ११औंँ र पानीजन्य जोखिमको हिसाबले २०औंँ स्थानमा रहेको जनाइएको छ । प्राकृतिक विपद् जस्तोसुकै परिस्थितिमा आउन सक्ने भएकाले सचेतना, पूर्वतयारी, बन्दोबस्ती गर्न आवश्यक रहेको सुदूरपश्चिम प्रदेशका मुख्य सचिव नारायणप्रसाद बिडारीले बताउनुभयो ।
यसले विपद्को बेला प्रतिकार्य गर्न सहज हुने छ, उहाँले भन्नुभयो । विपद्का बेला प्रजनन स्वास्थ्य, मातृशिशु स्वास्थ्य कसरी सुरक्षित गर्न सकिन्छ भन्नेतर्फ सबैको ध्यान जान जरुरी रहेको बिडारीको भनाइ थियो ।
सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गोविन्दप्रसाद पोखरेलले सुदूरपश्चिमको लागि विपद् व्यवस्थापन मुख्य मुद्दा रहेको बताउनुभयो । त्यसकारण मन्त्रालयले विपद् व्यवस्थापन, महिला हिंसा र प्रजनन स्वास्थ्यको सन्दर्भमा कार्यक्रम सञ्चालन गर्दै आएको छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णबहादुर रावत, बाल स्वास्थ्य महाशाखाका निर्देशक डा. झलक गौतम, यूएनएफपीएका नीलकण्ठ गौतमलगायतले विपद् व्यवस्थापन र विपद्का बेला आइपर्ने प्रजनन स्वास्थ्य समस्याका बारेमा प्रकाश पार्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?